काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्न आह्वान गरेको नयाँ बोलपत्र पनि विवादमा तानिएको छ । टेलिकमले बिलिङ प्रणाली खरिद गर्न एक वर्ष अगाडि बढाएको प्रक्रिया विवाद भएपछि पुनः बोलपत्र आह्वान गरेको थियो । उक्त नयाँ ठेक्का प्रणाली पनि विवादमा तानिएको हो ।
प्रतिस्पर्धा सीमित बनाएर निश्चित स्वार्थ समूहलाई ठेक्का पार्नेगरी टेण्डरको स्पेक तयार पारिएको भन्दै नयाँ टेण्डर रद्द गर्न बाँकी व्यवसायीहरू राजनीतिक लबिङ र कानूनी तथा प्रशासनिक प्रक्रियामा अघि बढेका छन् ।
यसअघि मार्च ३१, २०२४ मा निकालिएको टेण्डर विवादमा परेका कारण रद्द भएको थियो । उक्त टेण्डरको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले निर्देशनात्मक आदेश दिएपछि नयाँ टेण्डर (मार्च १८, २०२५) मा अह्वान गरिएको थियो । लामो समयदेखि विवादित बनेको टेलिकमको बिलिङको विषय फेरि विवादमै तानिएको छ ।
यसबारे छानबिनको माग गर्दै अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ । अधिवक्ता विक्रम थापाले टेलिकमको बिलिङ प्रणाली खरिद गर्न आह्वान गरेको नयाँ बोलपत्रबारे छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल टेलिकममै पनि उजुरी हालेका छन् ।
‘नेपाल टेलिकमबाट मार्च १८, २०२५ मा आह्वान भएको नयाँ एकीकृत बिलिङ प्रणाली सम्बन्धी बोलपत्रमा सार्वजनिक खरिदसम्बन्धी नियम, नेपाल टेलिकमको विगतको अभ्यास, अन्तर्राष्ट्रिय मान्यता आदिको आधारमा नेपाल टेलिकमबाट भएको त्रुटीको यथाशीघ्र आवश्यक छानबिन गरी सो बोलपत्रमा आवश्यक संशोधनको लागि उपयुक्त आदेश वा निर्देशन जारी गरी पाऊँ’, उनले उजुरीमा उल्लेख गरेका छन् ।
टेलिकमको बिलिङ प्रणाली खरिदसम्बन्धी बोलपत्र आह्वानबारेको विवाद यो पहिलो पटक भने होइन । यसअघि पनि अदालत, अख्तियारसम्म पुगेको यस विवाद अहिले फेरि सोही ठाउँ पुगेको छ ।
पुरानो गल्ती सच्याएर नयाँ गरेको आरोप
यसअघि आह्वान गरिएको बोलपत्रविद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्ता रिता कार्कीले नेपाल टेलिकमले आह्वान गरेको बिलिङ ठेक्का प्रणालीविरुद्ध अदालतमा रिट दायर गरेकी थिइन् । न्यायाधिशद्वय नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त ठेक्काबारे टेलिकमलाई निर्देशनात्मक आदेश जारी गरेको थियो ।
उक्त निर्देशनात्मक आदेश लामो समयसम्म पालना भने भएन । गएको भदौ २५ गते सर्वोच्चबाट भएको आदेश कार्यान्वयन लामो समयसम्म नभएपछि सर्वोच्चले यहि चैत १४ गते तोकेता पत्र नै काट्यो ।

सर्वोच्चको ताकेता नै टेलिकमले पुरानो बोलपत्र आह्वान रद्द गरेर नयाँ आह्वान गरिसकेको थियो । सर्वोच्चको आदेशपछि टेलिकमले पुरानो बोलपत्रमा गरेका केही गल्ती सच्याएर नयाँ बोलपत्र आह्वान गरेको छ । मे १८, २०२५ अर्थात् आउँदो वैशाख २४ गतेसम्मको समय दिएर आह्वान गरिएको नयाँ टेण्डरमा स्पेसिफिकेसन हेरफेर गरिएको छ भने डलरको भाउ अहिलेकै राखिएको छ ।
तर, टेलिकमले पुरानो गल्ती सच्याएपनि नयाँ शर्त राखेर पुनः आफूले चाहेको कम्पनीलाई टेण्डर दिन खोजको अधिवक्ता थापाको आरोप छ ।
‘टेलिकमले पुरानो गल्ती सच्याएपनि नयाँ गल्ती गरेको छ । त्यो सच्याउनु पर्छ’, उनले नेपाल प्रेससँग भने, ‘नयाँ बोलपत्रमा राखिएको शर्त हेर्दा जसरी पनि प्रतिस्पर्धा गर्न नदिने र आफूले चाहेका सिमित व्यक्तिलाई ल्याउन खोजिएको देखिन्छ ।’
उनका अनुसार नयाँ टेण्डर आह्वानमा हाल टेलिकमको नेटवर्कमा काम गरिरहेका कम्पनीहरु बिलिङ प्रणालीको ठेक्कामा सहभागी हुन पाउँदैनन । नयाँ बोलपत्रमा अदालतको आदेशको अपव्याख्या समेत गरिएको उनको आरोप छ ।
उनले भने, ‘सर्वोच्च अदालतबाट भएको अन्तिम आदेशमा स्वार्थ नबाझिने गरी बोलपत्र परिमार्जन गर्न सम्मानित अदालतबाट सर्वोपरी हितलाई विचार गरी निर्देशन भएकोमा उक्त मुद्दा नै नेपाल टेलिकमका केही पदाधिकारीहरुले आफैँले हाल्न लगाएको अनुभूति भएको छ । सम्मानित अदालतको निर्देशनको मनसाय र व्याख्याको अपव्याख्या गरी नेपाल टेलिकमका अन्य प्रतिस्पर्धी कम्पनीमा बिलिङ प्रणाली सप्लाई कार्य गरिरहेको भेण्डरले बोलपत्र आह्वानमा सहभागी हुन नपाउने व्यवस्था बदनीयतपूर्वक तथा व्यक्तिगत स्वार्थको लागि सम्मानित अदालत जस्तो मर्यादित र नियमनकारी निकायले दिएको आदेशको पूर्ण पालनाको बेवास्ता गरी आदेशको अपव्याख्या गरी स्ट्रिट डिक्लोजर एग्रिमेन्टे, स्ट्रिट पेनाल्टी क्लज आदिको व्यवस्था करारमा गरी अन्य कम्पनीमा सेवा प्रदान गरी रहेको अनुभवी र दक्ष कम्पनीसमेतलाई बोलपत्रमा समावेश हुने वातावरण मिलाउनु पर्नेमा सोको उल्टो बोलपत्रमा सहभागी हुनबाट अयोग्य ठहराउने गरी भएको उक्त बोलपत्र आह्वान सम्मानित सर्वोच्च अदालतको आदेशको मर्म विपरित छ ।’

करोडौं चलखेलको आरोप, छानबिन गर्न माग
नयाँ आह्वान गरिएको बोलपत्रको शर्तहरूको अध्ययन गर्दा बोलपत्र तयार गर्ने व्यवस्थापन तथा प्राविधिक टिमले पुनः निहीत स्वार्थ र करोडौंको आर्थिक चलखेलको प्रलोभनमा परी पूर्वाग्रही ढंगले बोलपत्र आह्वान गरिएको दावी टेलिकमको नेटवर्कमा काम गरिरहेका फर्महरूको दावी छ ।
अधिवक्ता थापाले उजुरीमा भनेका छन्, ‘विद्यमान प्रणालीमा रहेका समस्याहरूलाई ध्यानमा राखेर सुरक्षित, प्रविधि मैत्री र कम खर्चिलो प्रणाली खरिद गरी सेवाग्राहीलाई उच्च स्तरीय सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित हुनुपर्नेमा नेपाल टेलिकमले पुनः आह्वान गरेको बोलपत्रको शर्तहरुको अध्ययन गर्दा बोलपत्र तयार गर्ने व्यवस्थापन तथा प्राविधिक टिमले पुनः निहित स्वार्थ र करोडौंको आर्थिक चलखेलको प्रलोभनमा परी यति संवेदनशिल विलिङ प्रणालीको बोलपत्र आह्वान गर्दा पूर्वाग्रही ढंगले अनियमितता भएको व्यहोरा प्रकाश पार्न चाहन्छु ।’
सार्वजनिक खरिदसम्बन्धी निर्देशिकाविपरीत यो प्रणाली खरिद टेण्डरमा राखिएका प्रावधानले प्रतिस्पर्धालाई साँघुरो बनाएको आरोप छ । प्रतिस्पर्धा सीमित गरेर पुरानो प्रविधिको प्रणाली खरिद गर्न खोजिएको हो की भन्ने पनि आशंका गरिएको उनले बताए ।
टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको भन्ने आरोप यो पहिलो भने होइन । यसअघि पनि निश्चित समूहको लागि काम गर्दा विवाद उत्पन्न भई सोबारे उजुरी अख्तियारसम्म पुगेको थियो । टेलिकमको यसअघिको नेतृत्वले मुद्दा खेपिरहेका बेला अहिलेको नेतृत्व पनि विवादमा आउनेगरी टेण्डर प्रक्रिया अगाडि बढाइएको उनको आरोप छ ।
हाल टेलिकममा कायम बिलिङ प्रणालीको लागि एशिया इन्फो र नेपाल टेलिकमबीच सन् २०११ डिसेम्बरमा सम्झौता भएको थियो । उक्त सम्झौता अपारदर्शी भएको र उक्त कम्पनीले प्रदान गरेको सेवा र विलिङ प्रणालीमा चुहावट र अनियमितता भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेको छ ।
नयाँ बोलपत्र आह्वानमै विदाव उत्पन्न भएको छ । यसमा उल्लेख भएका केहि शर्तहरू यथाशीघ्र हटाई नेपाल टेलिकमबाट भएका अनियमितताहरूको आवश्यक रहेको अधिवक्ता थापाको तर्क छ । टेलिकमको अनियमितताको छानबिन गरी पारदर्शी रूपबाट सम्पूर्ण सक्षम अन्तराष्ट्रिय कम्पनीलाई सहभागिता गराउने व्यवस्था मिलाउनेगरी आदेश वा निर्देशन जारी गर्नुपर्ने उनको माग रहेको छ ।
टेण्डर रोकिँदैन: नेपाल टेलिकम
बोलपत्र आह्वानविरुद्ध उजुरी परे पनि टेलिकम भने यसको प्रक्रिया नरोक्ने अडानमा छ । नेपाल टेलिकमको प्रवक्ता हरि ढकालले नयाँ आह्वान गरिएको बोलपत्रको प्रक्रिया अब नरोकिने बताए ।
विवाद हुनुपर्ने कुरै नभएको दाबी गर्दै उनले भने, ‘हामीले अदालतको आदेश अनुसार संशोधन गरेर नयाँ प्रक्रिया शुरू गरेका छौँ । जसले उजुरी जहाँ गरे पनि अबको प्रक्रिया रोकिँदैन ।’
उनका अनुसार उक्त मंगलबार ‘प्रि–भीड मिटिङ’ हुँदैछ । उक्त मिटिङमा भेण्डरहरु सहभागी हुँदैछन् । यो पनि बोलपत्रको एउटा प्रक्रिया भएकोले ठेक्का लगाउने काम रोकिदैन ।
यसअघिको बोलपत्रको आह्वानमा धेरै सहभागी भने भएका थिएनन् । तर, यस पटक भने उनले धेरैभन्दा धेरैलाई सहभागी गराउने गरेर बोलपत्रको आह्वान गरिएको दाबी गरे । बोलपत्र आह्वान गर्दा शर्तहरु राख्ने परम्परा भएकोले पनि टेलिकमले केही शर्तहरुसहित आह्वान गरेको उनले जानकारी दिए ।

Leave a Reply