ज्ञानेन्द्रका सचिवले ‘राजा ल्याउने कुरा छैन’ भनेपछि अलिकति मन शान्त भयो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रसमेतको सहमतिमा देशमा गणतन्त्र ल्याएको दाबी गरेका छन् । माओवादी पछि मात्रै आफूहरुसँग मिसिएको उनको भनाइ छ ।

आज पार्टी निकट आदिवासी जनजाति महासंघको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘ज्ञानेन्द्रले (राजतन्त्र) उहिले छोडिसकेको हो । हामी तीनजना नेता (आफू, राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइराला) ले यो जम्मै कुराहरु गरेका हौं । प्रचण्डजी पछि मात्रै आएका हुन् । हामी तीनजनाले पहिल्यै सहमति गरिसकेका थियौं ।’

नेपालले अहिले राजा फर्काउने कुरा नभएको र पूर्वराजाको पनि इच्छा नभएको आफूले सुनेको भन्दै खुशी व्यक्त गरे ।

उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । त्यो उनको पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने… मलाई थाहा छैन….उनले राजालाई फर्काउने कुरा छैन, राजाको इच्छा पनि छैन, बाहिर चलेको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ । अरुले पो फाइदा उठाउन खोजेका रहेछन् ।’

हालै एक अन्तरवार्तामा पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले ‘राजाले यो व्यवस्था उल्टाउने नभनेको’ बताएका थिए ।

नेपालले राजनीति गर्ने भए पार्टी खोल्न र बहुमत ल्याउन पूर्वराजालाई सुझाव दिए । ‘उहिलेदेखि मैले भन्दै आएको छु राजनीति गर्ने भए पार्टी खोल्नुस्, मैदानमा आउनुस्, जनताको बीचमा जानुस्, चुनावमा जितेर बहुमत ल्याउनुस्, देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरा हो,’ उनले थपे ।

 

 

Comments

2 responses to “ज्ञानेन्द्रका सचिवले ‘राजा ल्याउने कुरा छैन’ भनेपछि अलिकति मन शान्त भयो : माधव नेपाल”

  1. Raj Avatar
    Raj

    माकुनेका कुरा 😃।

  2. Mania Thompson Avatar
    Mania Thompson

    चाक बार बोल्यो, यो अर्को हाईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *