एनी कुँवरको बयान- म सँगैको मुखुण्डोधारीलाई चिन्दिनँ, हाम्रो भिडिओ भोजराज थापाले पठाएको हो

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा शंकास्पद भूमिका भएको भन्दै पक्राउ परेकी पूर्वपत्रकार एनी कुँवर (अनिता) ले प्रहरीलाई इन्कारी बयान दिएकी छन् ।

चैत १५ को प्रदर्शनका क्रममा आगलागी भएको तीनकुनेस्थित घरभित्र देखिएको र त्यस क्रममा उनका विभिन्न गतिविधि झल्किने भिडिओ बाहिरिएको थियो । त्यही घरमा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक मृत भेटिएका थिए । कुँवर सोही टेलिभिजन सम्बद्ध पूर्वपत्रकार हुन् ।

घटनापछि फेसबुकमा स्टाटस लेख्दै आफ्नाे प्रष्टीकरण दिएकी उनी त्यसपछि सम्पर्कविहिन बनेकी थिइन् ।  सोमबार प्रहरीले कुँवरलाई ललितपुरको थैबमा फेला पारेको हाे । उनी साथीका आफन्तको घरमा थिइन् ।

सादा पोशाकका महिला प्रहरीले उनलाई भेट्नासाथ आफूहरु प्रहरी भएको बताए । कुँवरले ‘आइएम मिडिया पर्सन, मलाई तपाईंहरुले यसरी समात्न मिल्दैन’ भन्दै प्रतिकार गर्न खाेजिन्।

उनले प्रहरीलाई भनिन्, ‘म पीएसडीको तयारी गर्न यहाँ बसेको, यस्तो अवस्थामा मलाई किन समात्नुहुन्छ ?’

त्यहाँबाट उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिइन् । उनले त्यहाँ आफ्ना व्यक्तिगत विवरण सुनाइन्, ‘उमेर ३० वर्ष, स्थायी ठेगाना- काभ्रेपलान्चोक जिल्ला, नमोबुद्ध नगरपालिका, वडा नं. ३, अहिले कलंकीमा बस्छु ।’

प्रहरीले सोध्यो, ‘त्यसदिन आगो लागेको घरमा किन पस्नुभएको ?’

उनले जवाफ दिइन्, ‘पत्रकारिताको लागि गएको हाे, म घरभित्र छिर्दा आगो लागेको थिएन ।’

उनले आफू कुनै दल, समूह वा आन्दोलनको पक्षमा नभएर पत्रकारका रुपमा मात्रै गएको दावी गरिन् ।

प्रहरीको अर्को प्रश्न थियो, ‘उक्त घरभित्र तपाईं छिर्दा घरको गेट अगाडि आगो लागेको थियो कि थिएन ?’

उनले आफू छिर्नुअघि नै भिडले आगो लगाइसकेको बताइन् । उक्त घरभित्र छिर्दा आफूसँग कोही पनि नभएको उनले भनाइ थियाे ।

कुँवरले भनिन्, ‘मभन्दा अगाडि धेरै मानिस घरभित्र छिरिसकेका थिए ।’

उनले क्यामेरा पर्सन रजक र आफू सँगै नछिरेको बताइन् ।

एनीले भनिन्, ‘सुरेश रजकले भिडिओ बनाइरहेको घरको ढोकाभित्र पहिल्यै ताला लगाइएको थियो । त्यहाँ सुरेश छन् भन्ने मलाई जानकारी पनि थिएन र उनलाई देखेको पनि थिएनँ ।’

प्रहरीले फेरि सोध्यो, ‘भिडिओमा देखिएअनुसार घरबाट झर्दै गर्दा तपाईंसँगै मुख छोपेर तल झर्ने मान्छे को हुन् ?’

उनले नचिनेको बताइन् । उनले आफ्नो भिडिओ बनाउने मान्छे पनि नचिनेको बताइन् ।

उनको जवाफ थियो, ‘म घरको तल झर्दै गर्दाको भिडिओ खिच्ने मान्छेले हेलमेट लगाएको थियो, नीलोमा रेड कलरको लाइन भएको आईडी कार्ड लगाएको थियो, अग्लो अग्लो मान्छे, जिन्सको पाइन्ट र क्रिम कलरको भेस्ट लगाएको थियो । सुरुमा उक्त भिडिओ फेसबुकमा रकस्टार राजन खड्गी भन्ने मान्छेले हालेको हो । मैले राजन खड्कीसँग कुरा गर्दा मैले उक्त भिडिओ भोजराज थापासँग लिएको हो भन्यो । भोजराज थापाले सबै मिडियालाई भिडिओ पठाएको हो र उक्त भिडिओ भोजराज थापाकै कुनै सहकर्मी (पत्रकार साथी) ले खिचेको हो ।’

उनले कार्यक्रमस्थलको मञ्चमा भिडिओ बनाउँदै गर्दा एक वक्ताले भिडलाई भड्काउने गरी अभिव्यक्ति दिएपछि आफूले उनकै माइक तानेर सहभागीलाई ‘शान्त रहनुस्, नराम्रो शब्द  नबोल्नुस्’ भनेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *