काठमाडौं । प्रहरीले उनलाई हिरासतमा राख्न भनेर होइन, कुनै नयाँ सूचना मिल्छ कि भनेर बोलाएको थियो । तर, ‘सूचना’ नाममा उनले आफ्नो मात्रै गुणगान गाए । फलतः सीधै हिरासतमा पठाइए ।
चैत १५ को राजावादी प्रदर्शनपछि तारकेश्वर-९ का दिलबहादुर श्रेष्ठको नाम पक्राउको सूचीमा थियो । उनी शाही युवा शक्तिका उपाध्यक्ष भनी पक्राउ गरिनुपर्ने सूचीमा परेका थिए । तर भन्ने बित्तिकै पक्राउ गरिएनन् । किनभने, पक्रिनुपर्ने मानिस पहिचान गर्ने काममा उनले प्रहरीलाई नै सघाइरहेका थिए ।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्ना अधिकृतसँग उनैलाई पक्राउ गर्ने योजना सुनायो । त्यसपछि एक जना अधिकृतले भने, ’त्यसलाई समात्नै पर्दैन, बोलायो भने आइहाल्छ ।’
नभन्दै सोमबार साँझ दिलबहादुर टेकुस्थित अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको कार्यकक्षमा टुप्लुक्क देखिए । बस्नेतले आवश्यक सोधपुछका लागि एसपी अंगुर जिसीलाई अह्राए । जिसीले सोधे, ‘तपाईँसँग कति जना मान्छे छन् ?’ उनले भने, ‘मान्छे नै मसँग हुने हो, अरूसँग कोही पनि छैन ।’
अर्को प्रश्न थियो, ‘१५ गते कोटेश्वरमा गएका सबै मान्छे तपाईँका हुन् ?’ सुनाए, ‘अरूसँग २० जना, ३० जना मान्छे हुन्छ, मसँग १० हजार, १२ हजार मान्छे भन्ने बित्तिकै आउँछन् ।’
एसपी जिसीले फेरि सोधे, ‘१५ गतेचाहिँ तपाईँका मान्छे कहाँ थिए ? कोटेश्वर, तीनकुने, जडीबुटी– कता ?’ उनले आफूद्वारा भेला पारिएका करिब १० हजार मानिस सामाखुसीतिर एकत्रित पारेको बताए ।
पूर्वराजाको पक्षमा हुने गतिविधिमा मानिस जम्मा पार्ने काममा सक्रिय शाही युवा शक्तिको उपाध्यक्ष पनि आफैँ भएको उनले बताए । तर, उक्त कुरा प्रमाणित हुने कागजात थिएन ।
एसपी जिसीले एसएसपी बस्नेतलाई उनीसँगको कुराकानीको फेहरिस्त सुनाए । त्यसपछि बस्नेतकै आदेशले सोमबार साँझै उनी अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिए ।
उनी पशुपति खड्का नेतृत्वको शाही युवा शक्तिको उपाध्यक्ष हुन् भन्ने कुनै पनि कागजात फेला नपरे पनि बयानमा आफ्नो संलग्नता स्वीकार गरेका कारण मात्रै हिरासतमा राखिएका थिए । यदि उनी उपाध्यक्ष रहेनछन् भने छाड्ने मनस्थितिमा प्रहरी थियो ।
तर, मंगलबार बिहानै एउटा माइन्युटजस्तो कागजात फेला पर्यो । केही महिनाअघि गौशालाको एउटा सेकुवा कर्नरमा दिलबहादुरलाई उक्त संस्थाको उपाध्यक्ष बनाइएको कुरा त्यसमा उल्लेख थियो । त्यही आधारमा अपराध अनुसन्धान कार्यालयले मंगलबार आवश्यक कानुनी कारबाहीका निम्ति उनले जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठायो ।
‘मलाई किन ? (समातेको)’ भन्दै अचम्म मानिरहेका दिलबहादुरले प्रहरीलाई भने, ‘म त सरहरूकै साथी हो नि ।’
जिल्ला प्रहरी परिसर, भद्रकालीले उनलाई आपराधिक उपद्रव शीर्षकको मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
उनले प्रहरीलाई बताएअनुसार, १२ वर्षसम्म चौधरी ग्रुपमा सिनियर प्राविधिकका रूपमा काम गरेर विभिन्न क्षेत्रका मानिससँग उनको सम्पर्क विस्तार भएको हो । ‘चौधरी ग्रुपमा त म स्टाफ नै भएँ, गोल्छा हाउसमा पनि मेरो राम्रो सम्बन्ध छ’, उनले प्रहरीलाई बताए ।
यसबाहेक एक जना हिन्दू धर्मका प्रख्यात गुरुसँग आफ्नो विशेष सम्बन्ध रहेको र उनैमार्फत हिन्दु राज्यको पक्षमा आफूले काम गरेको बताए ।
चौधरी ग्रुपको जागिर सकिएपछि उनले त्यहीँको कमाइबाट तारकेश्वर- ९, मनमैजुमा घर बनाएको प्रहरीलाई बताएका छन् । सामाखुसी र बसुन्धारामा उनका तीन किसिमका व्यापार–व्यवसाय रहेको प्रहरीलाई बताएका छन् । तर, के–के व्यापार वा व्यवसाय हो भन्ने खुलाएका छैनन् ।
प्रहरीका अनुसार, उनी प्रतिबद्ध राजावादी वा हिन्दू धर्मका अभियन्ता हैनन् । मोजमस्ती र लहडबाजीमा हिँड्ने मान्छे भएको उनका कुरा र हाउभाउबाट बुझिने अनुसन्धानरत प्रहरीले बताए ।
‘आफू जे जस्तो हो, त्योभन्दा बढी गफ दिने, गफाडी टाइपको मान्छे छ’, ती प्रहरीले बताए ।
चैत १५ को प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिमध्ये उनले जम्मा पारेका व्यक्ति पनि रहेको प्रहरीको दाबी छ । कवाडी सामान उठाउने, घर निर्माण मजदुर र यातायात मजदुरलाई जम्मा पारेर उनले १५ गतेको प्रदर्शनमा पठाएको अनुसन्धानरत प्रहरी बताउँछन् ।

Leave a Reply