काठमाडौं । केहि अगाडि काभ्रेपलान्चोकका युवा समुन्द्र तिमल्सिना लोकसेवाका गुरु कुवेर अधिकारीसँगै मनकामना दर्शन गर्न गोरखा जाँदै थिए । बाटोमा अधिकारीलाई अन्जान अनुहारहरूले गरेको दण्डवत् देखेर चकित भए तिमल्सिना । ‘गुरु हजुरले गर्दा मैले लोकसेवा पास गरेको भन्नै कयौँ भेटिए’, नेपाल प्रेससँग अनुभव सुनाउँदै तिमल्सिनाले भने, ‘कतिपयले त खुट्टै छोएर यस्तो भने । मधेशका विद्यार्थीहरूको आदर झन् धेरै देखियो ।’
२०७० बाट लोकसेवाको आइक्यू मोर्चामा प्रवेश गरेका हुन कुवेर अधिकारी । दैलेख पृष्ठभूमिका अधिकारीले सबैभन्दा पहिले पढाउन सुरु गरेको तत्कालीन संसद् भवन अगाडिको सिभिल एजुकेसन नेटवर्कदेखि अहिलेको एम्बिसन गुरुसम्म आउँदाको एक दशमा उनले आफूलाई सेलिब्रेटी लोकसेवा आइक्यूका गुरु बनाउन सफल भएका छन् । उनका सामाजिक सञ्जालका खाताहरूमा लाखौँले फलो गरेका छन् । उनले हजारौँलाई डिजिटल र फिजिकल डोमेनमा पढाएका छन् ।
पढ्ने पढाउने कामबाटै नाम, दाम कमाएका अधिकारी पठन संस्कृतिका खरो पक्षधर हुन् । लोकसेवाको आइक्यू पढाउँदै गर्दा पढ्दा ‘पागल त होइन्न’ भन्ने विद्यार्थीको जिज्ञासामा उनले दिएको उत्तरै काफी छ । उनले त्यो भाइरल क्लिपमा भनेका छन्, ‘तपाईँ पढ्दा पागल भन्छन् भने त गर्वको कुरा हो नि । कमसेकम फलानोको छोरो पढ्दापढ्दै पागल हो भन्दा आमा बुबालाई पनि कस्तो गर्व लाग्छ– यो त डुलेर पागल हो । एउटीसँग लभ परेर पागल भो । त्यस्तो सुन्नु भन्दा त रातदिन पढ्थ्यो । पागल भो । ल हेर्नु ।’
लोकसेवामा मात्रै होइन गैर लोकसेवाको पठनमा पनि अधिकारीको उत्तिकै चासो छ । साहित्यमा उनको लगाव उत्तिकै छ । नेपालका हेभिवेट साहित्यकार श्यामलको वंशवृक्षकै एक सदस्य अधिकारीले आफू साहित्य रचनामा सक्रिय नभए पनि साहित्यको माहोल बनाउन र बढाउन चासो भएको बताउँछन् । उनी श्यामलसँगको सम्बन्धलाई ठट्टा गर्दै भन्छन्, ‘साहित्यिक जिनको सम्बन्ध भएर यो रुचि भएको हुनसक्छ ।’
अधिकारीले साहित्य, अध्ययन र पठनको आफ्नो रुचिलाई राष्ट्रिय युवा संघका सचिव तथा शिक्षा विभाग प्रमुखको रूपमा रहेर संस्थागत रूप दिएका छन् । उनकै पहलमा अहिले यूथ लिटरेचर फेस्टिभलको तयारी हुँदैछ । विभिन्न विधाहरूमा युवा लक्षित साहित्य महोत्सवको तयारीमा उनी कम्मर कसेर लागेका छन् । कविता, गजल र निबन्ध जस्ता विधाहरूमा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार पुरस्कार राशि राखेर उनी नेतृत्वको शिक्षा विभाग र अरू सहयोगीहरू जुटेका छन् । युवाहरूको नेतृत्व र वक्तृत्वकला बढाउन आयोजना गरिएको वक्तृत्वकलाका विजेतालाई भने पुरस्कार राशि धेरै छ । प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ५० हजार र ३० हजार राखिएको छ । अहिले ती सबै विधाहरूमा प्रतिस्पर्धामा आउनेहरू धमाधम जोडिएका छन् ।

विधागत क्षेत्रको मूल्यांकल सुरु भएको छ । शनिवार वक्तृत्वकलामा जोडिएकाहरूलाई सञ्चार क्षेत्रका व्यक्तित्व रुपेश श्रेष्ठदेखि राजा राजेन्द्र पोखरेलहरूले तीनकुनेको रोयल पार्टी प्यालेसमा प्रशिक्षण दिए । अनुभव साझा गरे । गजलकारहरूको सर्टलिस्ट गर्न चर्चित गजलहरू बाबु त्रिपाठी नेतृत्वको समूह सक्रिय छ । कविता र निबन्धमा पनि यस्तै छ ।
देशभर विभिन्न साहित्य महोत्सव हुँदै गर्दा यूथ लिट्रेचर फेस्टिभलको के मौलिकता छ भन्ने प्रश्नमा अधिकारीका बुँदागत तर्क छन् । उनी भन्छन्, ‘अरू फेस्टिभल आम फेस्टिभल हुन् । यो युवा केन्द्रित फेस्टिभल हो । अरू फेस्टिभलमा प्रस्तुति हुन्छ । यो फेस्टिभलमा प्रतिस्पर्धा पनि हुन्छ । हामी आशा जोगाउने मात्रै प्रयत्न गर्छौ ।’
‘जेनजी’सँग जोडिने सूत्रः अंग्रेजी, प्रविधि र प्रस्तुति
सामाजिक सञ्जाल अनि भाइरल कन्टेन्टका एल्गोरिदमले गर्दा समाजमा निराशा भएकोमा चिन्तित छन् अधिकारी । त्यही निराशा चिर्ने एक गोरेटो यूथ लिट्रेचर फेस्टिभल बनाउने उनको टीमको चाहाना छ । ‘अहिले समाजमा चरम निराशा छ र त्यो निराशामा पुरानो पुस्ता भन्दा नयाँ पुस्ता अर्थात् जेनजीमा छ’, अधिकारी भन्छन्, ‘पुरानो पुस्ताले भुटेका भटभास खाएर सुतेको, हुलाकबाट सञ्चार गर्न हप्तौँ लागेको, कयौँ दिन हिँडेर राजा गरेको अनुभव बोकेकोले अहिलेको अवस्थामा त्यो पुस्ता धेरै निराश छैन ।’
गाउँमा गाडी पुग्ने कल्पनै नदेखेका पुराना पुस्ताले घरमै गाडीमा गएकै आफ्नै जीवनमा देखेको, हात हातमा मोबाइल नसोचेको पुरानो पुस्ताले घरबाटै विदेशमा कुरा गरेको हेर्दा खुशी भएको भन्दै अधिकारीले जेनजीमा भने त्यो खुशी नभएको बताउँछन् ।
भन्छन्, ‘जेनजीले यूरोप, अमेरिका र अरू विकसित देशसँग मात्रै तुलना गरेर निराश देखिएको छ ।’ तर, देशमा हुनुपर्ने जत्ति नभएता पनि हुँदै नभएको चै होइन भन्नेमा छन् अधिकारी । देशमा आशाको दियो पनि छ है भन्ने पक्षमा छन् उनी । त्यही भएर साहित्यको थिम नै देश विकास, विदेश पलायन कम, विदेशबाट नेपाल फर्कने हुटहुटी आदिमा सिर्जना माग गरिएको छ । ‘आजको समाजमा भएको निराशाको सत प्रतिसतमा हामीले सबै बन्द गर्न त सक्दैनौँ तर शून्य दशमलव एक प्रतिशत मात्रै आशा जगाउन सक्यौँ भने हामी सफल भएको मान्छौँ ।’
जेनजी पुस्तालाई लक्षित गरेको भएर अधिकारीको टीमले जेनजीकै सूत्र अख्तियार गरेको छ । फेस्टिभलको ह्यासट्याग प्रयोग गरिएको छ । क्यूआरबाट जानकारी हेर्न सकिन्छ । भद्दा ब्यानर नबनाएर चुस्त फ्लायर बनाइएका छन् । ‘राष्ट्रिय युवा संघ नेपाल’ नभनेर ‘नेसनल यूथ फेडरेसन नेपाल’ नाम प्रयोग गरिएको छ । आफ्नो प्रोफाइलमा अधिकारी र टीमले तस्बिर राखेर फेस्टिभलको चर्चा गरेका छन् ।

चैत अन्तिम हप्ताको लागि धमाधम चलिरहेको फेस्टिभलका सबै आयामहरूको चर्चा अंग्रेजी भाषामा अधिकारीहरूले गरिरहेका छन् । विभिन्न विधागत र पेशागत जेनजी पुस्ताहरूसँग जोडिइरहेका छन् ।
‘कविता, गजल, निबन्ध, वक्तृत्वका माध्यमबाट कम्तीमा तीन हजार युवाहरूसँग सीधा पुग्ने लक्ष्य छ’, जेनजी पुस्तासँगको पुल बन्ने लक्ष्यबारेमा अधिकारी भन्छन्, ‘सामाजिक सञ्जाल, आमसञ्चार र कार्यक्रमको प्रभावका आधारमा त हजारौँमा पुग्ने देखिन्छ ।’
चैत अन्तिम हप्ता काठमाडौंमा फाइनल राउण्ड हुने यूथ लिट्रेचर फेस्टिभललाई तल्लो तहमा पनि लाने सोचमा भएको बताउँछन् कर्णालीमा जन्मेहुर्केका अधिकारी । भन्छन्, ‘यसलाई एक अभियानकै रूपमा आगामी संस्करणहरूमा प्रदेश प्रदेशमा लाने योजना छ ।’

Leave a Reply