कांग्रेस कार्यालयमै दलित महिला वडा सदस्यमाथि जातीय विभेद र दुर्व्यवहार

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा सोही पार्टीबाट निर्वाचित दलित महिला वडा सदस्यमाथि छुवाछुतको व्यवहार गरिएको भन्दै नेपाल दलित संघले कारवाहीको माग गरेको छ ।

चैत २१ गते पाँचखाल नगरपालिका वडा नम्बर १३ वडा सदस्य विश्वकर्मालाई सोही वडाकी यमुना नरालको घरमा रहेको कांग्रेस वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा घरधनी नरालले जातीय विभेद र छुवाछुतलाई प्रोत्साहन गर्ने शब्दसहित तथानाम गाली गरेको आरोप दलित संघले लगाएको छ ।

दलित संघ काभ्रेका सभापति उस्पार सुनारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै दलित वडा सदस्यमाथि जातीय विभेद गर्नेउपर प्रचलित कानून बमोजिम कारवाहीको माग गरेका छन् ।

पार्टी कार्यालयमा पुगेकी वडा सदस्य विश्वकर्मालाई नगरपालिकाकै स्वास्थ्य स्वयंसेविका समेत रहेकी नरालले जातीय विभेदयुक्त अत्यन्त निकृष्ट शब्द प्रयोग गर्दै अपमानित गरेर थुकेको वडाध्यक्ष सुकराम तामाङले बताए ।

उनले भने–विमलाजीले मलाई तपाईले नै भोट दिएर जिताएको हो के भन्नुभएको दिदी भनेर प्रतिवाद गर्दा पनि यमुनाजी रोकिनुभएन । माफी मागेर छाड्दिन्छु भन्दा पनि उहाँले यो कमिनीसँग माफी माग्दिन भन्दै तुच्छ तहमा उत्रिएपछि प्रहरीले पक्राउ गरेर लगेको छ । दुवैजना कांग्रेसकै सदस्य भएकाले गाउँ ठाउँको कुरा मिलाउन खोज्दा पनि उहाँ मान्नुभएन,अब कानून बमोजिम हुन्छ ।

पाँचखाल नगरपालिकाको न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर सुर्यमाया दनुवारले सो घटनाबारे आफूले जानकारी पाए पनि नगरपालिकामा लिखित नआएको र विरामी परेर आफू कार्यालय जान नसकेकाले थप जानकारी नभएको बताइन् ।

फरक पार्टीको कार्यालयमा भएको घटनाबारे आफूले अनावश्यक चासो दिन समेत नमिलेको उनले बताइन् । उपमेयर दनुवार एमालेबाट निर्वाचित हुन् । जातीय विभेद गर्ने घरधनी स्वास्थ्य स्वयंसेविका नराललाई प्रहरीले पक्राउ गरेर म्याद थप गरिसकेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *