‘प्याउली’: लादिप्माले हिँडेको उबडखाबड बाटोको रोचक कथावाचन

भर्खरै बजारमा आएको उपन्यास ‘प्याउली’को पहिलो खासियत हो, सरल र सरस भाषाशैली । पढ्न सुरु गरेपछि तानिरहने चुम्बकीय भाषाशैलीकै कारण ‘प्याउली’ अर्थात् लादिप्मालाई प्रमुख पात्रमा उभ्याएर बुनिएको उपन्यास खास बनेको छ । पितृसत्तात्मक नेपाली समाजमा एउटा महिलाले भोगेको भोगाइ र संघर्ष समेटिएको आममहिलाको साझा कथा हो, ‘प्याउली’ । आमनेपाली महिलाको साझा भोगाइ हो ।

उपन्यासको आरम्भ भोजपुर अदालतबाट हुन्छ । लेखक बालिका बान्तवाले उप्मिहाङसँग भएको लादिप्माको दोस्रो विवाहको वर्षदिन नबित्दै सम्बन्धमा पूर्णविराम लागेको परिवेशबाट उपन्यास सुरु गरेकी छन् । विज्ञान र प्रविधिले संसारलाई साँघुरो बनाएको तथ्यलाई लादिप्मा उर्फ प्याउली र उप्मिहाङसँगको सम्बन्धमार्फत प्रष्ट्याएकी छन् ।

हङकङको चाइवाङस्थित ‘मानच्योर च्याटे’ रेस्टुरेन्टमा काम गर्दै आइरहेकी शालिन, उदासीन अनि संगीतप्रेमी लादिप्मा कहिलेकाही कोही त आफ्नो भइदेओस् भन्ने चाह राख्छे । उमेरको चालीसौं वसन्त नाघिसकेकी लादिप्माको कोही आफ्नो नभएको त होइन, थियो, तर त्यो विगत भइसकेको थियो ।

उसो त सानो छँदा बुबाआमा र दाजुहरूको लाडप्यारमा हुर्केकी लादिप्माले पारिवारिक अवस्था निम्नवर्गीय भए तापनि दुःख भोग्नुपरेन । पाँचौं भाइछोरापछि जन्मेकी सबैकी प्यारी लादिप्मा चञ्चल थिइन् । गीत गाउन, नाच्न, कविता भन्न रुचाउँथिन् । माध्यमिक तहको अध्ययनको सिलसिलामा उनको जीवनमा प्रशान्तको प्रवेश हुन्छ । प्रशान्त र लादिप्मालाई जोड्ने पुल बन्छ, प्रशान्तको हिरो साइकल ।

लामो बाटो हिँडेर स्कुल जान गाह्रो लाग्ने लादिप्माले प्रशान्तको हिरो साइकल पाएकी थिइन् । दैनिक प्रशान्तको साइकलमा बसेर स्कुल आउने जाने क्रममा यी किशोरकिशोरी नजानिँदो ढङ्गले प्रेमको सागरमा डुब्छन् ।

राई माइलाको घरमा लाडप्यारले हुर्केकी लादिप्मालाई क्षेत्री ब्राह्मण परिवारको बुहारी हुँदा कम अप्ठ्यारो पर्दैन । यद्यपि आइपरेका दुःखलाई जसोतसो झेल्छिन् ।

उसो त फिल्मी शैलीमा प्रशान्तले प्रेमको तीर हान्दै जान्छ । उनीहरूबीचको जातको पर्खाल छँदैथियो । ९ कक्षा पढ्दा नै लादिप्मा र प्रशान्त भागेर विवाह गर्छन् । राई माइलाको घरमा लाडप्यारले हुर्केकी लादिप्मालाई क्षेत्री ब्राह्मण परिवारको बुहारी हुँदा कम अप्ठ्यारो पर्दैन । यद्यपि आइपरेका दुःखलाई जसोतसो झेल्छिन् ।

छोरी जन्मेपछिको दर्दनाक संघर्ष र जिम्मेवारी, त्यही जिम्मेवारी र दुःखले लखेट्दै लखेट्दै लादिप्मालाई कहिले गार्मेन्ट उद्योगमा लगेर पछार्छ त कहिले काठमाडौंको पसलमा पछार्छ । अनेक उल्झनहरूमा फसेपछि प्रशान्त विदेश जान खोज्छ, तर सक्दैन । अन्ततः लादिप्मा चिनजानको दिदीको सहायताले जिम्मेवारीको भारी उचाल्दै सपनाहरूको पोको बाँधेर हङकङ उड्छे ।

समयसँगै सबै छुट्दै गएको लादिप्मा बुबाआमासँग बिछोडिन्छे, मुटुको टुक्रा जस्ती नाबालिग छोरी छोडेर काठमाडौं छिरेकी लादिप्मा जीवनसाथी प्रशान्त र देशैसँग बिछोडिएर परदेशिन्छे ।

भौतिक दुरी केही होइन भन्ने आदर्शलाई आख्यानकारले गलत साबित गरेकी छन् । भौतिक दुरीले प्रशान्त र लादिप्माको सम्बन्धको दुरी बढ्दै जान्छ । काठमाडौंको रमझम र परिवेशमा प्रशान्त भिज्दै जान्छ, लादिप्मा परदेशमा सपना बुन्दै जान्छे । लादिप्मा गएपछि प्रशान्त अरु महिलाहरूसँग सम्बन्ध बनाउँछ, लादिप्माबाट बिस्तारै टाढिँदै जान्छ ।

अन्ततः लादिप्मा र प्रशान्तको सम्बन्धमा दरार आउँछ । पाँच वर्षे कलिलो सम्बन्ध निमोठिन्छ । तब न लादिप्मा शून्य हुन्छे, रित्तो हुन्छे । एक्लो हुन्छे, निराकार हुन्छे । अनि त हो रेस्टुरेन्टमा उराठउराठ गीत सुन्न थालेकी !

अनेक उल्झनहरूमा फसेपछि प्रशान्त विदेश जान खोज्छ, तर सक्दैन । अन्ततः लादिप्मा चिनजानको दिदीको सहायताले जिम्मेवारीको भारी उचाल्दै सपनाहरूको पोको बाँधेर हङकङ उड्छे ।

ड्युटी जाने-आउने उनको दैनिकीदेखि लादिप्मालाई कहिलेकाहीँ दिक्क लाग्छ । लदिप्मालाई पनि लाग्थ्यो, ‘बिहानै उठेर कसैलाई बेड टि थम्याउन पाउँ या थकान र दिनभरिको घटना कसैलाई सुनाऊँ !’ उनलाई लाग्थ्यो, ‘साउती मारेर कुरा गरौं, कसैले अँगालोमा बेरिदियोस् ।’
समय एवंरीतले चल्दै जाँदा एकदिन फेसबुकमा उप्मिहाङसँग जोडिन्छे लादिप्मा ।

सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको सम्बन्ध विवाहमा परिणत हुन्छ । यता प्रशान्तसँगको सम्बन्ध बिग्रेपछि एक्लिएकी लादिप्मा उमेरको चालीसौं वसन्त काटिसकेपछि श्रीमतीसँग सम्बन्ध बिग्रेको उप्मिहाङसँग वैवाहिक बन्धनमा बाँधिन्छिन् । पहिला च्याटमा रोमान्टिक हुने उप्मिहाङको विवाहपछिको स्वभाव र व्यवहारले लादिप्मा छाँगाबाट खस्छे । विवाहअघि र पछिको उप्मिहाङमा आकाश-जमिनको भिन्नता पाउँछे । खैर विवाह आफैंमा सम्झौता हो र त्यो सम्झौता लादिप्माले स्वीकार्छे ।

उता हङकङ फर्कनुपर्ने र छुट्टी सकिन लागेकाले उप्मिहाङलाई पनि हङकङ लैजाने प्रोसेस जारी राखेर उनी हङकङ फर्कन्छे । सरल रेखामा हिँडिरहेको लादिप्माको जीवनमा उप्मिहाङको उपस्थितिले उखडखाबड ल्याउँछ ।

परदेशको ठाउँ, ड्युटीको कामले व्यस्त भैरहनुपर्ने हुन्छ । उसो त लदिप्मा साहित्यमा पनि रुचि राख्ने भएकाले बिदाको दिन कुनै न कुनै कार्यक्रममा पुगेकी हुन्थिन्, तर यता विवाहअघि लादिप्माको कविताको तारिफ गरेर नथाक्ने उप्मिहाङ भने लादिप्माको स्वतन्त्रता र साहित्यिक यात्राको बाधक बनेर उभिन्छ ।

उनीहरूबीच दरार पैदा हुन्छ । अन्ततः लादिप्माले उप्मिहाङको बन्धनबाट मुक्त हुने निर्णय लिन्छे । सोही सिलसिलामा हङकङबाट भोजपुर आइपुगेकी लादिप्मा फेरि एक्लिएर जिन्दगीको गाडी अगाडि बढाउँछे ।

भौतिक दुरी केही होइन भन्ने आदर्शलाई आख्यानकारले गलत साबित गरेकी छन् । भौतिक दुरीले प्रशान्त र लादिप्माको सम्बन्धको दुरी बढ्दै जान्छ । काठमाडौंको रमझम र परिवेशमा प्रशान्त भिज्दै जान्छ, लादिप्मा परदेशमा सपना बुन्दै जान्छे ।

लेखक बान्तावाले यो उपन्यासमा सरल भाषाशैलीको प्रयोग गरेकी छन् भने नजानिँदो पाराले सशक्त विद्रोह पनि गरेकी छिन् । उनको पात्रले माइतीघर मण्डलामा उभिएर नाराबाजी लाएनन् होला । कहीँकतै झन्डा बोकेर दौडेनन् होला । मसाल जुलुस लगाएनन् होला, तर उनले उपन्यासमा महिला मुक्तिको आवाज उठाएकी छन् । महिला सक्षम भयो भने विवाह नामको सम्बन्धमा विचार नमिल्दानमिल्दै, भावना नमिल्दानमिल्दै जबरजस्ती घिस्रिनु पर्दैन भन्ने प्रस्टसँग लेखेकी छन् ।

‘प्याउली’ एक सामाजिक उपन्यास हो । यसमा उपन्यासकारले सामाजिक अवयवहरू, सामाजिक विषयवस्तुहरू मज्जाले टिपेकी छन् । सामाजिक चरित्र र समाजमा दैनन्दिन घटिरहने घटना, बेरोजगारीको समस्या र वैदेशिक रोजगारीको लागि दिनहुँ देश छोड्नेहरूको हुल र लर्कोमा लर्को लागेर प्रमुख पात्रलाई हङकङ पुर्‍याएकी लेखकले सुधारवादी चिन्तनको प्रयोग गरेको पाइन्छ ।

उपन्यासमा उनले कतै कपडा छनोट गर्ने सन्दर्भमा या प्रेम र विवाह अनि सासूले लगाएको वचन, जिम्मेवारीको सन्दर्भमा थुप्रै ठाउँ थुप्रै पटक विद्रोह गरेकी छन् । उसो त उपन्यासको प्रमुख पात्र लादिप्माको उप्मिहाङसँगको दोस्रो विवाह आफैंमा विद्रोह हो भने उनको स्वतन्त्रतामा लागेको बाँध बन्धन तोडेर एक वर्षे सम्बन्ध टुंग्याउनु कम विद्रोह होइन ।

दुईदुई पटकको विवाह असफल भए तापनि जिन्दगीलाई लय दिनुपर्छ भन्ने प्रगतिशील विचारको स्थापना उपन्यासमा लेखकले गरेकी छन् । पितृसत्तात्मक समाजले महिला जति सबल भए पनि पुरुषको नियन्त्रणमा राख्न चाहने र चार भित्ताभित्र बाँधेर राख्ने यो समाजसँग उनले विद्रोह गरेकी छन् । उनले साधारण महिलाको जीवन संघर्षलाई मिहिन तरिकाले टिपेर लेखेकी छन् ।

२७ उपशीर्षकमा लेखिएको यो उपन्यास पढ्दै जाँदा सुरुका खण्डहरूमा भने उनले प्रमुख पात्र लादिप्मामा लोग्नेमान्छेको दासी बन्ने रहर उमारेकी छन् । चिया पकाएर बेडसम्म पुर्‍याउन पाए सौभाग्य हुने परिकल्पना गरेकी छन् । जहाँ पुगेपछि यतिसम्मको दासताको कथन गरेर लादिप्मालाई नउभ्याएको भए हुने भन्ने लागेकै हो, तर कथा अघि बढाउन उनले यो परिवेशको निर्माण गरेको पाइन्छ । यसले यदाकदा लेखकभित्र त्यही पितृसत्तात्मक समाजले सिकाएको संस्कार अवचेतन मस्तिष्कमा रहेको चाहिँ देखिन्छ ।

उनले उपन्यासमा महिला मुक्तिको आवाज उठाएकी छन् । महिला सक्षम भयो भने विवाह नामको सम्बन्धमा विचार नमिल्दानमिल्दै, भावना नमिल्दानमिल्दै जबरजस्ती घिस्रिनु पर्दैन भन्ने प्रस्टसँग लेखेकी छन् ।

उपन्यास लेख्नु आफैंमा निकै कठिन काम हो । परिवेश, कथावस्तु, चरित्र निर्माण गर्नु, संवाद र सिलसिलेवर मिलाउनु कम कठिनाइ हुन्न, तर लेखकले उपन्यासमा एकदमै सीमित पात्रहरू राखेकी छन्, जसले गर्दा उपन्यास पढिसकेपछि पात्रको सम्झना हुन्छ, पात्रसँग जोडिएको हरेक सन्दर्भ सरर खुल्दै जान्छ । यो लेखकको सबल पक्ष हो ।

उनले लादिप्मालाई प्रमुख पात्रमा उभ्याएर त्यसैको पेरिफेरिमा राई माइला, राई माइली, दाजु चन्द्र सर, साथीहरू आशा, कल्पना, जानुका, सुब्बा साइँला, सुब्बेनी साइँलीलगायतलाई सहायक पात्र बनाएकी छन् । यस उपन्यासमा लादिप्मा, प्रशान्त र उप्मिहाङ यी तीन पात्र सम्झन सक्यो भने पूरै उपन्यास आफैं खुल्छ ।

उपन्यासकारले भोजपुर, झापा, काठमाडौं र हङकङलाई परिवेश बनाएर कथा बुनेकी छन् । यस उपन्यासमा लेखिकाले किराँती संस्कार, संस्कृति, चलन, मौलिकतालाई कहीँ न कहीँ जोडेकी छन् । उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको बान्तावा भाषाको ज्ञान र प्रयोग अनि भाषाप्रतिको प्रेम हो भनेर भनिसकें । उपन्यासमा बान्तावा भाषाको राम्रो प्रभाव पाइन्छ ।

वर्तमान परिवेशमा कथा उठान गरेर जीवनको विभिन्न घुम्तीहरू फर्कंदै कथा भन्ने उनले हरेक खण्डमा कौतुहल छोडेकी छन् । ‘प्याउली’ सरल र आममहिलाको साझा कथा भएको हुनाले पनि यो यथार्थपरक उपन्यास हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *