काठमाडौं । राजसंस्था पुनःस्थापनाको साझा अभियान लिएर हिँडेका राजावादी शक्तिहरु आपसमै मिल्न सकिरहेका छैनन् । मुखले सहकार्य र एकताको कुरा गरिरहे पनि पनि राजावादीहरु आआफ्नै डम्फु बजाएर नाचिरहेका छन् ।
राजसंस्थाको वकालत गर्ने सबैभन्दा ठूलो वैधानिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो, जसले भोलि काठमाडौंमा जनप्रदर्शन गर्दैछ । यो जनप्रदर्शनमा उसले सबै पार्टीका राजसंस्था पक्षहरुहरुलाई सहभागी हुन अपिल गरिरहँदा अर्को राजावादी दल राप्रपा नेपालले भने अर्थपूर्ण मौनता साँधेको छ ।
आज बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चारवटा निर्णय गर्यो । गत चैत १५ गते भएको राजावादी आन्दोलनका विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने उसको पहिलो निर्णय छ । यस्तै सो आन्दोलनपछि पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहा गर्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।
राप्रपाको तेस्रो निर्णय छ, डा. जगमान गुरुङको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई पूर्ण रुपले सहयोग र समर्थन गर्ने । उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपाले पार्टी पंक्तिलाई अपिलसमेत गरेको छ ।
चौंथो निर्णय पनि यसैसँग सम्बन्धित छ । गुरुङको जनआन्दोलन समितिले चैत २७ गते गर्न लागेको प्रतिबद्धता-सभालाई सफल बनाउन सक्रिय सहयोग गर्ने निर्णय हो ।
यसरी संयुक्त जनआन्दोलन समितिलाई खुलेर समर्थन जनाएको राप्रपा नेपालले भोलि राप्रपाले गर्ने आन्दोलनका विषयमा कुनै निर्णय गरेन । बैठकपछि जारी विज्ञप्तिमा राप्रपाको आन्दोलनबारे एक शब्द पनि उल्लेख गरिएको छैन ।
खासमा राप्रपाकै बाइप्रडक्ट हो राप्रपा नेपाल । कमल थापाले राप्रपाबाट अलग भएर गठन गरेको यो पार्टी अस्तित्वको संघर्षमा छ । पार्टी विभाजन भएदेखि नै राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष थापा त्यसबेलादेखि नै जुँगाको लडाइँमा छन् । पछिल्लो समय थापाले राप्रपासँग कार्यगत एकताका लागि प्रयास गरे पनि लिङदेनले उनलाई भाउ दिएनन् । त्यसैले राप्रपाले गर्ने आन्दोलनप्रति थापा निरपेक्ष बन्न पुगेका हुन् ।
आज उनले एउटा फेसबुक स्टाटस लेख्दै लिङदेनप्रति सांकेतिक टिप्पणी गरेका छन् ।
थापाको स्टाटस यस्तो छः
राजा, हिन्दू राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा सधैंको निम्ति समाप्त पार्ने षड्यन्त्र भइरहेको यो बेला व्यक्तिगत कुण्ठा, स्वार्थ र महत्वाकांक्षाभन्दा माथि उठेर आफ्नो विचारको प्रतिरक्षा गर्न तथा हिन्दू अधिराज्यको पक्षमा एकजुट हुनु जरुरी छ ।
‘को संयोजक, कसको नेतृत्व, को ठूलो’ सबै गौण विषय हो । डा.जगमानको संयोजकत्वमा गठित ‘संयुक्त जनआन्दोलन’को अभियानप्रति प्रतिबद्धता जनाउन भेला हौं ।
यो स्टाटसमा पनि थापाले राप्रपाको भोलिको आन्दोलनको चर्चै गरेका छैनन् । जबकि त्यसको भोलिपल्ट हुने संयुक्त जनआन्दोलन समितिको कार्यक्रमलाई महत्व दिएका छन् ।
अरुलाई व्यक्तिगत कुण्ठा, स्वार्थ र महत्वाकांक्षाभन्दा माथि उठ्न उपदेश दिएका थापा आफैं यसबाट माथि उठ्न नसकेको टिप्पणी राप्रपाका एक नेताले गरे ।
‘उहाँले जुन उपदेश अरुलाई दिनुभएको छ, त्यो आफूमा लागू गर्न सक्नुभएन’, ती नेताले भने, ‘नत्र भने भोलि राप्रपाले गर्ने आन्दोलनलाई खुलेर समर्थन जनाएर सबैलाई सहभागिताका लागि अपिल पनि गर्नुपर्थ्यो ।’
राप्रपा नेपालले भने झण्डालाई कारण देखाएको छ । यसअघि राप्रपा नेपालको कार्यसम्पादन समिति बैठकले समान विचार भएका कुनै पनि संगठन वा पार्टीले राजसंस्था पुनःस्थापनाका खातिर राष्ट्रिय झण्डा बोकेर गर्ने आन्दोलनमा सक्रिय सहभागिता हुने निर्णय गरेको थियो, तर अन्य पार्टीको ब्यानर र झण्डा प्रदर्शन हुने कार्यक्रममा भने भाग नलिने नीति पार्टीले बनाएको छ ।
राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौला भन्छन्, ‘अन्य पार्टीले आफ्नो झण्डासहित गरेको प्रदर्शनमा हामीले भाग लिन मिल्दैन, तर नैतिक समर्थन भने रहन्छ ।’
राप्रपाको आन्दोलनलाई राप्रपा नेपालले घोषित रुपमा नैतिक समर्थन पनि जनाएको छैन ।
यस विषयमा बर्तौलाको तर्क छ, ‘हामीले पहिल्यै नीतिगत रुपमा निर्णय गरिसकेको विषय भएको हुँदा यसपालि फेरि दोहोर्याइरनु परेन । हाम्रो मौन रुपमा समर्थन छ ।’
हाल डा. जगमान गुरुङले नेतृत्व गरिरहेको जनआन्दोलन समितिले भने राप्रपाको आन्दोलनलाई सहयोग गर्ने बताएको छ । उनले हिजो एक विज्ञप्ति जारी गरी राप्रपाको आन्दोलनमा नैतिक समर्थन र सक्रिय सहभागिता रहने जनाएका छन् ।

Leave a Reply