नेकपा जोगाउन नसकेको स्मरण गर्दै प्रचण्डले भने- फेरि एकता असम्भव छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार, बहस, विवाद र संघर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएको बताएका छन्।

प्रगतिशील लेखक संघको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गरे।

उनले भने, ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ। दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ। र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ। हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन। हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ।’

उनले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाए।

उनले भने, ‘हामी विभाजित पनि भयौँ, एक अर्कापनि तितो आलोचना पनि भइरहेका छन्। तर पनि एकताको झण्डा चाहिँ छाडेको छैन। वामपन्थीहरूले एक ठाउँमा आएर बहस गर्दै अगाडि बढ्नुपर्छ, एकताको झण्डा चाहिँ छोड्न हुँदैन भन्नेमा प्रष्ट छौँ। हाम्रो पार्टीले एकतमले पारित गरेको छ। हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुँदैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *