काठमाडौं । ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरू’, ‘नमान लाज यसरी’ जस्ता गीत पक्कै सुन्नुभएकै होला । यी गीतमा स्वर भरेका गायक प्रेमध्वज प्रधान बितेको चार वर्ष भइसक्यो । मखमली स्वरका धनी उनका दर्जनौं गीत दर्शक/स्रोतामाझ लोकप्रिय छन् ।
८२ वर्षको उमेरमा संसार छाडेर गएका प्रधानले जीवनका उर्बर र ऊर्जाशील समय नेपाली संगीतको श्रीवृद्धिमा खर्च गरे । जीवनको उत्तरार्द्धमा भने आफ्नो सृजनाप्रतिको हक र अधिकारका निम्ति लड्डालड्दै बिते । स्रष्टाको हैसियतमा पाउने सृजनाप्रतिको नैतिक र आर्थिक अधिकारबाट वञ्चित रहेरै यस धर्तीबाट बिदा भए ।
आफ्नो सृजनाबाट पाउनुपर्ने कृतिस्व (रोयल्टी)का लागि प्रधानले केकेसम्म गरेनन् ! आफ्नो हक र अधिकारमाथि कब्जा जमाएका म्युजिक नेपाल जस्ता कम्पनीलाई ‘रोयल्टी पाउँ’ भनेर तारन्तार गुहारे, तर सुनुवाइ भएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई गएर भेटे । आफ्ना समस्याहरू सुनाए । ओलीले आफू गम्भीर भएकोसमेत बताए ।
त्यसवेला प्रधानसँगै स्वरूपराज आचार्यलगायत संगीतकर्मी पनि प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । आचार्य आफूभन्दा ज्यादा पिता भजन शिरोमणि भक्तराज आचार्यसमेत प्रतिलिपि अधिकारबाट वञ्चित भएकाले प्रधानमन्त्री गुहार्न पुगेका थिए । यद्यपि भक्तराज आफ्ना सृजनाहरूबाट प्राप्त हुने आर्थिक र नैतिक अधिकारबाट वञ्चित भएरै यस संसारबाट बिदा भए । गत वर्ष ८१ वर्षको उमेरमा उनको निधन भयो ।
प्रेमध्वज र भक्तराजमात्रै होइनन्, अन्य धेरै स्रष्टाहरूको पनि हालत यस्तै हुने हो कि भन्ने संशय संगीतकर्मीहरूमा देखिन्छ । सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण शेष, चेतन सापकोटा, वसन्त सापकोटा, हरि लम्साललगायत संगीतकर्मीहरू अहिले पनि आफ्ना सृजनाबाट प्राप्त हुने नैतिक तथा आर्थिक अधिकारको लागि लडिरहेका छन् ।
सुरेश अधिकारी भन्छन्, ‘हाम्रो पुस्ता त लड्दालड्दै सकिने भयो । खै, कहिले न्याय पाइएला र !’
महेश खड्का थप्छन्, ‘दशौं वर्ष भयो लडेको, तर न्याय पाइएको छैन । आफ्नै सृजनाबाट प्राप्त हुने हकका लागि यति धेरै लडाइँ लडिरहनु परेको छ ।’
सुरेश अधिकारी आक्रोश पोख्छन्, ‘नेपाल त जंगल हो, यहाँ कानून छ जस्तो नै लाग्दैन । भए पनि कार्यान्वायन हुन्छ जस्तो नै लाग्दैन । यदि कानूनको पालना हुन्थ्यो भने हामी स्रष्टाहरू यति धेरै मारमा पर्दैन थियौं ।’
के हो प्रेमध्वज, भक्तराजहरूले जीवनकालभरि लडेको लडाइँ ?
कोही सर्जकले कुनै चिज सृजना गर्छ भने उक्त सृजनामा स्रष्टाको प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । मानौं कुनै लेखकले किताब लेख्छ भने उक्त किताबमाथि लेखकको नैतिक तथा आर्थिक अधिकार सुरक्षित हुन्छ । चित्रकारले चित्र बनाउँछ भने, गीतकारले गीत लेख्छ भने, संगीतकारले संगीत गर्छ भने उक्त सृजनामा स्रष्टाको प्रतिलिपि अधिकार सुरक्षित हुन्छ । प्रतिलिपि अधिकार ऐन २०५९ ले पनि स्रष्टाको अधिकारलाई सुनिश्चित गरेको छ ।
कानूनले नै अधिकारलाई सुनिश्चित गरिदिए पनि प्रेमध्वज, भक्तराज जस्ता दिग्गज स्रष्टाहरू आफ्नो अधिकारको लडाइँ लड्दालड्दै संसारबाट बिदा भए । सुरेश, महेश, लक्ष्मण, वसन्त जस्ता स्रष्टाहरू डेढ दशकदेखि आफ्नो सृजनाको रोयल्टीको हक खोजिरहेका छन्, तर उनीहरू आफ्नो सृजनाको हकबाटै वञ्चित हुँदै गएका छन् ।
मानौं, युट्युब, स्पोटिफाइ जस्ता प्ल्याटफर्मतिर कुनै गीत बज्यो वा फेसबुक, इन्स्टाग्राम वा टिकटकमा कुनै गीत बज्यो अथवा तपाईंले गीतको स्थायी वा अन्तरामा टिकटक, रिल्स बनाउनुभयो । यसरी गीत बज्दा संगीतकार, गीतकार, पब्लिसरको प्रतिलिपि अधिकार पनि सुरक्षित रहनुपर्छ । उनीह्ररुले कृतिस्व (रोयल्टी) पाउनुपर्छ । किनभने यस्ता प्ल्याटफर्मममा गीत अपलोड गर्ने कम्पनी, च्यानल, पेजहरूले गीत बजेवापत् आम्दानी गरिरहेका हुन्छन् । उक्त आम्दानीमा स्रष्टाहरूको रोयल्टीको पनि अंश समावेश हुन्छ ।
अथवा मानौं, सार्वजनिक यातायात, रेडियो, टेलिभिजन, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसतिर कुनै गीत बज्यो । यसरी व्यावसायिक प्रयोजनले गीत बजाइँदा स्रष्टाहरूलाई निश्चित मात्रामा रोयल्टी बुझाउनुपर्छ । स्रष्टाले रोयल्टी पाउनु दयामाया होइन, उनीहरूको कानूनी अधिकार पनि हो । यही अधिकारबाट स्रष्टाहरू वञ्चित हुँदै आएका छन् ।
आफ्नो यही अधिकारको लडाइँ लड्दालड्दै प्रेमध्वज, भक्तराजहरूले धर्ती छाडेर गए । अनि अहिले लडाइँ लडिरहेका स्रष्टाहरूको प्रश्न छ, ‘कहिलेसम्म यसरी लडिरहने ?’
रोयल्टीको लडाइँको असर: सन्तोषजनक नभए पनि सुधारका बाछिटा देखिँदै
केही वर्षअघिको कुरा हो, संगीतकार वसन्त सापकोटाले बुढासुब्बा डिजिटलसँग एनसेलका सिमहरूमा सञ्चालन हुने पीआरबीटी (पर्सनल रिङ ब्याक टोन)मा समावेश भएका गीतहरूको सूची मागे । बुढासुब्बा डिजिटलले पीआरबीटीमा पठाएका चार हजारमाथि गीतको मेटाडाटा पठायो ।
उक्त सूचीमा सापकोटाका ‘सागरसरी चोखो माया’, ‘पागल म बन्न सक्छु’, ‘यी आँखामा तिमी छौ’ जस्ता सुपरहिट गीतहरू थिए, तर जब सूची हेर्दै गए, सापकोटा तीन छक्क परे । दर्जनौं गीतको पीआरबीटीमा सापकोटाको नाम नै थिएन । उनको मात्रै होइन, अन्य दर्जनौं स्रष्टाको नाम नै पीआरबीटीमा थिएन ।
‘हाम्रो मिलन कहिले हुन्छ’, ‘किन लाग्छ माया’, ‘सर सर माया’, ‘फूलको थुंगा हौ कि’, ‘स्टुपिड मन’, ‘पागल म बन्न सक्छु’ जस्ता चर्चित गीतहरूमा गीतकार, गायक, संगीतकारको नाममा ‘बुढासुब्बा डिजिटल’ राखिएको थियो ।
सापकोटाले सूची हेर्दा पो थाहा पाए, किन उनले सधैं दुईचार हजारमात्रै रोयल्टी पाइरहँदा रहेछन् ? यसरी आफ्नै गीतहरूमा आफूलाई क्रेडिट नदिइँदा सापकोटाले कम रोयल्टी पाउनु स्वाभाविक पनि थियो । किनभने एनसेलले रोयल्टी बाँड्दा बुढासुब्बाले संगीतकार, गीतकार, गायकरगायिका, निर्माता भनेर जऔजसको नामको सूची दिएको छ, तिनैले मात्रै रोयल्टी पाउँछन् ।
‘अब स्रष्टाहरूको सृजनामा बूुढासुब्बा डिजिटलले आफैं गीतकार, संगीतकार, गायकगायिका भनेर सूची पठाएपछि एनसेलले पनि बूढासुब्बाकै नाममा रोयल्टी पठाउने भयो । बूढासुब्बाको नाममा आएको रोयल्टी स्रष्टाहरूले पाउने कुरा पनि भएन’, सापकोटाले भने, ‘यो त सीधै कीर्ते भयो । प्रतिलिपि अधिकारको हननमात्रै होइन, आर्थिक अधिकारबाट पनि स्रष्टालाई वञ्चित गरियो । मैले आजसम्म पनि बुढासुब्बाले कब्जा गरेका मेरा ती गीतहरूबाट रोयल्टी पाएको छुइनँ ।’
यसबारे हामीले बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीलाई सम्पर्क गर्यौं । गिरीले भने, ‘त्यसवेला हामीलाई पनि धेरै कुरा थाहा थिएन । बुढासुब्बाले किनेका गीत संगीतमा स्टाफहरूले बुढासुब्बाकै नाम राखिदिएका रैछन् । अहिले त्यो सुधार भइसक्यो ।’
हामीले प्रश्न गर्यौं, ‘अनि आर्थिक अधिकारको कुरा ?’
गिरीले भने, ‘ए मेरो हजुर ४’ जस्ता चलचित्र मैले ३०-४० लाख लगाएर डिजिटल राइटस् किन्छु । सबै गीतहरू नचल्न पनि सक्छन् । २००मा एउटा गीत हिट हुने हो, तर हामीले लाखौंको जोखिम उठाएका हुन्छौं । उहाँको आर्थिक अधिकारको कुरा चलचित्रको निर्मातासँग गर्ने होला ।’
संगीतकार संघका महासचिवसमेत रहेका सापकोटाले भने नैतिक अधिकार नै हनन भइसकेपछि आर्थिक अधिकारको कुरै नआउने बताए । आफ्नो नैतिक अधिकारलाई त्यसरी कुल्चिइँदा चित्त दुखेको बताए ।
गिरीले भने स्रष्टाको नैतिक अधिकारप्रति आफू सचेत रहेको, आर्थिक अधिकारको सन्दर्भमा पनि कानूनभन्दा माथि नरहेको बताए ।
संकलित रोयल्टी कसरी बाँडिन्छ ?
गीत सृजना गर्ने स्रष्टाले गीतको व्यावसायिक प्रयोग हुँदा उसले पाउनुपर्ने कृतिस्व (रोेयल्टी) पनि जोडिएको हुन्छ । गीत-संगीतको व्यावसायिक प्रयोग हुँदा कति प्रतिशत रोयल्टी जोडिएको हुन्छ त ? यसको अभ्यास भने संसारभर अलग अलग छ ।
निश्चित देशको प्रचलित कानून, रोयल्टी संकलन गर्ने संस्थाको नीतिअनु्रूप रोयल्टी लिने अन्तर्राष्ट्रिय अभ्यास छ । नेपालको सन्दर्भमा भने कुनै पनि गीत संगीत सार्वजनिक स्थानमा व्यावसायिक प्रयोजनले प्रयोग गरेमा, सार्वजनिक यातायातमा प्रयोग गरेमा १५ प्रतिशत रोयल्टी उठाउने गरिन्छ । यसको जिम्मा रोयल्टी संकलन समाज नामक संस्थाले गर्दै आएको छ । अहिले संस्थाको अध्यक्ष संगीतकार सुरेश अधिकारी छन् ।
यद्यपि स्रष्टाहरू म्युजिक नेपाल, बुढासुब्बा डिजिटल, विन्ध्यावासिनी जस्ता कम्पनीबाट ठगिँदै आएका छन् । केही समयअघिसम्म यी कम्पनीहरूले रोयल्टीबाट स्रष्टाहरूलाई वञ्चित गर्दै आएका थिए । स्रष्टाहरूले निरन्तर प्रश्न उठाएपछि स्रष्टाहरूले नगण्य मात्रामा रोयल्टी बुझ्दै आइरहेका छन् । अहिले यी कम्पनीहरूले पनि ‘राम्रोसँग प्राविधिक ज्ञान नभएको’ भन्दै भूलसुधार गर्दै गइरहेको देखिन्छ, तरस्रष्टाहरू पूर्ण रूपमा सन्तुष्ट भने भएका छैनन् ।
एफएम, रेडियोहरूले स्रष्टाहरूका गीत संगीत बजाउँछन् । त्यसरी बजाइँदा आर्थिक अधिकारको मात्रै नभएर स्रष्टाहरूको नैतिक अधिकारको पनि हनन हुने गरेको संगीतकर्मीहरूको जिकिर छ ।
सुरेश अधिकारी भन्छन्, ‘त्यतातिर त हाम्रो नामसम्म लिँदैन थिए । गीतकार, संगीतकार को हो भनेर सम्म भन्दैन थिए ।’
अहिले केही सुधार देखिएको संगीत रोयल्टी संकलन समाजको अध्यक्ष अधिकारीको भनाइ छ । सन्तोषजनक परिणाम प्राप्त नभए पनि केही ठाउँहरूबाट रोयल्टी संकलन हुँदै आइरहेको छ । यसरी प्राप्त हुने रोयल्टीमा गीतकार, संगीतकार र पब्लिसरबीच बाँडफाँड हुन्छ ।
रोयल्टी संकलन समाजले अपरेसनल चार्ज कटाएर बाँकी रहेको रोयल्टीलाई ५०-५० प्रतिशत भाग लगाउँछ । ५० प्रतिशत पब्लिसरको हुन्छ भने बाँकी ५० प्रतिशत गीतकार र संगीतकारले बाँडफाँट गर्छन् ।
रोयल्टीका स्रोत प्रशस्त, तर उठाउनै सकस
संगीत रोयल्टी संकलन समाजले रोयल्टी संकलन गर्ने गर्छ । कहाँ कहाँबाट उठाउने भनेर समाजसँग स्रोतहरूको सूची नै छ । कानूनी धरातलमा टेकेर उठाइने रोयल्टी संकलन नै झमेला हुने गरेको अधिकारीको दुःखेसो छ ।
उनी भन्छन्, ‘यो देश जंगल हो, यहाँ कानून मान्न कोही तयार छैन । यातायातबाट उठ्नुपर्ने रोयल्टीमै घुसपैठ भएको छ । यातायात व्यवसायीले रोयल्टी तिर्दिनँ भन्नलाई ‘गीत बजाउँदिनँ’ भन्न पाउने बुँदा जबरजस्ती थपेको छ । अब आफैं भन्नुहोस्, गीत नै नबज्ने सार्वजनिक यातायात कुनै हुन्छ त ?’
अहिले जसोतसो अलिअलि उठिरहेको रोयल्टीले पनि अफिस सञ्चालनदेखि अन्य खर्चहरू नै धान्न मुस्किल परिरहेको अधिकारीको भनाइ छ । उनका अनुसार संकलन भएको रोयल्टीबाट समाजले अपरेसन खर्च कटाएर स्रष्टाहरूमा बाँडफाँट गर्छ । डिजिटल दुनियाँबाट प्राप्त रोयल्टीमा स्पष्ट डाटा हुने र अन्य क्षेत्रबाट प्राप्त रोयल्टीमा स्रष्टाहरूबीचमा आपसी समझदारी हुने अधिकारीले बताए ।
तर अहिले जुन मात्रामा रोयल्टी संकलन भइरहेको छ, त्यसले तात्विक फरक नपार्ने र स्रष्टाहरू झनै ठूलो आर्थिक संकटमा गुज्रँदै जाने अधिकारीको भनाइ छ । उनको भनाइलाई संगीतकार खड्काको भनाइले झनै पुष्टि गर्छ ।
खड्काले भने, ‘हामी आर्थिक अधिकारबाट वञ्चित हुनुपर्दा दुःख लाग्छ । यी कारण यहाँ अमर स्रष्टाहरूले धर्ती छाडेर जानुहुँदा वा सामान्य समस्या आउँदा पनि फेसबुकतिर सहयोगको अपिल गरिरहनु परेको छ । राज्यले पनि यस्तो विषयमा चासो नै दिँदैन । बुढासुब्बाले नै मेरो गीत–संगीतमा आफ्नो नाम राखेको छ । अब अदालत जानुपर्ने अवस्था छ । अब सृजनातिर लागुँ कि अदालत धाउँ ?’
दुई हजार बढी गीतमा संगीत भरेका, १०८ भन्दा बढी चलचित्रमा संगीत दिएका खड्का अहिले पनि आर्थिक रूपमा सुरक्षित छैनन् । ‘यस्तो हुनुमा मैले पाउनुपर्ने अधिकार नपाएकाले हो । गीत बनाउँदा पाएको ज्याला चियाखाजामै सकिन्छ । मैले स्रष्टाको रूपमा पाउनुपर्ने आर्थिक अधिकार नपाउँदा मलाई आर्थिक रूपमा गाह्रो भएको छ ।’

Leave a Reply