तीनकुने आन्दोलन: तोडफोड र आगजनी गर्नेहरु अधिकांश गैरराजावादी र यातायात मजदुर

काठमाडौं । गत चैत १५ को राजावादी आन्दोलनमा वितण्डा मच्चाउनेहरुमध्ये अधिकांश गैरराजावादी रहेको पाइएको छ । विभिन्न स्थानमा तोडफोड र आगजनीमा संलग्नहरु धेरैजसो यातायात मजदुर रहेको प्रहरी स्रोतले बतायो ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अहिलेसम्म उक्त घटनामा संलग्न २८ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये राजनीतिक पृष्ठभूमिका १० जनामात्रै छन् । बाँकी सबैजसो यातायात मजदुरहरु हुन् । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ११, जडिबुटीमा वितण्डा मच्चाउने ४ र अन्य १३ जना पक्राउ परेका छन् ।

घटनाकै दिन राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए । आज मंगलबार शाही युवा शक्तिका उपाध्यक्ष दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् । यसमध्ये सवारीसाधनको तोडफोड र आगजनीमा अलग्गै प्रवृत्ति देखिएको अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बताउँछन् ।

‘उनीहरू राजा-प्रजा वा कुनै राजनीतिसँग मतलब नभएका, विशुद्ध रमाइलोका लागि निस्किएका थिए’, जिसीले भने ।

सोमबार सार्वजनिक गरिएका सिन्धुपाल्चोकको बाह्रबीसे- ९ का २७ वर्षीय कुमार तामाङ डेलिभरी भ्यान चलाई जीवनयापन गरिरहेका व्यक्ति हुन् । उनले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगो लगाउने तथा जडिबुटी चोकमा रहेको ट्राफिक लाइट फुटाउनेसम्मको काममा अगुवाइ गरेका थिए । मनोहरा, बागमती कोरिडोर आसपास अनगिन्ती हलुका सवारीसाधन जलाउने काम पनि उनकै अगुवाइमा भएको हो ।

कुमारभन्दा केही दिनअघि पक्राउ परेका रामेछाप, गोकुलगंगा गाउँपालिका- ४ का २७ वर्षीय केशव बस्नेत र सिन्धुपाल्चोककाे सुनकोशी गाउँपालिका- ४ का २७ वर्षीय दिनेश खड्का कुमारकै टोलीका सदस्य हुन् ।

‘हड्ताल भएपछि ड्युटी गर्नुपरेन, अनि हामी रमाइलो गर्न भनेर निस्कियौं’, रामेछापका केशवले प्रहरीलाई भनेका छन् ।

प्रहरीका अनुसार आगजनीका नाइके कुमार थिए भने केशव र दिनेशले उनको मतियारी गरेका हुन् । कुमार सवारी चालक हुन् भने केशव र दिनेश सहचालक ।

‘उनीहरूले कसैले अह्राएर वा कसैको उक्साहटमा त्यस्तो काम गरेको पाइएन’, अनुसन्धानरत एक प्रहरी अधिकृतले भने, ‘यिनलाई न कुनै राजावादीले चिनेका छन् न त यिनीहरूलाई राजनीतिसँग मतलब छ ।’

तर जेजस्तो अवस्थामा त्यस्तो कसुर गरेको भए पनि उनीहरू कानूनतः दण्डित हुने ती प्रहरी बताउँछन् । ‘राजावादी होइनन् भन्दैमा उनीहरू निर्दोष हुन् भन्न मिल्दैन’, उनले भने ।

आगजनीका घटनामा सक्रिय अर्का व्यक्ति हुन्, सुशील बराल । उनी मुनिन्द्र राजभण्डारी नेतृत्वको एनिटाइम फोर्स (एटीएफ)का महासचिव हुन् ।

मुनिन्द्र प्रदर्शनकै दिन पक्राउ परेका थिए । त्यसको केही दिनपछि पक्राउ परेका सुशीलले नेकपा एकीकृत समाजवादीको कार्यालय, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर र बालकुमारीस्थित कोरिडोरमा देखिएका हलुका सवारीसाधनमा आगजनी गर्ने कामको अगुवाइ गरेका थिए । (हेर्नुहोस् सीसीटीभी फुटेज)

ताप्लेजुङको फुङ्लिङ नगरपालिका- ३ स्थायी ठेगाना भएका २३ वर्षीय बराल उच्च शिक्षा हासिल गर्न काठमाडौं आएका हुन् । सुशील एक समय माओवादीमा आस्था राख्थे । केही वर्ष वैदेशिक रोजगारीमा गए । फर्केर आएपछि ‘राजावादी’ भए । उनका बाबुआमा कोटेश्वरमा खाजाघर र गेस्ट हाउस चलाउँछन् । सुशील आफैं चाहिँ बेरोजगार हुन् ।

एटीएफका अध्यक्ष मुनिन्द्र नेपाली सेनाको उपसेनानी (सेकेन्ड लप्टन) दर्जामा भर्ना भई क्याप्टेन दर्जाबाट राजीनामा दिएर सक्रिय राजतन्त्रको अभियानमा सामेल छन् । जागिर नछाडेको भए यतिबेलासम्म उनी फुल कर्णेलदेखि एकतारे जर्नेलसम्मका हकदार हुन्थे । राजतन्त्रको पक्षमा लडाकु दस्ता निर्माण गर्ने क्रममा उनले आफू जस्तै तालिमप्राप्त जनशक्ति जुटाउनेतर्फ ध्यान दिएनन् । फलतः त्यस्तो संस्थामा आवद्ध व्यक्तिले गरेका काम आपराधिक शैलीमा परिणत भएको अनुसन्धानरत प्रहरीको निष्कर्ष छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *