रेडियो पत्रकारिताको कुरा गर्दा रेडियो वेभ र यसका माध्यमबाट प्रशारणमा विभिन्न वैज्ञानिकहरूलाई बिर्सेर रेडियो पत्रकारिता र मिडियम पुरा हुन सक्दैन । रेडियोको आविष्कार एकल वैज्ञानिकको काम नभएर विभिन्न वैज्ञानिकहरूको अनुसन्धान र योगदानको परिणामस्वरूप भएको हो । यसको विकासमा विशेष गरी जेम्स क्लार्क म्याक्सवेल, हेनरिक हट्र्ज, गुग्लिएल्मो मार्कोनी, निकोला टेस्ला र रेगिनाल्ड फेसाडेन जस्ता वैज्ञानिकहरूको महत्वपूर्ण भूमिका थियो । नेपालको २००७ को हवाला भए तापनि २०४६ र २०५२ सालपछि रेडियोको विकास प्रसार भएको हामी पाउँछौं ।
जङ्गली युग भन्नाले मानव सभ्यताको सुरुवाती अवस्था बुझाउँछ र हामीले बुझ्ने गर्छौं । जब मानिसहरूले औपचारिक भाषा विकास नगरेको अवस्थामा सञ्चारका सरल र मौलिक माध्यमहरू प्रयोग गर्थे । सञ्चार एकले अर्कालाई आफूले भन्न खोजेका कुराहरू संकेत चिन्ह र हाउभाउबाट एक-अर्कामा सञ्चार गर्ने गरेको युग नै जंगली युग थियो ।
जङ्गली युगमा सञ्चारका तरिकाहरू
- साङ्केतिक सञ्चारः हातको इसारा, अनुहारको भाव र शरीरको हाउभाउ प्रयोग गरिन्थ्यो ।
- ध्वनि संकेतः चिच्याउनु, गर्जनु वा फरक स्वर निकालेर खतरा वा सन्देश पठाउने गर्थे ।
- आगो र धुँवा संकेतः टाढा रहेका समूहहरूलाई खबर दिन आगो बाल्ने वा धुँवा प्रयोग गर्ने प्रचलन थियो वा गरिन्थ्यो ।
- चित्र लेखनः गुफाका भित्तामा चित्र कोरेर सूचना दिने प्रचलन थियो ।
- डमरू र ढोल जस्ता बाजाः बाजा, ढोल बजाएर आवाजको कम्पनमार्फत सन्देश सम्प्रेषण गर्ने गरिन्थ्यो ।
आधुनिक अवस्थामा सञ्चारको अवस्था
जङ्गली युगमा मौखिक र संकेत भाषा प्रयोग भए पनि समयक्रमसँगै लेखन, मुद्रण, रेडियो, टेलिभिजन र इन्टरनेट जस्ता सञ्चारका आधुनिक प्रविधिहरू विकास भए । यसका माधयमबाट सञ्चार गर्ने थालनी भयो । सञ्चारको क्रमिक विकास यसरी भयोः
- प्राचीन युग चित्र लिपि, गुफा कला, मौखिक परम्परा, मध्ययुगः हातले लेखिएको पत्राचार, परेका दूतहरू ।
- औद्योगिक युगः छापा उद्योग, रेडियो, टेलिफोन ।
- सूचना प्रविधि युगः टेलिभिजन, इन्टरनेट, सामाजिक सञ्जाल आइपुगेका छन्, तर जङ्गली युगका मौलिक सञ्चार विधिहरू अझै केही आदिवासी समुदायहरूमा जीवित रहेको पाउन सकिन्छ । केही दुर्गम ठाउँहरूमा आजका दिनमा पनी बाजाका धुनबाट सन्देश प्रवाह गरिन्छ ।
सञ्चार संस्थाको विकास जंगली युगमा सांकेतिकबाट भएको भए पनि नेपालमा सञ्चार संस्थाको विकास आजको आधुनिक समाजसम्म आउँदा त्यति बेला कटवाल प्रथाबाट शुरु भएको इतिहास छ ।
सञ्चार संस्थाको विकास जंगली युगमा सांकेतिकबाट भएको भए पनि नेपालमा सञ्चार संस्थाको विकास आजको आधुनिक समाजसम्म आउँदा त्यति बेला कटवाल प्रथाबाट शुरु भएको इतिहास छ । विगतका दिनहरूमा सारङ्गीको आवाजले कार्गिलमा भएको युद्ध र विभिन्न युद्धका घटना सवारी दुर्घटना र विभिन्न यस्ता विषयहरू गाइने दाइको आवाजले नेपाली जनजनको घरआँगनमा पुर्याउने योगदान गरेको छ ।
काटवाल प्रथा नेपालमा परम्परागत सूचनाको आदानप्रदान गर्ने प्रणाली हो । यस प्रथामा स्थानीय प्रशासन वा गाउँपालिकाले कुनै सूचना वा सन्देश गाउँभर फैलाउन एक विशेष व्यक्ति (काटवाल)लाई प्रयोग गर्थ्यो । काटवालले गाउँमा गएर ठूलो स्वरमा खबर सुनाउने गर्थे, जसलाई ‘ढिंढो पिट्ने’ भन्ने पनि भनिन्थ्यो । गाउँको अलि उँचो भागमा गएर सकेसम्म सबैले सुन्न सकिने ठाउँको प्रयोग गरेर सन्देश प्रवाह गर्ने गरिन्थ्यो । यो क्रम करिब २०५३ सालसम्म चलिरह्यो । लगत्तै रेडियोको पनि विकास हुँदै गएकाले यो परिवर्तनशील भयो ।
सामुदायिक रेडियो र यसको महत्व
रेडियो एक प्रभावकारी सञ्चारमाध्यम हो, जसले टाढा-दूरदराजका जनतालाई समाचार, मनोरञ्जन र शिक्षासम्बन्धी जानकारी प्रदान गर्दछ । नेपालमा रेडियो २००७ साल (सन् १९५१)मा सुरू भएको थियो । खासगरी सामुदायिक रेडियोको विकास निजी क्षेत्रमा प्रवेश गरेको रेडियो सगरमाथाबाट सुरु भएको हो । यसपछि देशैभरि नै सामुदायिक रेडियो सञ्चार यसको उपादेयता गाउँशहर जताततै दूरदराजमा सूचनाको पहुँच विस्तार गर्न सफल भएको हो ।
लोकतन्त्र प्राप्तिमा यसको धेरै ठूलो महत्वपूर्ण भूमिका रहे पनि राज्यले रेडियो र पत्रिकालाई गर्ने व्यवहार जमिन आकाशको भिन्नता रहेको छ । जसमध्ये पनि नेपालका ३६५ सामुदायिक रेडियो प्रशारकले आफ्नो पहिचान खोजेको दशकौं बितेको छ । सामुदायिक रेडियो प्रशारक संघको माध्यमबाट यसको पैरवी हरेक तहको सरकारसँग गरे पनि सामुदायिक रेडियोहरूले न्याय पाएका छैनन् । सामुदायिक रेडियोको पहिचान प्रशारकहरूको आन्दोलन राज्यले सम्बोधन नगरेसम्म निरन्तर रहनेछ । सामुदायिक रेडियोलाई थोपरेको विभिन्न खालका रोयल्टीहरू हटाउन सरकारसँग जोडदार माग गरेको छ । आन्दोलन केबल टायर बाल्ने र चक्काजाममात्र होइन, सामुदायिक प्रशारकको आन्दोलन शालीन र नैतिकतामा आधारित रहेको छ । व्यपसायिक रेडियोहरूको पनि आफ्नै खालका मागहरू रहँदै आएको छ ।
राज्यले सूचनाको पहुँचमा रेडियोको भूमिकालाई नकार्न सकिँदैन, तर यसको प्रवद्र्धनमा आँखा चिम्लेकै हो भन्ने तहसम्मको बुझाइमा पुगेको छ । यहाँको स्थायी र करारको रूपमा काम गर्ने शैलीले पनि सामुदायिक सञ्चारले न्याय पाउन सकेको छैन भन्दा अत्युक्ति नहोला । करिब ७० भाषामा सामुदायिक रेडियोले आफ्नो प्रशारणको क्षेत्रलाई विस्तार गरेर समावेशितालाई मौलिक अधिकारसँग जोडेर अभियान सञ्चालन गरेको छ ।
नेपालका ३६५ सामुदायिक रेडियो प्रशारकले आफ्नो पहिचान खोजेको दशकौं बितेको छ । सामुदायिक रेडियो प्रशारक संघको माध्यमबाट यसको पैरवी हरेक तहको सरकारसँग गरे पनि सामुदायिक रेडियोहरूले न्याय पाएका छैनन् ।
संघीयता कार्यान्वयनको पक्षमा संविधानको पालना र रक्षा गर्न सामुदायिक रेडियोको भूमिका अतुलनीय छ, तर तीन तहका सरकारले रेडियोप्रति गर्ने व्यवहार अरु सञ्चारमाध्यम भन्दा फरक छ । समानताका लागि राज्यले आँखा चिम्लेर पुरानै सञ्चार ऐनको निरन्तरतालाई प्राथमिकतामा राखेको छ । स्थानीय तहहरूले नीतिगत नभई पहुँचका आधारमा सञ्चारप्रति गर्ने व्यवहार भिन्न रहेको छ । यो नीतिगत र न्यायसंगत हुन सकेमा रेडियो पत्रकारिता बच्नसक्छ ।
बहुसंख्यक जनसङ्ख्यामा सुलभ तथा छिटो सूचना प्रवाह, ग्रामीण क्षेत्रमा सहज रूपमा विभिन्न स्थानीय भाषामा कार्यक्रम प्रशारण हुने भएकाले सबैलाई बुझ्न सहज र नेपालमा रेडियोले कटवाल प्रथालाई प्रतिस्थापन गरेको छ । अहिले सूचना प्रसारणको लागि स्थानीय एफएम रेडियोहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । रेडियो दूरदराजमा विश्वसनीय सञ्चारमाध्यमका रूपमा प्रचलित छन् । प्रविधिको विकासले केही प्रभाव पारे पनि गाउँघरमा सूचनाको स्रोत रेडियो बनेको छ ।
नेपालमा रेडियोको सुरुवात
नेपालमा रेडियोको औपचारिक प्रसारण वि.सं. २००७ साल असोज २ गते सुरु भएको हो । त्यसबेला ‘रेडियो नेपाल’ स्थापना गरिएको थियो, जुन सरकारी स्वामित्वमा रहेको नेपालकै पहिलो रेडियो संस्था हो । रेडियो नेपालले खोलेका क्षेत्रीय प्रशारणले पारेको प्रभाव मूल्यांकन र निजी तथा सामुदायिक क्षेत्रबाट खोलेका सञ्चारमाध्यमहरूको भूमिका अतुलनीय छ । मासिक ५ करोड रेडियो नेपालको खर्च हुने गरेको तथ्यांक छ, तर यही बजेट सामुदायिक सञ्चारका लागि व्यवस्था गर्न सकेको खण्डमा सूचनाको पहुँच वृद्धिमा टेवा पुग्ने विश्वास लिन सकिन्छ ।
नेपालको सन्दर्भमा पत्रपत्रिकाको इतिहास १०० वर्ष बितिसक्दा र विभिन्न माध्यमहरूभन्दा छिटो विकास र आकर्षण भएको र पत्रकार उत्पादनमा ठूलो योगदान रेडियोले गरेको छ । नेपालमा टेलिभिजनको स्थापना २०४१ सालपछिका दिनहरूमा सञ्चालनमा आए पनि त्यति सबैको पहुँच स्थापना हुन सकेको थिएन, तर रेडियोले जनताको सूचनाको पहुँच स्थापना गर्ने काममा निरक्षरका लागि सबैले एकसाथ उपयोग गर्न सकिने व्यवस्था रेडियो मिडियम हो । नेपालमा १९५८ सालमा गोरखापत्र, २००७ मा रेडियो नेपाल र २०४१ मा नेपाल टेलिभिजन स्थापना भएको इतिहास छ । पत्रिका, टेलिभिजन र रेडियोको विकास र यसको प्रभावकारितामा रेडियोको प्रभाव बढी रहेको पाउन सकिन्छ ।
विभिन्न डिजिटल पद्धतिहरूको विकास भएको कारण रेडियो मानिसले सुन्दैनन् भन्ने भ्रम पनि नभएको होइन, तर यो यथार्थ होइन । सुन्ने शैलीमा परिवर्तन भएको पक्कै हो । आजको दिनमा रेडियोको प्लाटफर्म परिवर्तनका बहस अन्तर्राष्ट्रिय जगतमा नभएको पनि होइन, तर नेपाल र यहाँको परिवेश र ग्रामीण क्षेत्रमा सूचनाको पहुँचको एक सशक्त माध्यम रेडियो नै हो ।
विभिन्न डिजिटल पद्धतिहरूको विकास भएको कारण रेडियो मानिसले सुन्दैनन् भन्ने भ्रम पनि नभएको होइन, तर यो यथार्थ होइन । सुन्ने शैलीमा परिवर्तन भएको पक्कै हो ।
रेडियोसम्बन्धी शेयरकास्टले गरेको सर्वेक्षण
शेयरकास्टले विगत एक दशकदेखि गर्दै आएको मिडिया सर्वेक्षणको प्रतिवेदनले रेडियोका स्रोता प्रायः स्थिर नभई घटना विशेषका आधारमा घटबढ भइरहने देखाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका समयमा गरिएको सर्वेक्षणमा करिब ७२ प्रतिशतले कोरोनासम्बन्धी जानकारी र अन्य सूचना तथा समाचार रेडियोबाट थाहा पाएको बताएका थिए ।
भूकम्प र कोरोना महामारीका समयमा रेडियोका स्रोता ह्वात्तै बढेका थिए । सामान्य अवस्थामा रेडियोका स्रोता करिब एक तिहाइ हाराहारी देखिन्छ । नेपाल मिडिया सर्भे २०२४ मा तपाईं रेडियो कत्तिको सुन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा करिब ३२.२ प्रतिशतले रेडियो सुन्छु भनेर जवाफ दिएका छन् । प्रायः बिहान ६ देखि ८ बजेको समय र बेलुकाको ७ देखि ९ बजेको समयमा रेडियो सुन्छन् ।
रेडियो सुन्नेमध्ये करिब ४१ प्रतिशतले दैनिक नै रेडियो सुन्छन् । करिब २६ प्रतिशतले सरदर दैनिक आधा घण्टा र करिब २४ प्रतिशतले सरदर दैनिक १ घण्टा जति रेडियो सुन्छन् । हिजोआज करिब ७० प्रतिशत स्रोताले मोबाइलमा रेडियो सुन्छन् भने रेडियो सेटबाटै रेडियो सुन्नेको सङ्ख्या करिब ३० प्रतिशतको हाराहारीमात्र छ । रेडियो सुन्ने तौरतरिका सेटबाट मोबाइल फोनमा रूपान्तरण भइसकेको छ ।
रेडियोले प्रसारण गर्ने सामग्रीहरूप्रति नागरिकहरूको विश्वास के कस्तो छ भन्ने कुरा पर्गेल्न नेपालका एफएम रेडियोले प्रसारण गर्ने सूचना, जानकारी र कार्यक्रमहरू तपाईंलाई कत्तिको विश्वास लाग्छ भनेर सोधिएको थियो । सर्वेक्षणमा सहभागी ६१ प्रतिशतले रेडियोका सामग्रीहरूलाई विश्वास गर्ने बताए, जसमा पूर्ण विश्वास गर्छु भन्ने २७ प्रतिशत छन् । धेरैजसो विश्वास गर्छु भन्ने करिब ३४ प्रतिशत रहेका छन् । ठीकठीकै विश्वास गर्छु भनेर जवाफ दिने पनि करिब ३५ प्रतिशत रहेका छन् ।
यस आधारमा रेडियोले प्रसारण गर्ने विषयवस्तुहरूप्रति स्रोतामा उच्च विश्वास र भरोसा रहेको देखिन्छ । सर्वेक्षणमा सहभागी जम्मा ३ प्रतिशतले मात्र रेडियोप्रति विश्वास नभएको बताए । स्रोताहरूले प्रकट गरेको यो विश्वास र भरोसा नै रेडियोको सबैभन्दा महत्वपूर्ण पुँजी हो । पहुँचका हिसाबले द्रुत गतिमा बढिरहेको डिजिटल माध्यमले दिने सामग्रीप्रति आममानिस विश्वस्त हुन नसकिरहेको परिप्रेक्ष्यमा रेडियोप्रति देखिएको यो विश्वास रेडियो समुदायका लागि ठूलो अवसर हो ।
हिजोआज करिब ७० प्रतिशत स्रोताले मोबाइलमा रेडियो सुन्छन् भने रेडियो सेटबाटै रेडियो सुन्नेको सङ्ख्या करिब ३० प्रतिशतको हाराहारीमात्र छ । रेडियो सुन्ने तौरतरिका सेटबाट मोबाइल फोनमा रूपान्तरण भइसकेको छ ।
रेडियोमा स्थानीय तथा मातृभाषाको महत्व
नेपालको हकमा यहाँ बोलिने र बुझ्ने विभिन्न भाषाभाषीले रेडियोको महत्वलाई अझ नजिकबाट दर्शाउँछ । किनभने नेपाली माटोमा जन्मे-हुर्केका मातृभाषा साहित्यहरू आफैंमा निकै ओझिला र अनुशरण गर्न योग्य छन् । यहाँको भेषभुषा र भाषाहरू मौलिक परम्परा र संस्कृतिमा निकै धनी छ । यसको प्रवर्द्धन गर्न सकेमा रेडियो अभियानलाई पनि सहयोगीसिद्ध हुनेछ । यसका साथै अपनत्व पनि बढेर जाने सम्भावना प्रवल रहन्छ । ग्रामीण क्षेत्रका मानिसहरू आफ्नो मातृभाषामा समाचार, कृषि जानकारी, स्वास्थ्यसम्बन्धी सूचना आदि पाएमा उनीहरूलाई बुझ्न र लागू गर्न सहज हुन्छ ।
संस्कृति तथा परम्पराको संरक्षणः स्थानीय भाषा प्रयोग गर्दा समुदायको भाषा, संस्कृति र पहिचान जोगाउन मद्दत गर्छ ।
स्रोतासँगको सम्बन्धः आफ्नो मातृभाषामा सुन्ने स्रोताले रेडियोलाई आफ्नो आवाजको माध्यम ठान्छन्, जसले रेडियोलाई थप लोकप्रिय बनाउँछ ।
रेडियोमा विज्ञापनको अवस्था
निजी तथा सामुदायिक रेडियोहरूमा विज्ञापन आम्दानी सीमित छ । पत्रपत्रिकाहरूले पाउने विज्ञापन र रेडियोहरूले पाउने सुविधामा धेरै विभेद र भिन्नता छ । राज्यको विभेदकारी नीतिले रेडियो बचाउन मुस्किल छ । सत्ता बाहिर हुँदा र सत्तामा गएका बेलामा दलहरूको मिडियाप्रतिको बुझाइ, व्यवहार र स्पष्ट नीतिको अभावले रेडियो बचाउन मुस्किल परेको छ ।
समानुपातिक विज्ञापन आजको आवश्यकता हो । रेडियोलाई राज्यले रक्सी पसलको जस्तो रोयल्टी लिने, प्रत्येक वर्ष नवीकरण साथै आन्तरिक राजस्वसमेतको समस्या रेडियोको समस्या हो, तर पत्रिकाको हकमा एक पटक दर्ता गरेपछि आजीवन पुग्ने जस्ता खालका विभेद मिडियामा छ । विशेषगरी सामुदायिक रेडियोले निम्नानुसारका समस्या तथा कठिनाइ भोगिरहेका छन्ः
- प्रविधिगत विकाससँग समायोजन गर्न कठिन ।
- सामाजिक सन्देश र व्यावसायिक पक्षबीच सन्तुलन मिलाउनुपर्ने चुनौती ।
- सरकारी नियमन र मिडिया नीति परिवर्तनको प्रभाव ।
- डिजिटल रेडियो (अनलाइन स्ट्रिमिङ)को विकास ।
- स्थानीय भाषामा कार्यक्रम उत्पादनमा समस्या ।
- रेडियोमार्फत शिक्षा, विपद् व्यवस्थापन र स्वास्थ्य सूचनाहरू प्रदान गर्ने सम्भावनालाई इन्कार ।
पहुँचका हिसाबले द्रुत गतिमा बढिरहेको डिजिटल माध्यमले दिने सामग्रीप्रति आममानिस विश्वस्त हुन नसकिरहेको परिप्रेक्ष्यमा रेडियोप्रति देखिएको यो विश्वास रेडियो समुदायका लागि ठूलो अवसर हो ।
रेडियो व्यवस्थित हुन समानुपातिक विज्ञापन नीति आवश्यक छ । तीन तहका सरकारले मिडियामैत्री नीति बनाउन आवश्यक छ र विकासमा रेडियोलाई सहकार्यको बाटोमा जोड्न जरुरी छ । काठमाडौं केन्द्रित विज्ञापनले स्थानीय रेडियोहरू मर्ने अवस्थामा छन् ।
निष्कर्ष
रेडियो र रेडियो पत्रकारिताको विकास र प्रवर्द्धन गर्न वर्तमान अर्थमन्त्री विष्णु पौडेलमार्फत तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङमार्फत सरकारको ध्यानाकर्षण गराएका छाैं । नेपालमा रेडियो पत्रकारिता अझै प्रभावशाली र भरपर्दो माध्यमको रूपमा रहेको छ । यद्यपि डिजिटल प्रविधिको प्रभावले यसको स्वरूप परिवर्तन गर्दै लगेको छ । आगामी दिनमा रेडियो पत्रकारिताले अनलाइन, पोडकास्ट र मोबाइल प्रविधिसँग जोडिएर अझ प्रभावकारी बन्ने सम्भावना छ ।
आज सामाजिक सञ्जालको प्रयोगले फाइदा बेफाइदाहरूको उपद्रो मच्चाएका छन् । यसको उपयोगले सत्मार्गमा हिँडाएको छ भने दुरूपयोगले समाजलाई उद्वेलित बनाएका छन् । विश्वमा ८ अर्ब जनसंख्यामध्ये ८ करोड मानिस फेकन्युज र डिसइन्फरमेशनको चपेटामा छन् । यसको निराकरण गर्न नेपालको सन्दर्भमा मूलधारका सञ्चारमाध्यमले भूमिका खेल्न आवश्यक छ ।
सञ्चारमाध्यम आजको दिनमा सञ्चार संस्था धान्ने र जीविकोपार्जनमा समस्या एकातिर छ भने अर्कोतर्फ पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्ने क्रममा कहीँकहीँ चुकेको छ । आज मुलुकलाई सही दिशा निर्देश गर्ने क्रममा आग्रह पूर्वाग्रह जोडिएको पक्ष, विपक्ष र नितान्त निजी स्वार्थमा प्रेरित भयो कि भन्ने आरोप जनमानसमा छ । यसलाई सञ्चार कर्मले चिर्न सक्नुपर्छ ।
हाल नेपाल सरकारले सामाजिक सञ्जालसम्बन्धी विषयलाई व्यवस्थित गर्न खाजेको छ । सञ्जालको दुरूपयोगलाई नियन्त्रण गर्न खोजेको छ । यसलाई व्यवस्थित नगर्दा अराजकता बढ्दै गएको निष्कर्ष छ । यस्ता बेथितिमा रेडियोका माध्यमबाट भ्रामक समाचार तथा फेक न्युजलाई चिर्न आवश्यक छ । जनतालाई सही सूचना दिनु हाम्रो कर्तव्य हो । सत्यको आधारमा तथ्य स्थापित गरी नेपालको समृद्ध चाहना र संकल्पलाई पूरा गर्ने हामी सबैको साझा कर्तव्य हो ।
रेडियो प्रविधि आजको सञ्चार जगतमा अझै महत्वपूर्ण माध्यमको रूपमा रहेको छ । रेडियोलाई डिजिटल बनाउँदा, पडकास्ट बनाउँदा रेडियोको वास्तविक मर्म मर्छ भन्ने एउटा पक्षको तर्क छ । अर्कोतर्फ यो नगरे रेडियोको अस्तित्व मर्न सक्छ भन्ने तर्क छ । यी दुवै तर्कमाथि बहस गर्ने जिम्मा पाठकलाई लगाउन चाहन्छु । रेडियो पत्रकारिता र रेडियो दूरदराजका नागरिकका लागि उपयोगी देखिन्छ ।
(लेखक गाहा सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष हुन् ।)

Leave a Reply