काठमाडौं । शाही युवा शक्तिका उपाध्यक्ष दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ को राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा उनी पक्राउ परेका हुन् । उनीसँगै प्रदर्शनसँग सम्बन्धित अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले श्रेष्ठलाई पक्राउ गरेको एसपी अंगुर जिसीले बताए । उनी काठमाडौंको तारकेश्वर नगरपालिका- ९ का बासिन्दा हुन् ।
उनले चौधरी ग्रुपमा १२ वर्ष प्राविधिककारूपमा काम गरेको प्रहरीलाई बताएका छन् । त्यहाँ काम गर्ने क्रममा जनसम्पर्क विस्तार भएको र तत्कालीन राजाको पक्षमा मानिस परिचालन गर्न थालेको उनले बताएका छन् ।
उनी अहिले सामाखुसीमा विभिन्न व्यवसायमा संलग्न छन् ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का यसअघि नै पक्राउ परेका थिए ।
चैत १५ को प्रदर्शनलाई उत्तेजित बनाउने दुर्गा प्रसाईंसहितका केही मानिसको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सन्तोष राजावादी (सिलवाल) र वसन्तविक्रम पाण्डेको खोजी पनि तीव्र पारिएको प्रहरीले जनाएको छ । सेनाका पूर्वक्याप्टेन एनिटाइम फोर्स (एटीएफ) का अध्यक्ष मुनिन्द्र राजभण्डारीलाई यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

Leave a Reply