प्रचण्डले खेलेको ‘पासाङ पासा’, विद्या भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकताको आशा ?

काठमाडौं । तत्कालीन राष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई शीतल निवास डाकेर सामूहिक भेटवार्ता गरेकी थिइन् ।

भण्डारीको निमन्त्रणा स्वीकारेर त्यसबेला शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरू पुगेका थिए ।

भेटमा आआफ्नो कुरा राख्ने क्रममा प्रचण्डले भण्डारीलाई राष्ट्रपतिबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किन सुझाएका थिए ।

प्रचण्डले भण्डारीलाई भनेका थिए, ‘यहाँले प्रथम महिला राष्ट्रपतिको रूपमा एउटा मुलुकको गौरव राख्नुभयो । आफ्नो लागि पनि इतिहास निर्माण गर्नुभयो । अब कार्यकारी अधिकारको अभ्यास गर्ने बाटोमा जाँदा राम्रो होला जस्तो लाग्छ । भोलि पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पनि यहाँले प्राप्त गर्न सक्नुहुन्छ नि !’

प्रचण्डले मात्रै होइन देउवादेखि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि भण्डारीलाई राजनीतिमा फर्किन सुझाएका थिए । ओली पनि भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने कुरामा नरमै सुनिन्थे ।

अहिले भण्डारी शीतल निवासबाट बिदा भएपछि सक्रिय राजनीतिमा फर्किने आन्तरिक गृहकार्यमा जुटिरहेका बेला त्यसलाई माओवादीका अध्यक्ष प्रचण्डले सहज बनाइदिएका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष बनाएर प्रचण्डले विद्यालाई पनि राजनीतिमा फर्काउने बाटो खोलिदिएका छन् । भण्डारी राष्ट्रपति हुनुअघि एमालेकी उपाध्यक्ष थिइन् । अहिले उनले एमालेभित्र आफ्नो स्पेस खोजिरहेकी छन् । एमालेमा विद्या भण्डारी अबको निर्विकल्प नेतृत्वको रूपमा खोजी भइरहेकी पात्र हुन् ।

माओवादीको हालै बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनीत गरिसकेको छ । प्रचण्डको चाहनाअनुसार नै पुन यसअघि पनि माओवादीको बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुँदै आइरहेका थिए ।

पुनलाई माओवादीमा फर्काएर भण्डारीको बाटो खोल्न प्रचण्डले रणनीतिक भूमिका खेलेको विश्लेषणसमेत वाम कित्तामा हुन थालेको छ । ओली आगामी महाधिवेशनबाट एमाले अध्यक्षमा दोहोरिने रणनीतिमै छन् । परिस्थिति हेरेर ओलीकै प्रस्तावमा विद्या भण्डारीले एमालेको नेतृत्व सम्हाल्ने सम्भावना पनि उत्तिकै छ ।

भण्डारीको अहिलेको देश दौडाहाले पनि त्यही संकेत गर्छ । उनी अहिले जिल्लाजिल्ला पुगेर पार्टी नेता कार्यकर्तासँग बेग्लाबेग्लै भेटेर आफ्नो पक्षमा माहोल बनाउनमा केन्द्रित छन् । भण्डारीलाई नेतृत्वमा फर्काउन सके कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्न सकिने कतिपय नेताहरूको बुझाइ छ ।

प्रचण्डले पनि भण्डारी एमाले नेतृत्वमा आए कम्युनिष्ट एकताको आधार बन्ने रणनीति बुनेर पासाङ कार्ड खेलेको राजनीतिक वृत्तमा चर्चा छ । एमाले फोडेर हिँडेका माधव नेपाललाई पनि अहिले पार्टी जोगाउन मुस्किल छ । उनका लागि पनि विद्या भण्डारी फेस सेभिङको पात्र हुने उत्तिकै सम्भावना छ ।

ओलीसँग नेपालको सम्बन्ध अहिलेसम्म सुध्रिन सकेको छैन । त्यसैले प्रचण्ड र माधव नेपाललाई पनि विद्या भण्डारी एमालेको नेतृत्वमा आएर एकताको आह्वान गरे फेरि नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने विकल्प हुनसक्छ । जुन कुरा तीनै पार्टीका नेताहरू स्वीकार्छन् ।

तर एमालेमा भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने कि नल्याउने भन्ने दुई धार छ । विवादका बीच प्रचण्डले पासाङलाई उपाध्यक्षको जिम्मेवारी दिएपछि एमालेमा फर्किन भण्डारीको पनि बाटो खुलेको छ । अब एमालेको ११औं महाधिवेशनसम्म पुग्दा भण्डारी ओलीकै सहमतिमा एमालेमा पुनरागमन हुने आँकलन धेरैको छ ।

लघुताभास र दम्भको मिलनविन्दु

आजको दिनमा कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्ताले स्वीकार गरे पनि नगरे पनि यथार्थ के हो भने नेपालमा कम्युनिष्ट पार्टीको पक्षमा जनताको आकर्षण लगभग ऋणात्मक अवस्थामा पुगिसकेको छ । अझ नेतृत्वका अहिलेकै अनुहारप्रति जनमत पटक्कै सकारात्मक छैन ।

समग्र पुराना दलप्रति नै जनता नकारात्मक भएका बेला विभाजित कम्युनिष्ट पार्टीहरूमध्ये कतिपयले आउने चुनावमा अस्तित्व जोगाउन सक्ने अवस्था छैन । एमाले र माओवादी जस्ता दलको पनि आकार बढ्न कम्तीमा अहिलेकै अवस्था रहेमा सम्भव छैन ।

यस्तो अवस्थामा प्रचण्ड-माधवहरूको लघुताभास र केपी शर्मा ओलीको दम्भको साझा समाधान विद्या भण्डारी हुने आँकलनसहित कतिपय स्वतन्त्र खालका वामपन्थी नेता तथा बुद्धिजीवीले पनि विद्या भण्डारीतिर हेरेका छन् ।

आजको दिनमा केपी ओलीको विकल्प प्रचण्ड-माधव होइनन् । फेरि यी पार्टी मिलेछन् भने पनि हिजोको जस्तो अवस्था छैन । त्यसैले पनि वाम एकताको जामा पहिरन पनि विद्या भण्डारी एक साझा विकल्प हुनसक्ने विश्लेषण गरिएको छ ।

ओली नै निर्णायक

एमालेको राजनीतिलाई नजिकबाट बुझेकाहरु चाहिँ के कुरामा प्रष्ट छन् भने- विद्या भण्डारी एमालेको नेतृत्वमा फर्किने कुरा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाबेगर सम्भव छैन । ओलीले चाहेरै भण्डारी एमालेको अध्यक्ष र देशको पहिलो महिला प्रधानमन्त्री बन्ने हो ।

ओलीसँग प्रतिस्पर्धा गर्नका लागि विद्या भण्डारी एमालेको राजनीतिमा फर्किने होइन भन्नेमा कम्तिमा एमाले बुझेकाहरु विश्वस्त छन् । किनकी भेट्न जानेहरुलाई पनि विद्या भण्डारीले अहिले एमाले पार्टी र यसको मूल नेतृत्वविरुद्ध घेराबन्दी भएकाले कतिपय असन्तुष्टि भए पनि बाहिर नलैजान सुझाव दिने गरेकी छन् ।

अहिले विभिन्न कारणले पार्टीभित्र किनारामा पारिएका, अन्यायमा परेँ भन्नेहरु र उचित जिम्मेवारी नपाएकाहरुको दुःख बिसाउने ठाउँ बनेको छ भण्डारीको चपली निवास । पार्टीभित्र उकुसमुकुस भएको आवाज सुन्ने ठाउँ बनेको छ चपली ।

उनीहरुलाई धेरै टाढा जान नदिनका लागि भण्डारीले अभिभावकीय भूमिका निर्वाह गरेको बताइन्छ । त्यसैले प्रचण्डले वा माधव नेपालले ओलीको विकल्पमा विद्या भण्डारी आएर पार्टी एकता गर्न चाहेको हो भने पनि ओलीको चाहना र सहमति बिना सम्भव नहुने नेताहरु बताउँछन् ।

सबैखाले एकता र एकीकरणको फण्डा सबै क्लोज भइसक्यो

एमाले स्थायी कमिटी सदस्य एवं कोशीका इन्चार्ज शेरधन राईले भने पूर्वराष्ट्रपति भण्डारीको कमव्याकबारे पार्टीमा औपचारिक छलफल नभएको बताउँछन् । उनले भण्डारी आउँदा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकै सहमतिमा आउने बताए ।

शेरधन राई ।

राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले देशको विकास र समृद्धिमा चासो राखेर देखाएको सक्रियतालाई धेरै सकारात्मकरूपमा लिन्छन् उनी ।

‘मैदानमा भिडेर, केपी ओलीको काउन्टरमा उभिएर आउने भन्ने कुरामा कुनै अर्थ छैन । उहाँ सक्रिय राजनीतिमा आउनुभयो भने पार्टीको प्रस्तावमा आउनुहुन्छ’, राईले नेपाल प्रेससँग भने ।

भण्डारी फर्किँदा प्रचण्ड-माधवसहितको नेकपा बन्नसक्ने सम्भावनाबारे राखिएको जिज्ञासामा उनले त्यो बेतुकको प्रसंग भएको टिप्पणी गरे ।

नेकपा एमाले नाम र चुनाव चिन्ह सूर्य, जनताको बहदलीय जनवाद र केपी शर्मा ओलीको नेतृत्व यी तीन कुरा स्वीकार गर्नेसँग मात्र कम्युनिष्ट एकता सम्भव रहेको उनले प्रष्ट पारे ।

‘यस्तो खालको एकता र एकीकरणको फण्डा सबै क्लोज भइसक्यो । एमालेले एकताको अगुवाइ गर्दै विगतमा प्रचण्डलाई एकीकरणमा ल्याएको होइन ? तर, उहाँहरू दक्षिणपन्थी पोल्टामा गएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम गर्नुभयो । अब एकता एकीकरणभन्दा पनि एमालेको नेतृत्वलाई स्वीकार गरेर आएमात्रै सम्भव छ’, राईले भने ।

‘भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकता हुनसक्छ’

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा भण्डारी सक्रिय राजनीतिमा आउने सम्भावनालाई नर्कादैनन् ।

कर्ण थापा ।

उनी भन्छन्, ‘विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन कसैले रोकेको पनि होइन । अहिले पूर्वउपराष्ट्रपति पुन फर्किंदैमा खुलेको पनि होइन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सबै पद सार्वजनिक पद नै हुन् । राजनीतिक परिस्थितिले कसले के भूमिका निर्वाह गर्ने भन्ने कुरा हो । पदमा रहुञ्जेलसम्म जुनसुकै पदमा भएपछि आफू जिम्मेवारीभित्र रहेर काम गर्नुपर्छ ।’

नेपालको संविधान, कानून, राजनीतिक अभ्यासलाई हेर्दा पनि राष्ट्रपति र उपराष्ट्रपति भएको व्यक्ति राजनीतिमा आउन हुँदैन भन्ने नरहेको उनले बताए ।

थापाले थपे, ‘त्यसो त सभामुख पनि सबैभन्दा साझा व्यक्ति भनिन्छ । त्यो भएको बेलामा पार्टी सदस्य हुँदैन । त्यसैले अहिले पूर्वराष्ट्रपति राजनीतिक काममै हुनुहुन्छ । समयको आवश्यकताले राजनीतिक काममा जुनसुकै बेलामा जुनसुकै जिम्मेवारी लिएर अगाडि आउनुहुन्छ ।’

उनले वामपन्थी एकताको लागि भण्डारीको नेतृत्वमा सहज हुनसक्ने इमानदार कम्युनिष्टहरूले भन्न थालेको सुनाए ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनका नेताहरूमा कसै–कसैले वामपन्थी आन्दोलनलाई एकीकरण गर्ने अपूरो कार्यभार रहेको छ । यो पूरा गर्नुपर्छ । यो पूरा गर्न उहाँ सबैबाट स्वीकार्य व्यक्ति हुनसक्ने सम्भावना छ । इमानदार कम्युनिष्टहरूले पनि उहाँ हुँदा सहज हुन्छ भन्ने धारणा राख्न थालेका छन् । त्यो सम्भावना छ ।’

‘काम गर्छु भनेपछि जिम्मेवारी दियौं’

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल पूर्वउपराष्ट्रिपति पुनले सरकारी कुनै सेवा सुविधा नलिएर बसेका हुनाले व्यक्तिगत इच्छामा राजनीतिमा फर्किनु स्वाभाविक भएको बताए ।

लीलामणि पोखरेल ।

उनले भने, पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनुहुन्छ हुँदैन, त्यो उहाँको आफ्नो कुरा हो । पूर्वउपराष्ट्रपतिले सरकारी सेवा सुविधा नलिएको स्थितिमा उहाँ एउटा नागरिकको रूपमा रहनुभएको छ । सेवा सुविधा लिएको भए त्यो उपयुक्त हुँदैनथ्यो । आमनागरिकको रूपमा रहेपछि राजनीतिमा सक्रिय हुने कुरा उहाँको अधिकारको कुरा पनि हो ।’

पुनले पार्टीमा बसेर काम गर्छु भनेपछि जिम्मेवारी दिएको उनले सुनाए ।

भण्डारीलाई एमाले नेतृत्वमा ल्याएर नेकपा एकताको वातावरण बनाउन प्रचण्डले पुन कार्ड खेलेको चर्चाबारे उनले थपे, ‘उहाँहरूले आफ्नो राजनीतिक जीवन कसरी अगाडि बढाउने भन्ने उहाँहरूकै कुरा हो, तर अहिले यो बिषयलाई लिएर भण्डारीको नेतृत्वमा नेकपा एकताको प्रयासको रूपमा बुझेका छैनौं । पछिको कुरा अहिले भन्न सकिँदैन ।’

‘कम्युनिष्ट पार्टी एकजुट हुनुको विकल्प छैन’

नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन हुने नहुने भन्ने कुनै प्रावधान नभएकाले व्यक्तिको इच्छालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै प्रावधान छैन । एउटा प्रावधान बनाएको भए नजिर बन्नसक्थ्यो। सम्मानीय पदमा पुगेकाहरू राजनीतिमा आउन हुन्छ हुँदैन भन्ने केही स्पष्ट छैन । त्यसैले व्यक्तिगत इच्छाको कुरा हो ।’

भट्टराई ।

उनले विद्या भण्डारीले सरकारले दिएको सबै सेवा सुविधा त्यागेर राजनीतिमा आए, त्यसलाई अन्यथा लिन नहुने बताए ।

विद्या भण्डारी एमाले नेतृत्वमा आए नेकपा एकताको सम्भावना देख्नुहुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘राजनीतिमा नहुने भन्ने केही हुँदैन । खेलैखेलको सम्भावना हुन्छन् राजनीतिमा । उहाँ एमाले नेतृत्वमा आएर कम्युनिष्ट पार्टीको रूपमा विकास गर्न थालेपछि एकजुट हुन कुनै समय लाग्दैन । नेपालको कम्युनिष्ट आन्दोलनमा त्यसको विकल्प पनि छैन ।’

नेता भट्टराईले नेपालको कम्युनिष्ट पार्टीहरू एउटै धारमा आउनैपर्ने बताए ।

उनले भने, ‘अहिले तत्काल सम्भावना नभए पनि कुनै समयमा एकै ठाउँमा आउनैपर्छ । नेपाली राजनीति र भौगोलिक अवस्थाको बाध्यता पनि छ । राजनीति र आर्थिक परिस्थितिले कुनै समयमा एकजुट हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो, तर कम्युनिष्ट पार्टी कम्युनिष्ट जस्तो हुनुपर्छ ।’

‘विद्या आए प्रचण्ड-माधवलाई सहज हुनसक्छ’

राजनीतिक विश्लेषक झलक सुवेदी पनि पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनेबारे कल्चर निर्माणको क्रममा रहेको बताउँछन् ।

झलक सुवेदी ।

उनी भन्छन्, ‘सामान्यतः विशिष्ट पदमा पुगिसकेको मान्छे फेरि विवादमा आउने बाटोमा भन्दा केही सम्मानीत ठाउँमा बसेको राम्रो मानिन्छ, तर व्यक्तिगत इच्छाको विषय हो ।’

पुन र भण्डारीको राजनीतिक पुनरागमन एकअर्कासँग जोड्न आवश्यक नभएको उनको बुझाइ छ ।

‘प्रचण्डले पुनलाई उपाध्यक्ष बनाएर विद्यालाई बाटो खोल्दिएको भन्दा पनि यी दुवै फरक फरक केस हुन् । त्यसैले यसलाई जोड्न आवश्यक छैन । स्वतन्त्र घटना हुन्’, सुवेदीले भने ।

विद्या भण्डारी एमालेको नेतृत्वमा आए प्रचण्ड-माधवसहितको एउटै पार्टी बन्ने सम्भावनाबारे उनले थपे, ‘त्यो सम्भावना छैन भन्न मिल्दैन । एक पटक राष्ट्रपति भइसकेको, मदन भण्डारीको लिगेसी पनि जोडिएकाले प्रचण्ड र माधव नेपाललाई सहकार्य गरेर एकताको बाटो खोल्न सजिलो हुने देखिन्छ ।’

नेकपाकालदेखि नै ओली, प्रचण्ड र माधव नेपालको सम्बन्ध तिक्ततापूर्ण भएको उनले स्मरण गरे ।

उनले भने, ‘प्रचण्डबाट ओली कांग्रेससँग अहिले मिल्न जाँदा पनि सम्बन्ध झन् बिग्रिएको जस्तो देखिएको छ । त्यसको प्रभाव अहिले भाषणमा सुनिन्छ । त्यस्तो अवस्थामा विद्या भण्डारी नेतृत्वमा आउँदा तिक्तता कम हुने देखिन्छ, तर विद्याले चाहेरमात्रै हुँदैन होला, एमालेको नेतृत्व र कार्यकर्ता पंक्ति पनि तयार हुनुपर्‍यो ।’

Comments

3 responses to “प्रचण्डले खेलेको ‘पासाङ पासा’, विद्या भण्डारीको नेतृत्वमा कम्युनिष्ट एकताको आशा ?”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्यालाई एमालेमा आए राम्रो भन्ने बाहिरका भनेका दिल्लीले भाडामा पालेका पाल्तु हुन् । एमालेकैले राम्रो भनेमा ती चरम स्वार्थी, भ्रष्टाचारी र अनैतिक हुन् । विद्या एमालेमा आईन भने त्यो जस्तो ईतिहासकै अनैतिक काम केही हुँदैन । विदेशीको लागि काम गर्ने भाडाका टट्टु माओवादी त जे पनि गर्छ । त्यस्ता लाज शरम पचेका फटाहाहरूजस्तै बन्न त कसले बाटो छेकेको छ र ? दुई पटक राष्ट्रपति भएर फेरि पद खान लाज लाग्दैन ?

  2. ksp pyl Avatar
    ksp pyl

    सौरभ नाम गरेका एकजना कथित विश्लेषक छन् । उनको दैनिक खेती कसैका लागि ओलिको विरोध गर्नु हुन्छ । तर तिनै सौरभ ओलिको गुणगान गाउन बाध्य भए । उनले ओलिलाई २००७ सालपछि नेपालका कुनै प्रधानमन्त्रीले गर्न नसकेको काम ओलिले गरे भनेर भने , बाध्य भएर, मन नलागि नलागि। ओलिले गरेको चीनसँगको पारवहन सम्झौता, बिआरआई सम्झौता नेपालको लागि दूरगामी महत्वका हुन् । ती काम अरू कुनै प्रधानमन्त्रीले गर्न सकेनन किनकी ती कुनै न कुनै रूपमा भारतसँग डराउथे वा भारतका दलाल थिए ।नेपालको हितको लागि चीनसँगको पनि सम्बन्धलाई, पहुँचलाई नबढाई हुँदै हुँदैन । तर त्यो काम ओलिले गरे भनेर सौरभ भन्न बाध्य भए । यस्ता प्रधानमन्त्री ओलि भारतको लागि टाउको दुखाईको विषय भएका छन् किनकी भारतलाई थाहा छ ओलि भईन्जेल नेपाललाई दास बनाउन सकिँदैन । सूर्यबहादुर थापा पछि नेपाललाई सबैभन्दा बढी दास बनाउन पाएको भनेको प्रचण्डको पालामा हो । त्यसैले भारत, प्रचण्ड ओलिलाई सिध्याउन अनेक हतकण्डा प्रयोग गरिरहेका छन् । त्यसैको प्रयास हो पासाङ्लाई उपाध्यक्ष बनाएर विद्यालाई एमालेमा आउन सजिलो बनाउन घाँस देखाईदिएको । प्रचण्डहरूमा त न नैतिकता छ, न लाज छ ।ती त जे पनि गर्छन् । नेपालविरूद्व दलाली गर्न खोलेको हो प्रचण्डले माओवादी ।त्यो विशुद्व भारतले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्न र नेपालका राष्ट्रवादी लाई सिध्याउन खोलेदिएको दलाल पार्टी हो । पासाङ्लाई उपाध्यक्ष बनाउनु भनेको विद्यालाई एमालेमा छिर्न सजिलो पार्न हो । विद्यालाई एमालेमा छिराउन पाए भाँडभैलो गराउन सकिन्छ भन्ने भारतलाई परेको छ । चरम लोभी, स्वार्थी, आफ्नो क्षमताले नभएर पहिले सेतो सारी र पछि ओलिको दयाले नेतादेखि राष्ट्रपतिसम्म बनाई दिएकाले उनमा पदको भूत सवार भएको देखिन्छ। त्यसमा पनि गोकुल बास्कोटा, कर्ण थापाजस्ता स्वार्थीहरूले उचालिरहेका छन् । तर के बुझ विद्या तिमी भने एमालेमा आयौ भने त्यो दिन इतिहासकै कालो दिन हुनेछ । त्यसपछि तिमी त माटोमा मिल्ने छौ किनकी तिमीसँग कुनै क्षमता छैन साथसाथै एमालेमा पनि भाँडभैलो हुनेछ । त्यसैले चुपलागेर राष्ट्रको कुरा गरेर बस विद्या । पार्टीतिर आँखा पनि नलगाउ ।

  3. Pushker Kadel Avatar
    Pushker Kadel

    राष्ट्रपति तथा उपराष्ट्रपति जस्तो गरिमामय सर्वोच्च पदमा पुगिसकेको मान्छे फेरि पार्टी राजनीतिमा सक्रिय हुन खोज्नु भनेको आफ्नो महत्त्व नबुझेर उल्टो बाटो हिड्नु हो। यो कुरो नन्दबहादुर पुनले बुझ्ने क्षमता देखाएनन् तैपनि प्रचण्डलगायतका केही मान्छे विद्यादेवी भण्डारीलाई त्यही उल्टो बाटो हिंडाउन प्रयास गरिरहेका छन्। भण्डारीलाई एमाले भित्र र बाहिरबाट भड्काउन थालिएको छ। चेतना भया!

Leave a Reply

Your email address will not be published. Required fields are marked *