काठमाडौं । नगद एक लाख पुरस्कार सहित काभ्रेकी विनिता तामाङले राष्ट्रिय युवा संघले आयोजना गरेको वतृत्वकला प्रतियोगितामा प्रथम पुरस्कार पाएकी छिन् । देशभरका युवाहरुले गरेको आवेदनबाट अन्तिम प्रतियोगिताको लागि छनौट गरिएका २८ जनामा सबैलाई उछिनेर तामाङले प्रथम स्थान हासिल गरेकी हुन् । दोस्रो स्थानमा चितवनका दिगविजय लामिछानेले ५० हजार हात पारेका छन् भने तेस्रो स्थानमा धादिङकी कक्षा ८ मा पढ्ने ईशा थापाले ३० हजार जित्न सफल भएकी छिन् ।
राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागको आयोजनामा भएको कार्यक्रम युवा साहित्य सम्मेलन २०८१ को तयारीमा गरिएको एक कार्यक्रम भएको यसका संयोजक कुवेर अधिकारीले बताए । निर्णायक मण्डलमा सरोज घिमिरे, रूपक अलङ्कार र रूपा खड्का भएको अधिकारीले जानकारी दिए ।
‘बौद्धिक र सकारात्मक सोचका युवाः युग परिवर्तनका खम्बा’ नामक मूल नाराबाट कार्यक्रम आयोजना गरिएको अधिकारीले बताए ।
‘देशमा व्याप्त निराशा र नकारात्मक सोचको अन्त्य गर्नको लागि युवाहरूले नै पहल गर्नुपर्ने आवश्यकताको हृदयङ्गम गर्दै युवाहरूलाई सकारात्मक सोचले नै देशको विकास गर्नको लागि प्रेरणा दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो’, अधिकारीले बताए ।
वतृत्वकला बाहेक युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत निबन्ध प्रतियोगितामा सहभागी हुनुभएका प्रतिस्पर्धीहरूमध्ये अछाम जिल्ला निवासी मनोज बुढाले समावेशी लोकतन्त्र राष्ट्र निर्माण र सशक्तीकरणको मूल आधार भन्ने शीर्षकमा लेखिएको निबन्धले प्रथम स्थान हासिल गरी रु ५० हजार जित्न सफल भएका छन् भने रामेछाप जिल्ला निवासी ज्योति घिमिरेले व्यावसायिक र आधुनिक कृषिमा लगानी आत्मनिर्भर नेपालको थालनी भन्ने शीर्षकमा लेखिएको निबन्धले दोस्रो स्थान हासिल गरी रु ३० हजार जितेका छन्।
प्युठान जिल्ला निवासी देबु गिरीले सामाजिक सञ्जालको तीव्र गति सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति शीर्षकमा लेख्नुभएको निबन्धले तेस्रो स्थान हासिल गरी रु २० हजार जित्न सफल भए ।
अधिकारीका अनुसार युवा साहित्य सम्मेलन अन्तर्गत निबन्ध प्रतियोगिता वक्तृत्वकला प्रतियोगिता गजल प्रतियोगिता र कविता प्रतियोगिताहरू आयोजना भइरहेका छन् गजल प्रतियोगिता र कविता प्रतियोगिताको प्रस्तुति चैत्र २९ गते हुनेछ ।
साथै यही चैत्र २९ गते शुक्रबारका दिन कविता र गजल विधामा छनोट हुनुभएका २५/२५ जना प्रतिस्पर्धीहरू माझ अन्तिम चरणको प्रतियोगिता नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ ।

Leave a Reply