काठमाडौं । रास्वपाबाट निष्कासित तत्कालीन महामन्त्री डा. मुकुल ढकाल पछिल्लो समय अत्यधिक गाली खाने युवा नेतामा दरिएका छन् । कांग्रेस नेता गगन थापालाई आउनेभन्दा चर्का गालीहरु उनको स्टाटसमा भेटिन्छन् ।
आज पनि मुकुल ढकालले दुईतीन वटा स्टाटस लेखे जसमा गालीको वर्षा छ । उनलाई कतिले अस्पताल भर्ना हुन भनेका छन् त कतिपयले आरआईपी लेखेर रिस पोखेका छन्, तर ढकाललाई भने सुर्ता छैन । बरु यो गालीबाट भएको ‘नाफा’को हिसाब गरिरहेका छन् उनी । ढकालको पछिल्लो स्टाटसमा ‘जानी जानी गाली खाने स्टाटस लेखिरहेको’ भाव व्यक्त भएको छ ।
‘बौद्धिक व्यक्तिहरूका लागि’ भन्दै आफ्ना स्टाटसहरुबारे उनले दिएको प्रष्टीकरण यस्तो छ:
‘पछिल्लो समय केही बढी स्टाटस राखिराखेको छु । यी अरिङ्गालको गाली खानका लागी जानी-जानी राखिरहेको छु । भाग्यलाई विश्वास गर्ने हो भने, यी अरिङ्गालले जस-जसलाई गाली गरेका रहेछन्, ती व्यक्ति यो देशको प्रधानमन्त्री हुने रहेछन् । वैज्ञानिक दृष्टिकोणमा चैँ, सामाजिक सञ्जालको अल्गोरिदममा यिनहरूले गरेको गालीको कारण, मेरो नाम सेट हुन्छ । यति गर्न लाखौं खर्च गर्नपर्ने हुन्छ, जुन फ्रीमा भइरहेको छ । तसर्थ मेरा पछिल्ला स्टाटसहरूलाई त्यसैअनुरूप हेरिदिन अनुरोध गर्दछु । नेता बन्न छाला मोटो हुनपर्छ भन्छन्, यिनरले मेरो छाला पनि मोटो बनाइदिँदैछन् । मस्तले गाली गरून्, केही फरक पर्दैन, फाइदा नै हुन्छ ।’
यी अरिङ्गालहरूलाई कुनै बेला आफूले प्रयोग गरेको र आजकाल आफूविरूद्ध प्रयोग भइरहेको ढकालको दाबी छ ।
‘राजनीति गरेको छोटो समयमा नै, अरिङ्गाल प्रयोग गर्ने रणनीति लिएर पाप गरेको रहेछु, त्यही पाप यिनरको गालीले पखालिँदैछ । कर्मको फल हो, भोग्न त मैले पनि पर्छ’, उनले लेखेका छन् ।
ढकालले आफूले चाहेको भए सजिलैसँग सांसद र मन्त्री २०७९ मा नै बन्ने अर्को दाबी गरेका छन् ।
मित्र र शुभचिन्तकहरूलाई सम्बाेधन गर्दै उनले लेखेका छन्, ‘तपाईंहरुलाई थाहै छ, म सजिलैसँग सांसद र मन्त्री २०७९ सालमै बन्थेँ । जानी-जानी नबनेको हो, किनकि मैले सिक्नु छ । सांसद र मन्त्री सिकेपछि जाने पद हो, सिक्नलाई जाने होइन भन्ने मेरो मान्यता हो । उमेर मेरो सानै छ, जिन्दगीको बाँकी समय देश र जनताका लागि नै दिने हो’, उनी लेख्छन् ।

Leave a Reply