सिन्डिकेटविरुद्ध संघर्ष र यूरोपमा श्रम बजारको खोजी मेरो प्राथमिकता

काठमाडौं । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुँदैन । निर्वाचनमा होमिएका उम्मेदवारले आ-आफ्ना प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा उत्रिएका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार संगठनको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ । यसको नेतृत्व एचआर इन्टरनेशनल प्रालिका सञ्चालक नरेश गेलालले गरेका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष र संघको पूर्वमहासचिवको जिम्मेवारीमा रहेर गेलाले काम गरिसकेका छन् । पदाधिकारीसहित १७ जनाको प्यान बनाएर गेलाल चुनावमा होमिएका छन् ।

उनको प्यानलबाट सुजितकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, मधुकर रिजाल द्वितीय उपाध्यक्ष, बैकुण्ठप्रसाद पौडेल तृतीय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवका उम्मेदवार छन् । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

चन्द्रबहादुर लूम्बु, रमा खड्का, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युवराज देवकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्यमा उठेका छन् ।

गेलाल टीमको एजेन्डाबारे नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा-

– कसरी गर्दै हुनुन्छ चुनावको तयारी ?

तयारी तीव्र नै छ । विशेषतः म यही पेसा, व्यवसायमा लामो समयदेखि संलग्न रहेको र संघ संगठनदेखि हरेक कुरा बुझेर काम गरिरहेको छु । संघमा रहँदाखेरि यस क्षेत्रको अधिकारका लागि लड्दै आएको व्यक्ति पनि हुँ । म संघभित्र वा बाहिर जहाँ रहे पनि संघ र व्यवसायीको हितको लागि लडिरहेको छु ।

मैले गर्न सक्ने हरेक कामबारे खुलस्त भन्ने गरेको छु । संघमा विभिन्न विचारधाराका साथी हुनुहुन्छ । उहाँहरूको भावनालाई आत्मसाथ गर्दै उहाँहरूकै सल्लाहमा अघि बढ्नेछु । मैले आफ्नो र अर्काको भनेर काखी च्यापेर लाखा र पाखाको व्यवहार देखाउनु छैन । यसैले सबैसँग हातेमालो गर्दै अघि बढ्छु । मेरो नेतृत्व संघको लागि अपरिहार्य छ ।

– निर्वाचनमा तपाईँको मूल एजेन्डा के-के हुन् ?

मेरो मिसन अथवा एजेन्डा जे भने पनि संघ र व्यवसायीको हित गर्नु हो । मैले वैदेशिक रोजगार व्यवसायी संघलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर काम गर्ने नै हो । कुनै मेनपावरले प्रतिवर्ष १ सय जना रोजगारीका लागि नपठाए कम्पनी खारेज व्यवस्था छ । यो कुराले व्यवसायीलाई झस्काइरहेको छ । यो एउटा सिन्डिकेट हो । यसको म खुलेर विरोध गर्न चाहन्छु । यसले गर्दा व्यवसायीमाथि अन्याय भएको छ । यसलाई चिर्नु आजको आवश्यकता हो । हरेक व्यवसायीहरुको समान हक र अधिकार छ । उनीहरुको हरेक मुद्दालाई वार्ता र छलफल मार्फत अन्याय भएको छ भने न्याय दिलाउने तर्फ म सधैँ तत्परताका साथ लाग्नेछु ।

वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित ऐनले यस क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने भएकोले परिमार्जनको लागि मैले कहाँ कोसँग कुरा गर्नुपर्ने हो त्यो गर्नेछु ।

– नेपाली कामदार किन खाँडीमात्रै, यूरोपका देशमा पठाउन के योजना/सुझाव छन् तपाईँसँग ?

परम्परागत रूपमा खाँडी मुलुकमा मात्रै कामदार पठाइरहेको सन्दर्भमा अब यसले मात्र हुँदैन । नेपाली श्रमिक वर्गलाई युरोपको देशहरुमा पनि पठाउनुपर्छ भन्ने लागेर आजभन्दा १० वर्ष अगाडि ५५ जना व्यवसायी मिलेर श्रम बजार बुझ्ने कार्य पनि गरेका थियौँ ।

यूरोपका देशहरूमा पठाउनको लागि माग पत्र प्रमाणीकरण हुनु आवश्यक हुन्छ । यसमा अहिलेसम्म जे जति प्रगति भएका छन्, यसमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि लाग्नु पर्ने छ । म त्यो कामका लागि लाग्ने छु ।

यो काम राज्यले नै गर्नु पर्ने हो तर, राज्यले ठोस नीति नलिएको कारणले हजारौंको संख्यामा यूरोप जाने कामदाले गलत बाटोको प्रयोग गरेर युरोपियन देशहरुमा जानुपरेको यथार्थ हामीले पढेका र देखेको छौँ । उनीहरूले त्यहाँ गएर पनि राम्रो काम पाउनुको सट्टा दुःख पाएको र भोगेको कुरा आइरहेकै छन् । यस कारण यी तमाम समस्या आउन नदिनका लागि माग पत्र प्रमाणीकरणका साथै सहज रूपमा यूरोप जान पाउनुपर्छ । यो काम गर्न म सक्षम छु । आम व्यवसायीमा विश्वास दिलाउन चाहन्छु ।

– जापान, कोरिया, इजरायललगायतका देशमा पनि नेपाली कामदार पठाउन कुरा उठ्छ, तर जान पाउँदैनन् किन ?

लामो समयदेखि जापान, कोरिया, इजरायल लगायतका देशमा पनि नेपाली कामदार पठाउने उठिरहेको छ । जापान, कोरिया, इजरायल लगायतका देशमा नेपाली श्रमजीवी कामदार पठाउनका लागि विभिन्न खालको बाधा अड्चन आउने गरेको छ । अझ ती देशमा मान्छे पठाउँदा त्यसको अपनत्व सरकारले लिने कि व्यवसायीले लिने भन्ने द्विविधा सिर्जना गरेको छ ।

यसलाई निराकरण गर्नु आवश्यकता हो । यसमा मसहितको नेतृत्वले व्यवसायीलाई हित हुने गरी काम गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

– यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । व्यवसायीहरूको समस्या के-के छन् ? समाधान कसरी गर्न सकिएला ?

हो, म संघमा आउनुअघि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष भएर पनि काम गरिसकेको अनुभव छ । म ती दुवै संघमा रहँदा व्यवसयाीको हकहितको लागि मरिमेटेर काम गरेको व्यक्ति हुँ । यो कुरा आम व्यवसायीहरुलाई अवगत नै भएको कुरा हो ।

मुख्यतः म कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले काम गरेरै मैले साथीहरूले उठाएका तमाम विषयको उत्तर दिने गरेको छु । मैले माथि नै उल्लेख गरिसकेँ कि हामी परम्परागत रूपमा खाँडी मुलुकमा मात्र कामदार पठाइरहँदा मेरै अगुवाइमा युरोपियन मुलुकमा पनि कामको डिमान्ड गराउनुपर्छ र त्यसको लागि सम्भाव्यता अध्ययन गर्नुपर्छ भनेर लागेको थिएँ । त्यही कारण अहिले कतिपय युरोपियन देशमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट गएर काम गरिराख्नु भएको समेत छ । तर, यही कामको लागि अहिले सरकारले पूर्णरूपमा ठोस निर्णय नगरेकोले कतिपय देशमा नेपाली कामदारलाई पठाउन पाइएको छैन । अब भने यो कामले पूर्णता पाउनेमा म ढुक्क छु । यो काम गराएरै छोड्छु । यो मेरो अठोट हो ।

– फ्री भिसा फ्री टिकटमा नै नेपालबाट वैदेशिक रोजगारीमा जान सक्ने व्यवस्था छ । तर, सुविधा पाएका छन् ?

फ्री भिसा फ्री टिकट भने पनि त्यो कार्यान्वयन हुन गाह्रो भएको हो । फ्री भिसा फ्री टिकट भन्ने कुरा व्यवारीक भएन । अस्पष्ट कानूनका कारण यस्तो भएको हो । अन्य देशका के कसरी विदेश कामदार पठाएको छ भनेर पनि हेर्नुपर्छ । छिमेकी देश भारतले पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग उसले पाउने १ महिनाको तलब बराबर शुल्क लिइरहेको छ । भने, अन्य देशको पनि त्यस्तै व्यवस्था रहेको छ । नेपालमा भने फ्री भिसा फ्री टिकट भनियो ।

– विदेशमा काम गर्न जाँदा नेपालीले के-के कुरामा ध्यान दिनुपर्छ ?

नेपाली श्रमिक काम गर्न जाँदा आफू कुन देश जाँदैछु भन्नु कुरा बुझ्नु आवश्यक हुन्छ । विदेश जाँदा नेपाल सरकारबाट इजाजत लिएको मेनपावर कम्पनीबाट मात्रै जानु पर्छ । कन्सल्टेन्सीबाट विदेश जानु हुँदैन । ठगीमा परिने डर हुन्छ । विदेशमा काम गर्न गएका नेपालीले त्यहाँको कानुन पनि बुझ्नु आवश्यक हुन्छ ।

– चुनाव र आगामी योजनाबारे तपाईँका अन्य केही भनाइ ?

अन्त्यमा, मेरो नेतृत्वमा नेपाल वैदेशिक रोजगार संघमा जुन टीम खडा भएको छ । हाम्रो हकहितको लागि अमूल्य मत दिनुहुन आम व्यवसायीज्यूहरुमाझ अपिल गर्छु ।

अर्को कुरा यो निर्वाचनमा हामी जो-जो प्रतिस्पर्धामा उत्रिए पनि हाम्रै साथीहरू नै हुनुहुन्छ । म मेरो प्रतिस्पर्धी मित्रहरूको विरोध गरेर वा लाञ्छना लगाएर निर्वाचन जित्न चाहन्न । उहाँहरू पनि लामो समयदेखि व्यवसाय गरिरहनु भएको व्यक्तित्व नै हुनुहुन्छ । यो चुनावी मैदानमा हामी केही दिनका लागि मात्र प्रतिस्पर्धी हौ । म त आफ्नो भिजन आफ्नो कार्यक्रम, आफ्ना योजनाहरू लिएर अगाडि आएको छु ।

राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा आफ्ना विषय, समस्याहरू प्रष्टताका साथ राख्न सक्ने व्यक्ति को छ ? यो यहाँहरूले मूल्यांकन गर्ने विषय हो । विभिन्न कूटनीतिक नियोगहरूमा, विभिन्न मन्त्रालय र विभागहरूमा समन्वय गर्न सक्ने, विषयहरूलाई प्रस्टसँग व्याख्या र विश्लेषण गरी विषय वस्तुको गाम्भीर्यता बुझ्न र बुझाउन सक्ने नेतृत्व कुन छ, यहाँहरूले मूल्यांकन गर्ने विषयहरू हो । यी कुरामा हरेक तबरले म सक्षम रहेको व्यवसायीज्यूहरु माझ स्पष्ट पार्न चाहन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *