ओलीलाई गगनको सुझाव- सरकारले काम गरेको भए शिक्षकहरु सडकमा आउन पर्दैनथ्यो, भाषण गर्न छाड्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरु काम गर्न छाडेर उद्घाटन र भाषण गर्दै हिँडेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘हामीले सरकारलाई सहयोग गरिरहेका छौं, तर हामीले असन्तुष्टि व्यक्त गरिरहेका छौं । किनभने बिँड तातेरमात्रै हुँदैन रहेछ, ताप्के ताप्नुपर्छ । ताप्के भनेको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री हो । म अहिले प्रधानमन्त्रीलाई सुझाव दिने ठाउँमा छु, झकझकाइरहेको छु । मद्दत पु¥याइरहेको छु, तर परिणाम दिने कुरामा जिम्मेवारबोध सरकार प्रमुखसँग हुनुपर्छ । अहिले शिक्षक साथीहरु सडकमा हुनुहुन्छ । सरकारले ठीक समयमा ठीक ढंगले काम गरेको भए अहिले सडकमा आउनुपर्ने अवस्था नै बन्दैनथ्यो । अहिले पनि केही बिग्रिएको छैन । शिक्षकहरुको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा पठाउनुपर्नेछ ।’

महामन्त्री थापाले सहकारीको विषय आफूहरुले उठाएको भन्दै ठगहरुलाई पनि ठेगान लगाउनुपर्ने र पीडितहरुको बचत फिर्ता गराउनुपर्ने भने पनि अहिलेसम्म दिन नसकेको स्वीकारे ।

उनले थपे, ‘अहिलेको सरकारको गति पुगेको छैन । हामी भन्छौं, तिमी युद्धको मनोविज्ञानले १८ घण्टा काम गर, २० घण्टा काम गर कहीँ उद्घाटन र भाषण गर्न नजाऊ, प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरु घुमेको देख्छु, मैले उहाँहरुलाई अनुरोध गरिरहेको छु, तपाईंहरु डुल्ने र घुम्ने गर्न छाडिदिनुस्, तपाईंहरु काम गर्नुस्, तपाईंहरुले गरेको कामको प्रचार हामी देशभरि गर्छौं ।’

महामन्त्री थापाले कांग्रेस अहिले जिम्मेवारीमा भए पनि केही समस्याहरु देखिएकाले सुधार गरेर अघि बढ्ने बताए ।

Comments

2 responses to “ओलीलाई गगनको सुझाव- सरकारले काम गरेको भए शिक्षकहरु सडकमा आउन पर्दैनथ्यो, भाषण गर्न छाड्नुस् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    शिक्षकले माग राखेको तीनवर्ष भैसक्यो । ओलि प्रधानमन्त्री बनेको ९ महिना पुग्दैछ । २ वर्ष बढी समयदेखि काँग्रेस माओवादीको सरकार थियो । त्यतिबेला चाहिँ के हेरेको थिईस् ? माखो मारेको थिईस् अहिले ओलिलाई भन्न ? गभर्नर पद बेच्न नपाएर छट्पछाईरहेको अवस्था ।

  2. Rabin sharma Avatar
    Rabin sharma

    दलेहरुको कोटरी शिक्षक महासंघ त कतिखेर लम्पसार पर्छ कसैले भन्न सक्दैन । शिक्षामा भएको राजनीतिक ज्यादतीको शिकार विद्यार्थीहरु हुने भए । हनुमानहरुको घैटोमा कहिले घाम लाग्ने हो ? सबैले दन्तबजान गर्ने बाहेक अरु उपाय देखेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *