कोटेश्वरमा प्रहरीको गोली लागेकी रेविकालाई गृहमन्त्रीले भेटे, उपचार खर्च व्यहोर्ने आश्वासन

काठमाडौं । गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको अवस्थामा सुधार आएको छ । उनलाई हिजो आईसीयूबाट क्याबिनमा सारिएको दिदी अनिताले जानकारी दिइन् ।

कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो । गोलीले तिघ्रा वारपार भएपछि सडकमा पछारिएकी उनलाई सुरुमा भेन्टिलेटर र त्यसपछि आईसीयूमा राखेर उपचार गरिएको हो ।

रेविकाका दाइ (काकाको छोरा) दिनेशलाई पनि एकै पटक गोली लागेको थियो । दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन् ।

रेविकाको भने सिभिल अस्पतालमा उपचार जारी छ । आज गृहमन्त्री रमेश लेखकले अस्पताल पुगेर उनलाई भेटे । पहिलो पटक सरकारका जिम्मेवार व्यक्ति भेट्न आउँदा रेविकाले मनको बह पोख्न पाएकी थिइन् । उनले आफ्नो भविष्य सुनिश्चित गराइदिन आग्रह गरिन् ।

उनले हात जोड्दै भनिन्, ‘सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो । त्यसपछि योग्यता र क्षमताअनुसारको रोजागरी दिएर सरकारले मेरो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो ।’

गृहमन्त्री लेखकले सकारात्मक जवाफ दिएका छन् । उनले भने, ‘पहिले उपचार गर्नु, अरु कुराको बारेमा तपाईं-हामी सल्लाह गरौंला ।’

रेविकाको उपचार खर्च सरकारले व्यहोर्ने आश्वासन लेखकले दिएका छन् ।

उनले भने, ‘अहिलेसम्म खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र सरकारले भुक्तानी गर्छ ।’

रेविकाकी दिदी अनिताका अनुसार सुरुका केही दिनमा परिवारले उपचार खर्च व्यहोर्दै आएको भए पनि अहिले अस्पतालले पैसा मागेको छैन ।

उनले भनिन्, ‘अहिले अस्पतालमा निःशुल्क भइरहेको छ । बाहिरबाट ल्याउनुपर्ने औषधिमात्रै आफ्नो पैसाले किनेका छौं ।’

रविकाको खुट्टा ठीक हुने आशा रहेको र आजबाट थेरापी सुरु गरिएको उनले जानकारी दिइन् । आज उनले एउटा खुट्टा बिस्तारै टेकेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *