पाल्पा । गएरातिको हावाहुरीले पाल्पामा सञ्चालित दोस्रो तानसेन महोत्सव अस्तव्यस्त बनेको छ । चैत्र २२ गतेदेखि सञ्चालन भइरहेको दोस्रो तानसेन महोत्सव गएरातिको हावाहुरीले अस्तव्यस्त बनेको हो ।
हुरीका कारण स्टलमा लगाइएका धेरैजसो टेन्टहरू भत्किएका छन् भने टिनहरू उडाएको छ । सडकमा बनाइएका स्वागत गेटहरु समेत भत्किएका छन् ।
राती परेको भीषण वर्षा र हावाहुरीले बेचबिखनका लागि राखिएका लत्ताकपडा, खानेकुरा, कृषि उपज, हस्तकलाका सामग्री, होटल, मञ्चलगायत लथालिङ्ग भएको पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताए ।

महोत्सव स्थल भत्किएको र हिलोका कारण मेला सञ्चालन गर्न नसकिने भन्दै आयोजकले अर्को सूचना नगर्दा सम्म स्थगित गरेको छ । सबै स्टलहरू र मञ्च मर्मत गरिसकेपछि मात्र पुनः महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए । रातीको समयमा विपत्ति भएका कारण कुनै मानवीय क्षति नभएको उनले बताए ।

काठमाडौँ बाट मेलामा लत्ताकपडा बेच्न भन्दै आएका व्यवसायी सुजन तामाङले करिब ५ लाख रुपैंयाको सामग्री बिग्रिएको बताए । “२÷४ पैसा कमाउँला र परिवार पालौँला भनेर आएको । यो दुर्गति भयो ।” उनले भने ।
महोत्सव स्थल भित्र भएका सबैजसो स्टलहरू भत्किएका छन् । सामग्रीहरू हावाले उडाएर लथालिङ्ग बनाएको छ । धेरैजसो सामग्रीहरू पानीले भिजेर काम नलाग्ने भएको तामाङले बताए ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आयोजक संस्थालाई परेको नोक्सानीले दुखित बनाएको बताए । उनले यही वैशाख ३ गते सम्म मेला सञ्चालन गर्ने अनुमति दिएको र प्राकृतिक विपत्तिका कारण अप्ठेरो भएको हुँदा आवश्यक परेमा कार्यपालिकामा छलफल गरेर समय थप गर्ने योजना बनाएको बताए ।
तानसेन नगरपालिकाले शिलबन्दी कोटेशनका आधारमा ९५ लाख रुपैयाँ लिएर आयोजक संस्थालाई मेला सञ्चालनको अनुमति दिएको थियो ।




Leave a Reply