वडाध्यक्षको पहल, उपमेयरको सुझबुझ र कर्मचारीको साथले प्रशासकीय अधिकृतको महानगर फिर्ती

काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षक, कर्मचारीहरुले तीनदेखि पाँच महिनासम्मको तलब पाइरहेका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर बालेन साहले काठमाडौं टावरको नक्सापासमा गर्दा भ्रष्टाचार गरेको आरोप लगाएर कार्यालय प्रवेशमा निषेध गरे महानगर कर्मचारी हाकिमविहीन बनेका थिए ।

मेयरले छानबिन समिति नै बनाएर अनुसन्धान अघि बढाए । समितिले बुझाएको प्रतिवेदनमा गुरागाईं दोषी नदेखिएपछि मेयर साहले आफनै कर्मचारीलाई राय लेख्न लगाए ।

तर, पनि उनले चाहेजस्तो राय आएन । यो तीन महिना ५ दिनमा काठमाडौं महानगरपालिकाको आर्थिक गतिविधि ठप्प भयो, जसको आक्रोश मेयर साहले फेसबुकबाट पोखिरहन्थे ।

गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको १५ दिनपछि नै मेयर साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरे ।

तर मन्त्रालयले महानगरमा गुरागाईंको दरबन्दी कायम रहेकाले उनलाई अन्यन्त्र सरुवा गर्न पनि नमिल्ने र उनको ठाउँमा अर्को कर्मचारी पनि पठाउन नमिल्ने जवाफ दिएपछि मेयर साह संघीय सरकारमाथि खनिन थाले ।

उनले संघीय सरकारलाई धम्की समेत दिए । गत साता एक स्टाटस लेख्दै एक हप्ताभित्र आफनो कर्मचारीले तलब नपाए टुकुचामा गाडिदिने धम्की दिएका थिए ।

महानगर स्रोतका अनुसार उनको उक्त स्टाटसको आशय महानगरमा आर्थिक अधिकार भएको निमित्त वा नयाँ प्रशासकीय अधिकृत पठाइदिए हुन्थ्यो भन्ने आशामा थियो ।

तर मन्त्रालयले बालेनको अल्टिमेटमलाई टेरपुच्छर लगाएन । नयाँ प्रशासकीय अधिकृत पठाउने कुनै तयारी गरेन । त्यही बीचमा एक महिना अघि गुरागाईंले काठमाडौं महानगरपालिकामा काम गर्ने वातावारण बनाइदिन भन्दै पत्र पठाएका थिए ।

महानगरका कर्मचारीहरुले पनि मेयर साहकै कारण आफूहरुले तलब नपाएको र प्रशासकीय अधिकृत गुरागाईंलाई जसरी पनि ल्याउनुपर्छ भन्दै दबाब दिन थाले ।

यता वडाध्यक्षहरुले पनि गुरागाईं दोषी नदेखिएपछि उनलाई हाजिर गराउन जोड बल गर्न थालिसकेका थिए । वडाध्यक्षहरुको तर्फबाट यसको समन्वय १७ नम्बर वडाका वडाध्यक्ष नविन मानन्धरले गरेका थिए ।

उनी महानगरको प्रवक्ता समेत हुन् । १६ वटा वडाका वडाध्यक्षहरुले बैठक बसेर समितिले बुझाएको प्रतिवेदन हेर्न पाउनुपर्ने र कार्यपालिका बैठक बोलाउन माग गर्दै मेयर साहलाई ज्ञापन पत्र बुझाए ।

तर, मेयर साहले चासो नदिएपछि उपमेयर सुनिता डंगोलसँग सहकार्य गरेर गुरागाईंंलाई कार्यलय फर्काउने कोशिस गरेका थिए । वडाध्यक्षहरुलाई उपमेयर डंगोलले समर्थन जनाइन् ।

मेयर बालेन भने रिसको झोकमा काठमाडौं टावर नै भत्काइदिने तरखरमा लागे । उनले यसका लागि अध्ययन गर्न समिति समेत बनाइसकेका छन् । बालेनको उक्त निर्णयको विरोधमा वडाध्यक्षहरु उत्रिएका छन् ।

१७ नम्बरका वडाध्यक्ष तथा काठमाडौं महानगरको प्रवक्ता समेत रहेको नविन मानन्धरले अहिले बनेको सरंचना नियमसंगत नै रहेकाले भत्काउन नहुने जोड दिइरहेका छन् । तर, बालेन भने भ्रष्टाचारको भित्री कुरा उजागर हुने भन्दै सरंचना नै भत्काइदिन चाहन्छन् ।

त्यसबाट प्रवक्ता मानन्धर बालेनसँग थप बिच्किए । उनले अरु वडाध्यक्षहरुसँग पनि लविङ गर्न थाले । अरुले साथ पनि दिए । गुरागाईं मंगलबार नै कार्यालय प्रवेश गर्ने चर्चा चल्यो ।

केही वडाध्यक्षहरु स्वागतका लागि कमलादीस्थित महानगरको कार्यालय पुगेका थिए । तर गुरागाईं आइपुगेनन् । स्रोतका अनुसार मंगलबार अनुकुल नदेखिएपछि उनी आउन नचाहेका हुन् ।

मंगलबार पनि कार्यालय समयमा नपुगेपछि अब आउँदैनन् कि भन्ने कर्मचारीहरुमा परेको थियो । तर, अन्ततः उनी जिम्मेवारी सम्हाल्न कमलादी पुगे । उनले सजिलै प्रवेश भने पाएनन् ।

यस्तो थियो रसाकस्सी

महानगरका कर्मचारीहरु तलब नपाएको भन्दै आक्रोशित थिए । एकलौटी गरेको भन्दै मेयरविरुद्ध नै आन्दोलन गर्न समेत तयार थिए उनीहरु । हिजोसम्म कार्यालयमा बिहीबार प्रमुख प्रशासकीय अधिकृत आउने खबर थिएन ।

बिहान वडाध्यक्षहरुमा खबर पुग्यो । बिहीबार १० बज्दा नबज्दै महानगरका कर्मचारी, वडाध्यक्षहरु, सफाई कर्मचारीहरु महानगर कार्यालय पुगिसकेका थिए ।

वडाध्यक्ष मानन्धरलाई समर्थन गर्दै कर्मचारी र जनप्रतिनिधिहरु एकजुट भए । उक्त खबर फैलिएपछि मेयर बालेन साहले नगरप्रहरी प्रमुखलाई गुरागाईंलाई कुनै हालतमा कार्यालय छिर्न नदिन आदेश दिएका थिए ।

सोही आदेशअनुसार नगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयको गेटदेखि कार्यकक्षसम्मै नगरप्रहरी खटाए । उनले कुनै हालतमा छिर्न नदिन निर्देशन दिए ।

नगरप्रहरीहरु पनि बाक्लो संख्यामा उपस्थित थिए । गुरागाईंको कार्यकक्षमा एक हुल नगरप्रहरी देखेपछि एक महिला कर्मचारीले व्यग्य गर्दै भनिन्, ‘हाम्रै कर्मचारीलाई बाटो छेक्न बसेको हो कि स्वागत गर्न ?’

नगरप्रहरीले गुरागाईंलाई रोक्न यतिसम्म गर्यो कि उनको गाडी ह्विल लक समेत गरिदियो । तर गाडीमा लक लगाइए पनि गुरागाईंको खुट्टा लक भएन । उनी न्यानो स्वागत खाँदै कार्यालय भित्रिए ।

अस्थायी कर्मचारीहरु पनि गुरागाईंकै समर्थनमा उभिएर नगर प्रहरीसँग भिड्न तयार थिए । केही कर्मचारीहरु मेयर साहले कर्मचारीको अपमान गरेको बताउँदै सधैभरि लखेटेर हुन्छ ? भन्दै प्रश्न गरिरहेका थिए ।

एक कर्मचारीले भनिन्, ‘सरोज गुरागाईंले गलत गर्नुभएको रहेछ भने कारबाही गर्ने निकाय छ । होइन भने हाजिर गराउनुपर्छ । कोही एक व्यक्तिले मात्र कारबाही गर्ने अधिकार छैन ।’

अर्की एक सफाइ कर्मचारीले तलब नआएकै कारण बच्चाको परीक्षा रोकिएको बताउँदै ऋण खोजेर तिरेको सुनाइन् ।

स्थानीय तह कर्मचारी युनियनको केन्द्रीय अध्यक्ष नरबहादुर साउदले महानगरपालिका फेसबुक स्टाटसको भरमा नचल्ने टिप्पणी गरे ।

उनले भने, ‘३२ वटा वडाध्यक्ष हुनुहुन्छ । कार्यपालिका सदस्य, मेयर छन्, उपमेयर छन् । मेयर साव यहाँ आउनुभएको भए हामी पनि सुन्थ्यौं नि उहाँका कुरा उहाँ हाम्रा कुरा सुन्न तयार नै नहुने । अनि कार्यकारी आउँदा उहाँले रोक्ने । नगर प्रहरी लगाएर ह्वील लक गरेका छन् । यस्तो अत्याचार गर्न पाइन्छ ?’

त्यहाँ सहभागी कर्मचारीहरु आफूहरु स्वैच्छाले गुरागाईको स्वागतका लागि आएको बताएका थिए ।

त्यही छेउमा नगर प्रहरी प्रमुख पाण्डेलाई सम्झाइरहेका थिए वडाध्यक्ष मानन्धर । उनले गुरागाईंलाई अवरोध नगर्न आग्रह गरे । तर पाण्डे मान्ने पक्षमा थिएनन् ।

त्यसअघि मानन्धरले नगर प्रहरीहरुलाई पनि अवरोध नगर्न आग्रह गरिरहेका थिए । गुरागाईं गाडीबाट झरेपछि सुरुमै वडाध्यक्ष मानन्धरले छेकेर अगाडि बढाए । उनी अघि–अघि, पछि–पछि गुरागाईं थिए ।

नगर प्रहरीले गुरागाईंलाई रोक्न कोशिस गरिरहेका थिए । तर, मानन्धरको साथमा अन्य जनप्रतिनिधि र कर्मचारीले घेरेर अगाढि बढाए । नगरप्रहरी पछि हट्न बाध्य भए । नगरप्रहरी हटेपछि कर्मचारीले खुशी हुँदै हुटिङ गरेका थिए ।

कार्यालय प्रवेश गरे पनि गुरागाईंको कार्यकक्षमा ताला लागेको थियो । मेयर बालेनले नै ताला लगाएर चाबी खल्तिमा बोकेर हिँडेको चर्चा गरिरहेका थिए कर्मचारी ।

वडाध्यक्ष र कर्मचारीहरुले ताला तोड्न खोज्दा ढोकाको सिसासमेत फुट्यो । त्यहीबेला उपमेयर सुनीता डंगोलको पनि इन्ट्री भयो । उनको उपस्थितिपछि कर्मचारीहरुमा पनि हौसला मिल्यो ।

उपमेयर कडा रुपमा प्रस्तुत भएपछि नगरप्रहरी प्रमुख पाण्डे अलिकति हच्किए । उनले पाण्डेलाई ‘तपाईंले मेयरको लिखित आदेशमा ताला लगाउनुभएको कि मौखिक आदेशमा ? भनेर सोधिन् । पाण्डेले मौखिक आदेशमा लगाएको जवाफ दिए ।

उपमेयर डंगोलले तत्कालै अनौपचारिक बैठक डाकिन् । सबैजना मिटिङ रुममा पसे । वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको अनौपचारिक बैठक चलिरहँदा पाण्डेको नेतृत्वमा एक हुल नगरप्रहरी प्रशासकीय अधिकृतको ढोकामा घेरा हालेर बसे ।

पाण्डेले कार्यालयको आदेश पालना गरेको बताउँदै आफूहरुले पनि तीन महिनादेखि तलब नपाएको सुनाए । नगर प्रहरीले गुरागाईंको कार्यकक्षमा अवरोध गरिरहँदा उपमेयर डंगोलले ताला तोडेर अधिकृतलाई हाजिर गराउन दिने निर्णय गरिन् । सोही अनुसार कर्मचारीहरुले ताला तोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए । र हाजिर गराए ।

निराश अधिकृत बसे मौन

कार्यकक्ष प्रवेश गरेर हाजिर गरेका गुरागाईंले पत्रकारहरुले सोधेको प्रश्नको खासै जवाफ दिएनन् । भोलिपर्सी भनौला भन्दै प्रश्न टारे । उनी निराश देखिन्थे ।

पत्रकारहरुले उनलाई अब शिक्षक–कर्मचारीहरुले तलब पाउँछन् त भनेर सोधेका थिए । उनले उत्तरमा ‘पाउनुपर्ने हो’ मात्रै भने । भोलिदेखि पनि तपाईंलाई यसरी नै भित्र छिराउनुपर्ने हो कि समाधान निस्किन्छ भन्ने प्रश्नमा ‘पछि बोल्छु’ भन्दै पन्छिए ।

गुरागाईं सुरुदेखि नै शान्त देखिन्थे । न त हाजिर गर्न पाएकोमा खुसी देखाए, न त नगरप्रहरीले अवरोध गर्दा आक्रोशित बने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धरले भोलिदेखि प्रशासकीय अधिकृतको प्रवेश सहज हुने दाबी गरेका छन् । भोलिदेखि सबैले सहजरुपमा सेवा पाउने र अब कर्मचारीहरुले तलब पनि पाउने उनको भनाइ छ ।

मानन्धरले सञ्चारकर्मीहरुसँग कुुरा गर्दै भने, ‘काठमाडौं महानगरपालिकाका कर्मचारी आम सर्वसाधारण लगायत श्रमिक वर्गले तलब ज्याला समेत नपाएको अवस्थामा आफनो पद बहाली गर्नुपर्ने अवस्था आयो ।

भोलिको दिनदेखि आम नागरिकलाई सहज ढंगबाट सेवा दिने हामीले अपेक्षा गरेका छौं । आम नागरिकले अब सेवा सुविधा पाउँछन् । भोलिदेखि उहाँको प्रवेश सहज हुन्छ । नगरप्रहरी सबै गइसकेको अवस्था छ । वातावरण सहज भइसकेको अवस्था छ ।’

वडाध्यक्ष मानन्धर भन्छन्- मेयरले समन्वय नगरेपछि हामी अग्रसर भयौं

वडाध्यक्ष नविन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन आफू अग्रसर भएर समन्वय गरिदिएको बताए । मेयर शाहले बेवास्ता गरेपछि आफूले समन्वय गरेको उनको भनाइ छ ।

उनले नेपाल प्रेससँग भने, ‘कर्मचारीहरु कसैले तीन महिना, कसैले ५ महिनादेखि तलब खान पाइरहनुभएको छैन । यो कुरा मेयर बुभ्mनुभएन । देख्नुभएन । उहाँले समाधानतिर लाग्नुभन्दा खाली स्टाटस मात्रै लेखेर बस्नुभयो । न उहाँले प्रधानमन्त्रीलाई भेट्नुभयो, न संघीय मामिला मन्त्रीलाई भेट्नुभयो । समाधान खोज्नुको साटो स्टाटस लेखेर बसेर हुन्छ त ? यस्तो तरिकाले भएन अब कर्मचारीहरु अवस्था पनि हेर्नपर्छ भनेर लागेको हौं ।’

गुरागाईंलाई यसअघि पनि आफूहरुले कार्यालय आइदिन आग्रह गरिरहेको बताउँदै उनले आज बिहान गुरागाईं आफैले फोन गरेर आफूलाई महानगर आएर सहयोग गरिदिन आग्रह गरेको सुनाए ।

उनी भन्छन्, ‘उहाँले मलाई बिहान फोन गर्नुभएको थियो । आज म कार्यालय जाँदैछु, तपाईहरु पनि आएर वातावरण मिलाइदिनुपर्यो भन्नुभएपछि मैले पुगेर माहोल मिलाउने कोशिस गरेको हो । यसमा सबैको साथ दिनुभयो ।’

भोलिबाट के हुन्छ भन्ने प्रश्न चाहिँ यथावत छ । बालेनले भोलि पनि नगर प्रहरीलाई हटाएर गुरागाईंलाई रोक्न खोज्छन् वा खोज्दैनन् भन्ने स्पष्ट भएको छैन ।

Comments

2 responses to “वडाध्यक्षको पहल, उपमेयरको सुझबुझ र कर्मचारीको साथले प्रशासकीय अधिकृतको महानगर फिर्ती”

  1. ksp pyl Avatar
    ksp pyl

    दोषी हो भने कारवाही गर्ने निकायमा प्रमाण सहित उजुरी गर ।होईन भने लोक सेवा लडेर आएको कर्मचारीको मान मर्दन गर्न बालेनलाई छुट छैन किनकी कर्मचारीको जागिर कसैले निगाहमा दिएको होईन ।स्थानीय तहको प्रमुखहरूलाई नियन्त्रण गर्ने संयन्त्र पनि चाहिन्छ कि जस्तो देखियो ।

  2. ksp pyl Avatar
    ksp pyl

    बालेनको प्रवक्ताले चाहिँ विषय बाहिर गएर बोलेको सुन्दा यिनीहरू चाहिनेभन्दा बढी राजनीतिक हुन थालेजस्तो छ । गुरागाईको प्रवेशलाई तिनकुने घटनामा सरकारले हानेको अश्रुग्याँसलाई विषयान्तर गर्न गरेको भनेर वाहियात कुरा गरे । बालेनले केही राम्रो गर्न खोजेको देखिन्छ । तर जुन अवस्थामा हामी छौं त्यसबाट अघि बढने हो । परिस्थितिलाई बुझ्नुपर्छ । परिस्थितिलाई नबुझि काम गर्दा आज जय नेपाल हल छेउ टुकुचा दुर्गन्धित भैरहेको देखिन्छ । घर बनेको, नक्सा पास नै भएको आदि विषयलाई वास्तै नगरी टुकुचा खोल्छु भन्दा आज त्याहाको बिजोगको जिम्मेवार चाहिँ को त ? विषय बुझेर काम गर बालेन । सन्काहा भयौ भने ब्याकफायर हुन्छ । तैपनि राम्रो काम गर्दै जाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *