स्पेनमा फरफरायो नेपाली झण्डा (तस्बिरहरु)

स्पेन । विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपाली तथा विदेशी छमछमी नाचेका छन् ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हेर्नेहरु खचाखच थिए ।

नौमति पञ्चैबाजाको जीवन्त धुनमा पर्यटकहरु कम्मर मर्काउदै नाचे । आइतबार साँझ करिब ५ घण्टा चलेको कार्यक्रम नेपाली कला संस्कृति देखाउने थलो बनेको थियो ।

दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर युवाहरु सजिएका थिए । चौबन्दी चोलो, गुन्यु, फरिया, गुन्यू, हाकु पटासी, घलेकी लगाएर नौगेडी, शिरफूल, शिरबिन्दू, ढुंग्री, झुम्का, तिलहरी, बुलाँकी, बाला, चुरामा सजिएका बालिकाहरु,महिलाहरुले नेपाली गाउँको झल्को दिएका थिए ।

तिम्रै हो म भरोसा गरन, माया भए आउनु है भेटुम, झ्यालमा पर्दा छ, आफ्नो माया आँफै समाल, संसारमा सबैभन्दा सुन्दर नेपाल लगायतका दर्जन बढी गीतमा नृत्य देखाइएको थियो ।

स्पेनमै हुर्किदै गरेका नेपाली बालबालिका नेपाली पोशाकमा सजिएर मञ्च उक्लिदा धेरैको ध्यान खिच्यो । बाल कलाकार रिजन अधिकारीले अंग्रेजीमा निर्धक्क नेपालबारे सुनाए ।

विदेशीहरुले ध्यान दिएर सुने । नेपाली पाठशाला बार्सिलोनाले स-साना बालबालिकाहरुलाई नेपाली कला संस्कृति सिकाउदै आउने गरेको छ । पाठशालाका ससाना बाबुनानीहरुले नेपाली मौलिक गीतमा नाचे ।

नेपाली राजदूत शनिल नेपालले नेपालीहरुको एकता देखिदा गौरव लागेको बताए ।

´नेपाल चिनाउने यस्तै कार्यक्रमहरु भैरहनुपर्छ`, उनले भने, ´नेपाल कला, संस्कृतिको धरोहर हो`ऽ आयोजक संस्थाका अध्यक्ष विशाल ढुंगानाले विश्वमाझ नेपालको कला, संस्कृति फैलिने वातावरण बनेको बताए ।

‘साग्रदा फामिलया आएका विश्वका पर्यटकहरु मन खुलेर नेपाली गीतमा नाचे’, उनले भने, ‘नेपाली भेषभुषा, नृत्य धेरैले आआफ्नो क्यामेरामा कैद गरे ।’ सन् २०१८ देखि जनप्रगतिशील मञ्चले नयाँ वर्ष र दशै-तिहारमा वर्षेनि २ पटक पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आएको छ ।

साग्रदा फालिमिया को सन् १८८२ मा निर्माण थालिएपनि हालसम्म पूरा भएको छैन । निकै आकर्षक वास्तुकलाले भरिएको यो चर्चले कलाको जीवन्त ईतिहास देखाउँछ । साग्रदा फामीलीयाको परिसर नेपाली मेला-महोत्सवझैँ बनेको थियो ।

जनप्रगतिशील मञ्चका युरोप उपाध्यक्ष गंगा भुषालले नेपालले नेपालको पर्यटन विकासमा प्रवासी नेपालीहरु सक्रिय बनेको बताए । कार्यक्रम परिसरमा नेपाली गन्तव्य चिनाउने पम्पलेट, ब्रोसरहरु सहितको टुरिजम इन्फो सेन्टर राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *