शहीद रत्नकुमार बान्तवाका र उनका बारेमा लेखिएका कविताहरू

काठमाडौं ।
निस्पट्ट अँध्यारो बाटो देखाउने शहीदहरू
जनता, क्रान्ति र पार्टीको गहिरो माया गर्नुहुन्थ्यो ।
देशकै लागि बलिदान भएर
आफ्ना रगतले खन्नु भो ।
हिँड्नुपर्ने बाटो त्यही नै हो ।

यसरी मातृभाषामा गरिएको सिर्जनामा शहीदको सम्मान गर्ने रत्नकुमार बान्तावा २०३५ चैत २७ मा आफैँ शहीद हुन पुगे । राज्यबाट शहीदको मान्यता पाउन भने थप ३७ वर्ष कुर्नुपर्‍यो । पहिले नेकपा माले र हालको नेकपा एमालेले शहीद मानेका बान्तवा दलको शहीदबाट देशको शहीद केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा भएको थियो । २०७२ फागुन १९ मा बान्तवालाई शहीद घोषणा गरिएको थियो । २०७३ बाट उनको नाममा हुलाक टीकट ल्याइयो ।

शहीद बान्तवाको जीवनमा २७ अंक अर्थपूर्ण छ । उनले २७ वर्षसम्म मात्रै बाँच्न पाए । २००८ साल चैत २७ जन्मिएका उनको २०३५ चैत २७ मा हत्या गरिएको थियो । रत्नकुमार बान्तवाका बारेमा डकुमेन्ट्री (सेक्रिफाइस नेभर डाइस्) बनेको छ । चलचित्र (देउमाईको किनारमा) बनाइएको छ । विभिन्न गीत तथा ग्रन्थहरू लेखिएका छन् ।

मातृभाषा बान्तवा, देशको सरकारी कामकाजी भाषा नेपाली र अन्तराष्ट्रिय भाषा अंग्रेजीका जानकार बान्तवा बौद्धिक थिए । स्विट्जरल्यान्ड सरकारले बौद्धिकताको सम्मानमा दिएको छात्रवृत्ति भने उनले रुममेट तथा क्लासमेट ईश्वर पोखरलेसँगै मिलेर बहिष्कार गरे । आफ्नो बौद्धिक ऊर्जा उनले पञ्चायतको विरोधमा लगाए । नेपाली कम्युनिष्ट आन्दोलनमा लगाए । सुरुङ युद्ध गरेर पञ्चायत ढाल्ने आफ्नो सपनामा लगाए ।

रत्नकुमार लेखपढमा कति सक्रिय थिए भन्ने त उनका सहयोद्धा साथी तथा हालका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनको नाममा २०७३ मा प्रकाशन गरेको पुस्तक ‘पूर्वको रातो तारा’मा पाइन्छ ।

पोखरेलले बान्तवाका बारेमा लेखेका छन्, ‘पढ्ने र लेख्ने काम सँगसँगै गर्नसक्ने क्षमता उहाँमा थियो । एउटा मोटै किताब पढ्दै गर्ने र त्यही बेला अर्को किताबको नोट बनाउने वा अन्य मौलिक कुनै रचना पनि तयार गर्न सक्ने अनौठो क्षमता थियो उहाम्ँमा । उहाँ दुवै हातले झन्डै झन्डै उस्तै गतिमा लेख्न सक्नुहुन्थ्यो ।’

पोखरेलले थपेका छन्, ‘उहाँ मन छुने गीत र कविताहरू रचना गर्नुहुन्थ्यो । तिनलाई लयात्मक ढंगले वाचन गर्न र अत्यन्त सुमधुर स्वरमा गाउन पनि सक्नुहुन्थ्यो ।’

रत्नकुमारका कविता

रत्नकुमार बान्तवालाई एक कम्युनिष्ट योद्धा, क्रान्तिकारी व्यक्तित्वको रूपमा चिनिन्छ । उनको साहित्यमा पनि लगाव थियो । मातृभाषा (बान्तवा) र नेपाली दुवैमा उनले कलम चलाएका थिए । बान्तवाका कविताहरू २०८० सालमा प्रकाशन भएको ‘नेपालमा सुरुङयुद्ध’ पुस्तकमा लेखकहरू अर्जुनकुमार उप्रेती र जसकुमार राईले लिपिबद्ध गरेका छन् ।

तीरलाई बिम्ब बनाएर क्रान्ति जोड्दै बान्तवाले लेखेको एक कविताः

एउटै ताँदोबाट छुटेका हामी तीरहरू
जब्बर फलामे भित्ताहरू पार गर्दै
प्रचण्ड वायुवेगमा सनसनाउँदै
आँधी र हुरी सृष्टि गर्दै
अवश्य छेड्नेछ वैरीका छातीहरू

बान्तवाले कविताको भाषामा लेखेको कम्युनिष्ट शीर्षकको गीत यस्तो छः

कम्युनिष्ट हौं हामी, पार्टीको नेतृत्वमा
बाँचुञ्जेल लाग्नेछौं, जनताको सेवामा
गाउँमै आधार बनाई वर्ग विश्लेषण गरी
भूमिहीन, गरीब किसान वर्गमाथि भर परी
सत्ता कब्जा गर्नलाई राजनीतिक राखेर
संघर्षमा उठाउँछौँ एकलाई विकास गरेर ।

दस्ता गठन गर्नेछौं छान्दै एकएक गुरिल्ला
खतम गर्न गाउँको सङ्गीन दुश्मन साइँदुवा
पुलिस–मिल्ट्री आउँछन् दमन गर्न जनताको
गुरिल्लाले नास्नेछन् खोस्दै राइफल बन्दुक

स्थानीय जनतालाई रक्षा गर्ने लालसेना
मुक्ति युद्ध चलाउँछन् साथ दिनेछन् जनता
सही बाटो क्रान्तिको कम्युनिष्ट पार्टीले दियो
समाउँछौं कस्सिलो मुठ्ठी दीप-पुञ्ज यो ।

बान्तवाले बान्तवा भाषामा लेखेको ‘देश मुक्त ली’ अर्थात् ‘देश मुक्त हुन्छ’ शीर्षक कविताको नेपालीमा अनुवाद भएको छ, जहाँ राजा वीरेन्द्रलाई ‘वीरे’ भनेर पञ्चायतविरुद्ध आक्रोश पोखिएको छ । कवितामा झापाली विद्रोहको झिल्को पनि भेटिन्छ । कविताको नेपाली भावानुवादः

उठौं है गरीबहरू हातहातमा हतियार लिएर
जमिनदार वर्गलाई मास्दै अब हाम्रो राज्य ल्याउनुपर्छ ।
अनिमात्रै हाम्रो देश मुक्त हुन्छ ।
यो हाम्रो कुरा सुनेर को को पोल लाउन जान्छन् ।
उनीहरूलाई चिन्नुपर्छ, दलाल भन्ने मसान
धनी होस् वा गरिब होस्, उनीहरू हाम्रा शत्रु हुन् ।
त्यस्ता सबैलाई अबदेखि मास्नुपर्छ ।
अनि त काम्छ वीरे सरकार ।

एउटा, दुइटा काटेपछि पुलिसहरू आउँछन् ।
ढुकेर बन्दुक खोसेर मार्नुपर्छ ।
हामी आपसमा मिलेर फौज बनाउनुपर्छ ।
हाम्रो गाउँमा गरीबहरूको सरकार बनाउनुपर्छ ।
अनि जान्छन् यी सबै दुःखहरू ।

यो एउटैमात्र राम्रो बाटो भनेको
नेपाल कम्युनिष्ट पार्टी (माले)ले देखाएको बाटो हो ।
हाम्रा क्रान्ति झन्डा नै हाम्रो पार्टीको झन्डा
कसैले पनि थुन्न सक्दैन यो हाम्रो बाटोमा
मुक्त नगरी हुँदैन हाम्रो देश ।

‘शहीदाच्यू लाम्बिन्ने’ अर्थात् शहीदको बाटोमा हिँडौं नामक बान्तवा भाषामा लेखिएको अर्को कविताको भावानुवादः

सुन सुन मजदुर साथी हो, भूमिहीन गरीब किसान हो ।
देशलाई सुन्दर बनाउने शहीदहरूको सपना
साकार पार्ने कर्तव्य हाम्रो हो ।

निस्पट्ट अँध्यारो बाटो देखाउने शहीदहरू
जनता, क्रान्ति र पार्टीको गहिरो माया गर्नुहुन्थ्यो ।
देशकै लागि बलिदान भएर
आफ्ना रगतले खन्नु भो ।
हिँड्नुपर्ने बाटो त्यही नै हो ।

शहीदहरूको सपना पूरा गर्नकै लागि पार्टी जन्मेको हो ।
देशभरका हामी जनता त्यसकै नेतृत्वमा एकगठ हुँदै
हाम्रो पार्टी हाम्रो नेता
हाम्रो क्रान्तिको रातो झन्डा
बोकेर हिँडौं उही बाटोमा
देशलाई छिट्टै मुक्त गरौं ।

रत्नकुमार बान्तवाका बारेमा लेखिएका कविताहरू

रत्नकुमार बान्तवाको हत्या गरिएको अर्को साल २०३६ मा नेकपा माले इलाम जिल्ला कमिटीले ‘अमर शहीद कमरेड रत्नकुमार बान्तवा श्रद्धा र सम्झनाका फूलहरू’ प्रकाशन गर्‍यो । त्यही पुस्तकमा २०३४ सालको मालेका रत्नकुमारसँगै केन्द्रीय कमिटी सदस्य रहेका मदन भण्डारीले उनका बारेमा लेखेको कविता यस्तो छः

इलामको माटामा झुल्केको सूर्य बादल्ले छोपिन्न
रत्नको बाटो पच्छ्याउँछौं हामी बाधाले रोकिन्न
बाधाको शीर कुल्चेर हिँड्छन् अजेय सन्तानले
क्रान्तिको गति रुक्दैन कहिले हत्या र दमनले ।

सञ्जय थापाको नामबाट नेता प्रदीप नेपालले रत्नकुमार बान्तवालाई सम्झेर ‘देउमाइको किनार’ उपन्यास लेखे । र त्यही उपन्यास, लेखक सञ्जय थापा र रत्नकुमार बान्तवालाई सम्झेर धरानका कवि विमल गुरुङले लेखेको कविता यस्तो छः

रत्नकुमार बान्तवा
सञ्जय थापालाई धन्यवाद
जसले मलाई देउमाईको किनारमा दिए ।
जसले मलाई रत्नकुमार बान्तवाको जीवनी दिए ।

म थुप्रै पल्ट रोएको छु
चे ग्वेभाराको अवसानमा रोएको छु
स्पार्टाकसको देहान्तमा रोएको छु
साल्भाडोर एलेन्डेको स्वर्गवासमा रोएको छु ।
आज पनि म रोएँ
मेरो आँखाको नदीबाट
कुलो भएर आँसुहरू गालाहरूबाट बगे
आज म
रत्नकुमार बान्तवाको क्रूर हत्यामा
गोलीले दुलो परेको उसको छाती सम्झँदै
रगतले लतपतिएको उसको कमिज सम्झँदै रोएँ
आज पनि म रोएँ ।
बान्तवा !
तिमीलाई मेरो लालसलाम
तिम्रो बाटोमा आज म अझ दरो भएर उभिएको छु ।

उपेन्द्रको नाममा रत्नकुमार बान्तवाको बारेमा एउटा भावुक कविता लेखिएको ‘नेपालमा सुरुङयुद्ध’ पुस्तकमा उल्लेख गरिएको छ । रत्नकुमार बान्तवाको पार्टीको नाम ‘महेश’ प्रयोग गरेर लेखिएको कविता यस्तो छः

कमरेड रत्नको वधस्थल नजिक उभिँदा
नागबेली परेको त्यो उकाली र ती चिलाउनेका अग्ला रुखहरू
तलतिर झुलेका धानका बाला र श्रद्धाले नुहेका ती समलीका बुट्टाहरू
यो माटो त्यसै किन रातो भएको हो र ?

यहाँ हाम्रो मुटुको एक टुक्रा खसेको छ ।
यहाँ त हाम्रो हृदयको एउटा मोती झरेको छ ।

उत्तरबाट बग्दै आएको देउमाई पहरा फोर्दै लम्किरहेछ
सानो तर पूर्व हानिएका फेवा ढुङ्गा पल्टाउँदै गर्जिरहेछ
यो दोभान मसानघाट नि बन्थ्यो र ?
यहाँ त हाम्रो रत्न पल्टेको छ ।
यहाँ त हाम्रो हिरा हराएको छ ।

पुलिसहरू खुशी हुँदै आफ्नो किल्लातिर फर्के रे
दलालहरू रमिते बन्दै ओडारतिर पसे रे !
तर शत्रुको खुशी किन टिक्छ र ?
यहाँ त हाम्रो रिसको ज्वाला दन्केको छ ।
यहाँ त हाम्रो प्रतिशोधको तरबार धारिएको छ ।

एउटा कम्युनिष्ट मरेर क्रान्ति रोकिँदैन
आतङ्क मच्चाएर अब यो आँधी नासिँदैन
अब त जनताको आँखामा पट्टी किन बाँधिन्थ्यो र ?
त्यहाँ त महेशको मूर्ति उभिएको छ ।
त्यहाँ त कुमारको मुस्कान टाँसिएको छ ।

Comments

One response to “शहीद रत्नकुमार बान्तवाका र उनका बारेमा लेखिएका कविताहरू”

  1. खाँदबारी Avatar

    अनुपम जि ले पुन खोजेका (Research) गरेका कुरा सधैं सान्दर्भिक हुन्छ्न। जैलै नछुटाइ पढ्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *