रुपन्देही । संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्व सामु चिनाउन राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलनको आयोजना गरिएको छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका वडानम्बर १ र २ को सिमानामा पर्ने पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यही क्षेत्रको प्रचार प्रसारका लागि पाणिनि सम्मेलन गर्न लागिएको छ ।
चैत २७ र २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनि गाउँपालिकाको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।
अहिले सालझण्डी ढोरपाटनको बाटोबाट पूर्वपश्चिम राजमार्गको सालझण्डीबाट २ घन्टा र सिद्धार्थ राजमार्गको डुम्रे कुशुमखोला हुँदै बुटवलबाट २ घन्टामा नै यहाँ पुग्न सकिने व्यवसायी गणेशचन्द्र पोखरेल बताउँछन् ।
उनकै अगुवाईमा यसअघि जेसीजले यहाँ पाणिनि सम्मेलन गरेको थियो । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले यो पालिका, जिल्ला र प्रदेश विशेषको कार्यक्रम नभएर राष्ट्रिय महत्वको कार्यक्रम भएकाले सबैलाई सकृय सहभागीका लागि अनुरोध गरेका छन् ।
संस्कृत व्याकरणका प्रतिपादनकर्ता महर्षि पाणिनिले कठोर तपस्या गरी भगवान् शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा प्रचार–प्रसार, र संरचनागत विकास गर्नका लागि पाणिनि सम्मेलन गरिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए ।
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनि तपोभूमिलाई प्रवद्र्धन गर्ने यस्ता सम्मेलनले महत्वपूर्ण काम गर्ने सांस्कृतिविद् राजेन्द्रकुमार आचार्य बताउँछन् । दहको बीचमा भगवान शिवजीको मूर्ति साँच्चिकै शब्दमा वर्णन गर्न पनि नसकिने यस क्षेत्रमा पुग्ने मानिसलाई मात्र थाहा हुन्छ यसको प्राकृतिक सुन्दरता ।
एउटै भूभाग जुन ठाउँबाट बगेको पानी उत्तरतर्फ गएमा कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा पुग्छ । तपोभूमि स्वर्गद्वारी, रेसुंगा र रुरु क्षेत्रको नजिकै पर्ने यो भूभाग धार्मिक दृष्टिकोण तथा प्राकृतिकरूपमा पनि महत्वपूर्ण छ । साउनभर साउने मेला लाग्छ ।
यो ठाउँ पहाडको चुचुरोमा समथर भूभाग छ । पाणिनि शिवसिद्ध आश्रममा रहेका विभिन्न देवीदेवता गणेश मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, अन्य मन्दिर, धर्मशाला, पुराण मण्डप, फलफूलका रुखहरू अनि सँगै रहेको समथर भूभागको ऐतिहासिक दह ।
नित्यपूजा हुनुका साथै साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ । साउनमा तपोभूमिस्थित यस दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ । ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ उपयुक्त हुन्छ भन्ने ऋषिमुनिको निष्कर्ष छ।
सोही ठाउँको खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा पर्ने घनघोर जंगलको बीचमा रहेको यसै भूमिमा पाणिनिले तपस्या गरेका थिए । पहिले रुखका पात, पछि पानी मात्र पिएर र अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान शिवजी प्रसन्न हुनुभएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ ।
यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ । अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयबरट्, लण्, यमङणनम्र, झभय्, घढधस्, जवगडदश्, खफछटथचटतप्, कपय्, शषसर् र हल हुन् ।
१४ सूत्रको अन्तिमका अक्षरको महत्व हुँदैन । अघिल्ला अक्षरबाट संस्कृत र नेपाली भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण बनेका छन् । यिनै सूत्रको आधारमा संहिता, गुण, वद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन । संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकसमुलरले भनेका छन्, ‘हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा अत्यन्तै श्रेष्ठ छ ।’
पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो । अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन् । सन्धिखर्कमा रहेको पाणिनि बहुमुखी क्याम्पस, पाणिनि वेद विद्याश्रम आदि उदाहरण हुन् ।
पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्यसिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको पाईन्छ । पाणिनिका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागिपरेका थिए भन्ने भनाइ भारत र नेपालका धार्मिक विद्वान्ले गर्ने गरेका छन् ।
२०७६ सालमा नेपाल सरकारले देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो । पाणिनि गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा हुने सम्मेलनले विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमिको प्रचारप्रसार सँगै संसारभर पाणिनिलाई चिनाउन टेवा पुग्नेछ ।
हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको र प्रचारप्रसार सँगै विश्वभर चिनाउन पाणिनि सम्मेलनको आयोजना गरिएको पाणिनि तपोभुमि संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेलले बताए ।
अर्घाखाँचीको पूर्वमा रहेको पणेना र पोखराथोकको टापुमा यो तपोभूमि पर्छ । सो तपोभूमिबाट उत्तर फर्कंदा हिमशृङ्खला र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देखिन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
यस क्षेत्रको प्रचारप्रसार गर्नसके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुने पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने बताउँछन् । यो क्षेत्र पाणिनी ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासिन्दा तथा वडाअध्यक्ष कमल पोख्रेलले बताए ।
अहिले सालझण्डी ढोरपाटनको बाटोबाट पूर्वपश्चिम राजमार्गको सालझण्डीबाट २ घन्टा र सिद्धार्थ राजमार्गको डुम्रे कुशुमखोला हुँदै बुटवलबाट २ घन्टामा नै यहाँ पुग्न सकिने व्यवसायी गणेशचन्द्र पोखरेल बताउँछन् । उनकै अगुवाईमा यसअघि जेसीजले यहाँ पाणिनि सम्मेलन गरेको थियो ।
यो क्षेत्रमा एउटा पोखरी, मठ मन्दिरहरु निर्माणसँगै संरक्षण भइरहेका छन् । तिनगीरेबाट जाने बाटो पिचसँगै सभाहल बन्दै गरेको अवस्थामा अलपत्र छ । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन् ।
पाणिनिका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन् । पाणिनि तपोभूमिलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले भने ‘तपोभुमिमा भण्डारा सञ्चालनदेखि अतिथिहरुलाई दहमै बस्ने व्यवस्था मिलाइँदैछ, यो सम्मेलनले पाणिनीको मात्र होइन अर्घाखाँचीको नै धार्मिक पर्यटकीय विकासमा टेवा पुग्नेछ ।’
पाणिनि ऋषिको योगदान केवल नेपाल वा भारतमा सीमित छैन, उनी विश्वब्यापी रूपमा भाषाशास्त्रका अग्रदूत हुन् । लुम्बिनीमा आएका धार्मिक पर्यटकलाई पाणिनी तपोभुमी हुदैँ सुपादेउरालीमा पुर्याउँन सकेमा पनि अर्घाखाँचीको विकास हुन सक्छ । संस्कृत अध्ययन गर्नेमात्र हैन, विश्वका विविध भाषाको अध्ययन गर्नेहरूले पनि पाणिनि ऋषिबारे अध्ययन गर्छन्, तर पनि यो ओझेलमा परेको तपोभूमिको प्रचारप्रसार पनि सम्मेलनले गर्ने अपेक्षा रहेको पत्रकार घनश्याप पौडेल बताउँछन् ।

Leave a Reply