अखिल क्रान्तिकारीबाट बिदाइपछि एक तह बढुवाको निर्णय स्थगित, संगठनका पूर्व नेता असन्तुष्ट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी पदाधिकारीको चैत १८ र १९ मा पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले यसअघि विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरेर स्थानान्तरणको सिफारिसलाई भने स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले उनीहरूलाई विगतमा जुन तहमा रहँदै काम गरेका थिए, सम्बन्धित क्षेत्रको सोही तहमा पार्टी कमिटीमा संगठित गर्ने सुनिश्चित गर्ने र केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको निर्णय गरेको थियो ।

संगठनका पूर्व अध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हिमाल शर्माले पदाधिकारी बैठकको उक्त निर्णयमा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाउँदै यस अघि भइसकेको निर्णयबाट फर्किनु प्रतिगमन सरह हुने टिप्पणी गरेका छन् ।

उनले लेखेको छन्, ‘अगाडि बढेको कुनै पनि निर्णय पछाडि फर्काउनु प्रतिगमन सरह हुन्छ । केन्द्रिय प्रतिनीधिको हकमा आगामी बैठकमा बन्ने महाधिवेशन आयोजक समितीमा समायोजन हुने नै छ । विदा भएका विद्यार्थीको हकमा ।’

३२ वर्षे उमेर हदका कारण बिदाइ भएका संगठनका पूर्व उपाध्यक्ष पवन कार्कीले पनि सामाजिक सञ्जालबाटै असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमार्फत यस अघि केन्द्रीय समितिको निर्णयबाट पछि हट्नुले पार्टी भित्र युवालाई निषेध गर्न खोजेको भन्दै केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनले लेखेको छन्, ‘विद्यार्थी संगठन बाट उमेरहदका कारण बिदा भएका युवाहरु जसले आफ्नो जीवनको दसकौं वर्षको उर्जाशिल समय पार्टी संगठन लाई समर्पित गरे तिनै युवा कमरेडलाई पार्टीमा उचित जिम्मेवारी दिने भनि पार्टीको आठौं केन्द्रिय समिति बैठकको निर्णय, पदाधिकारी बैठकको गत माघ २७ को निर्णय र गत फागुन १३ गतेको पार्टी केन्द्र्को परिपत्र अनुसारको जिम्मेवारी साथै कार्यदलले समेट्न नसकेका र जथाभावी स्थानान्तरण गरिएका कमरेडको जिम्मेवारी मिलानको बारेमा छलफल चलिरहेको बेला उक्त निर्णयको बिपरित हिजो चैत्र २४ गते पार्टी कार्यालयको निर्णय भनेर आएको परिपत्रले पार्टी भित्र युवालाई निषेध गर्नेगरि पार्टी केन्द्रिय समितिको निर्णयबाट पछाडि हट्ने गरि गरिएको सो परिपत्र तत्काल सच्याउन र विद्यार्थीबाट उमेर हदका कारण बिदा हुनुभएका सम्पुर्ण कमरेडको जिम्मेवारी ठोस गरि केन्द्रिय समितिको निर्णय कार्यान्वयन गर्नुहुन पार्टी नेतृत्व को गम्भिर ध्यानाकर्षण गर्दछु ।’

पार्टी उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंह सहित तीन सदस्यीय कार्यदलले अखिल (क्रान्तिकारी)बाट बिदाई भएका पदाधिकारी तहका नेतालाई एक तह बढुवा गर्न सिफारिस गरेको थियो ।

जसअनुसार संगठनको उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सविचवदेखि कोषाध्यक्ष सम्मका लागि प्रदेश सदस्य बनाउन सिफारिस गरेको थियो । त्यसै अनुसार पार्टीले निर्णय गरेर नै नामावलीसहित यस अघि परिपत्र गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *