नेकपा एस कोशीको अध्यक्षमा सरिता, प्रतिनिधिलाई घर पठाएर टीको लगाएको धर्मको आरोप

विराटनगर । नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्काको नाम घोषणा गरिएको छ । मंगलबारबाट सुरू प्रदेश अधिवेशनबाट उनको नाम घोषणा गरिएको हो ।

सरिता यसअघि उपसचिव थिइन् । २०७४ मा समानुपातिक प्रदेशसभा सांसद भएकी उनी ७९ को चुनावमा भने संखुवासभा १ (१) मा पराजित भइन् ।

कोशीको अध्यक्ष बन्न ५ जनाले मनोनयन दर्ता गराएका थिए । महेश रेग्मी, उपाध्यक्ष धर्म निरौला, केशवकुमार विष्ट र विनोद खड्काले उम्मेदवारी दिएका थिए । तर, सर्वसम्मतका नाममा खड्कालाई टीका लगाइएको भन्दै अन्य आकांक्षी र प्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षका दाबेदार धर्म निरौलाले सर्वसम्मतका नाममा सबै प्रतिनिधिलाई घर पठाएर अध्यक्षमा खड्काको नाम सुनाएको टिप्पणी गरे ।

उनले भने, ‘हिजै हामीले निर्वाचन गराऊ भनेका थियौं । सर्वसम्मतको प्रयास गरौँ भन्दै अध्यक्ष मण्डलले आजसम्म राख्यो । बिहान सबैलाई घर पठाएपछि उहाँहरूले घोषणा गर्नुभयो । प्रतिस्पर्धालाई रोकेर टीको लगाइयो ।’

आफ्नो पक्षमा ७० प्रतिशत प्रतिनिधि भएको भन्दै निरौलाले हिजो भोटिङ भएको भए आफूले जित्ने दाबी गरे ।

निरौलाले भने, ‘बिहान सबैलाई घर पठाएर अध्यक्ष मण्डलले घोषणा गर्ने अधिकार लिनुभयो । मैले मेरो कुरा राखेर हलबाट निस्किएँ ।’

‘सर्वसम्मत चयन गर्ने छलफल डाक्नुभयो । पार्टी बनाउन केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य छाडेर आएको हुँ । उपाध्यक्ष भएको नाताले अध्यक्ष हुने पालो मेरो हो भन्दै दाबी गरेको थिएँ ‘, निरौलाले गुनासो गरे ।

कल, छल, बल र आलटाल गरेर टारेको उनको भनाइ छ । सबै प्रतिनिधिलाई घर पठाएर २ सय प्रतिनिधि भएपछि चुनाव गरौँ भनिएको उनले जिकिर गरे ।

नेकपा एस कोशीको अधिवेशनको नयाँ नेतृत्व चयनका लागि गठित अध्यक्ष मण्डलको अध्यक्ष राजेन्द्र राई थिए । पूर्वमुख्यमन्त्रीसमेत रहेका राई पार्टीका उपमहासचिव हुन् । अध्यक्ष मण्डलको राजन राई, जीवन राई, खिनु लंगवा, अशेष घिमिरे र विद्या चाम्लिङ थिए ।

उपाध्यक्षको नाम भने घोषणा भइसकेको छैन । सचिवमा जलेश्वर राईको नाम पढिएको छ । उपसचिवमा भवानी शंकर विक दलित तर्फबाट हिजै सर्वसम्मत भएका थिए । खुल्लातर्फ भने छिरिङ लामाको नाम हलमा सुनाइएको छ । महिला उप सचिवको नाम घोषणा हुन बाँकी छ । महिला उपसचिवमा सिर्जना लामा, विक्रमी चौधरी र मिरा दाहालले उम्मेदवारी हालेका छन् ।

अध्यक्षका अर्का दाबेदार महेश रेग्मी सम्पर्कमा आउन चाहेनन् । उनले पनि भोटिङको माग राख्दै आएका थिए ।

Comments

One response to “नेकपा एस कोशीको अध्यक्षमा सरिता, प्रतिनिधिलाई घर पठाएर टीको लगाएको धर्मको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता फटाहा, झुट नेता भएको पार्टीमा अझै पनि बस्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *