राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्ने बुद्धिमानको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीलाई पेलानमा पार्न खोजिएमा विद्रोह गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया नै त्यागेको घोषणा गर्न सक्ने उनको भनाइ छ ।

आज आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै तामाङले राष्ट्रिय सहमतिबाट एजेन्डा स्थापित होस भन्ने पार्टीले चाहेको उल्लेख गरे । राप्रपाले शान्तिपूर्णरूपमा आन्दोलन गर्ने र ‘जेल भर’ अभियान चलाउन समेत तयार हुने उनले बताए ।

तामाङले थपे, ‘सदन र सडक दुवैबाट पार भएन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीले यो संविधानसँग सहकार्य गर्ने बाटो अख्तियार गरेकोमा अब यो बाटो छोडेर पूरा संघर्ष र विद्रोहको बाटो लिनुपर्ने अवस्था आउनेछ । यही मञ्चबाट भन्न चाहन्छु, राप्रपालाई यस्तै पेल्ने हो भने विधिवत प्रेस सम्मेलनमार्फत चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीतिक सुरु गर्छ ।’

पार्टीका नेताहरूलाई झूटो मुद्दा लगाएर नफसाउन उनले चेतावनी दिए । फरक विचार र संविधानमा नभएको कुरा बोल्दैमा हत्कडी लगाउने हो भने केपी ओली र प्रचण्डलाई लगाउनुपर्ने तामाङले बताए ।

‘ओलीले संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । प्रचण्डले कार्यकारी राष्ट्रपतिको माग गरेर हिँड्नुभएको छ । उहाँहरूलाई पनि गिरफ्तार गरेर थुन्नुपर्छ,’ उनले भने, ‘हाम्रा साथीहरूलाई राजसंस्था पुन:स्थापनाको कुरा गर्दा संविधानविपरित भनेर मुद्दा लाग्ने, उनीहरूलाई नलाग्ने किन ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *