नेपाली सेनाको शिष्टाचारः बेलायत, भारतदेखि म्यानमारसम्म के गर्‍यो सहयोग ?

काठमाडौं । एन्नी फ्राङ्कको चर्चित भनाइ छ- ‘दिएर कोही गरिब हुन्न’

र, ‘हामीले कत्ति दियौँ भन्दा त्यो दिनुमा कति प्रेम गर्‍यौं भन्ने हो’ भन्ने मदर टेरेसाको अर्को चर्चित भनाइ पनि ।

बुधबारमात्र नेपाली सेनाले भूकम्प प्रभावित म्यानमारलाई सहयोग गर्‍यो । मेडिकल राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको त्यसतर्फ उड्यो । मार्च २८ मा म्यानमार र थाइल्याण्डमा ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको कमाण्डमा १२ जना चिकित्सकीय टोली, ४ जना बन्दोबस्ती सहायता टीम र ६ जना क्रु मेम्बरसमेत गरेर कुल २२ सदस्यीय टोली त्यहाँ पुगेको हो । आवश्यक औषधि एवं इक्युप्मेन्टसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू छन् ।

सेनाको सीएन-२३५ कासा जहाजको यो उडान एक ऐतिहासिक उडान हो । सेनाको यो कदमले ताली पाइरहँदा यसले विभिन्न सन्देश पनि दिएको छ । नेपाल सहयोग लिनेमात्रै देश होइन, दिने पनि हो भन्ने सन्देश दिइएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति सेनामा जागिर गर्न मात्रै होइन आफ्नै बलबुतामा सहयोग गर्न पनि नेतृत्व गर्छ भन्ने सन्देश दिन्छ । र, दिन्छ नेपाली सेना र म्यानमारको सेनाको मानवीय सहायताको क्षेत्रमा भएको मित्रताको एक बिम्ब ।

नेपाल र म्यानमारबीच सन् १९६० मार्च १९ बाट कूटनीतिक सम्बन्ध सुरू भएको हो । तर, यी दुई देशको सम्बन्ध कूटनीतिक तहको हस्ताक्षरभन्दा अझ महत्वपूर्ण छ । म्यानमार (पुरानो बर्मा) मा धेरै नेपाली भाषी छन् । गोर्खा सैनिकहरूको इतिहासमा अध्ययन गर्ने टीम आई गुरुङको भाषामा त नेपाल बाहिर नेपाली भएकोमा सबैभन्दा धेरै गर्व गरेर धर्म, संस्कृति, भाषा जोगाउने भनेकै म्यानमारका नेपाली भाषीहरू हुन् ।

यस्तो मुलुकलाई नेपाली सेनाले सहायता दिएर सुन्दर काम गरेको छ । नेपाली सेनालाई सहायता दिने माहोल बनाएर केपी ओली सरकारले राम्रो मानवीय सहायता क्षेत्रको कूटनीतिक कदम चालेको छ । प्रधानमन्त्री ओलीले सहायताको बारेमा सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्रराष्ट्र म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको छ । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरूसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।’

उसो त म्यानमारले पनि नेपाललाई सत्ता एवं व्यक्तिगत दुवै पक्षबाट गुन लगाएको छ । २००७ सालको क्रान्तिमा हतियार दिने देश म्यानमार थियो । सन् १९९० मा नोबेल शान्ति पुरस्कार पाउने आङ साङ सुकीले सन् १९८५ मा नेपाली पर्यटनलाई सहयोग गर्ने पुस्तक ‘लेट्स भिजिट नेपाल’ बेलायतबाट प्रकाशन गरेकी थिइन् । राजा वीरेन्द्रले विश्वमाझ सारेको ‘शान्ति क्षेत्र’को प्रस्तावमा सन १९८० मा म्यानमार सरकारले साथ दिएको थियो ।

नेपाली आवासीय दूतावास भएको देश र जनस्तरको सम्बन्ध बलियो भएको देशमा नेपाली सेनाले सहयोग गर्ने वातावरण बन्नु आफैँमा सुन्दर कुरा हो । अझ विभिन्न संकटले झेलिएको देशमा मानवीय क्षेत्रमा गरेको सहयोगको अर्थ धेरै नै हुन्छ ।

म्यानमारमा केन्द्रबिन्दु बनाएर थाइल्याण्ड र आसापाका अरु मुलुकमा पनि झड्का महसुस भएको भूकम्पले म्यानमार थिलथिलो भएको छ । एकातर्फ गृहयुद्ध, अर्कोतर्फ अमेरिका नेतृत्वको पश्चिमा विश्वको नाकाबन्दी । र, यसैबीचको विनाशकारी भूकम्प । यस्तो बेलामा नेपालले म्यानमारलाई देखिने गरी सहयोग गरेर कूटनीतिको मानवीय मोर्चामा साथ दिएको छ । म्यानमारलाई मेडिकल क्षेत्रमा मात्रै सहयोग नगरेर भूकम्प आउनासाथ नेपाली सेना, सशस्त्र प्रहरीबाट उद्धार टोली पठाइएको भए अझ प्रभावकारी हुन्थ्यो । २०७२ वैशाख १२ को गोरखा महाभूकम्पको अनुभवले नेपाली सेना र सशस्त्र त्यस खालका सहायोग गर्न दक्ष संगठनहरू पनि हुन् ।

नेपाली सेनाको गर्विलो इतिहासः बेलायतदेखि भारतसम्मको सहयोग

दोस्रो विश्व युद्धमा नेपाल अमेरिका, बेलायत तथा रुसहरूको पक्षमा थियो । जापान, जर्मनी र इटालीको विपक्षमा थियो । नेपाली सेना र बेलायती सेनाको त गोर्खा भर्तीसँगै सम्बन्ध बनेको थियो । तर, अमेरिकासँग पनि दोस्रो विश्व युद्धको म्यानमार मोर्चा (तत्कालिन बर्मा) ले नेपाली र अमेरिकी सेना जोडिएका थिए ।

‘अमेरिकी मिट्स नेपाल’ नामक पुस्तकमा लेखक डानियल डब्लू एडवर्डले बर्माको लेदो रोडको गार्ड गर्दा नेपाली र अमेरिकी सैनिकहरू भेट भएको भन्दै नेपाली सेनाको अमेरिकी नेतृत्वलाई गरिएको सहयोगको चर्चा गरेका छन् ।

सन् १९४५ मे २१ मा मेजर जनरल कृष्णशमशेर नेपाली टुकडीको दिल्ली मुख्यालयमा हुँदा उनलाई धन्यवाद दिएर दिल्लीमा भएका अमेरिकन कमिसनर जर्ज मरेलले पत्र समेत लेखेका थिए ।

बेलायत र भारतलाई नेपाली सेनाले गरेका सहयोगका अन्य उदाहरण यहाँ चर्चा गरिएको छ ।

बेलायतलाई सिपाही विद्रोहदेखि विश्व युद्धमा सीमा रक्षासम्मको सहयोग

नेपालले गोर्खा भर्तीको २१० वर्षको इतिहासमा बेलायतमा लाखौं युवा बेलायती सेनमा पठाएर सहयोग गरेको छ । सन् १८१५ बाट गोर्खा भर्ती सुरू भएर सुरूसुरूमा भारतबाट भर्ती हुन्थ्यो । सन् १८८६ बाट भने नेपालबाटै भर्ती सुरू भयो । यो त भयो युवाहरू बेलायती सेनामा पठाएर गरिएको सहयोग । योबाहेक पनि नेपालले बेलायतलाई नेपाली सेना पठाएर पनि सहयोग गरेको छ ।

त्यसको एक निर्णयक सहयोग सन् १८५७ मा भएको सिपाही विद्रोह । त्यो समयमा नेपाली सेनाले विद्रोह दबाउन निर्णायक भूमिका खेलेको थियो । प्रधानमन्त्री जंगबहादुर राणा आफैँले नेतृत्व गरेर विद्रोह दबाउन गएका थिए । बेलायतले गरेको पहिलो विश्व युद्धमा चन्द्रशमशेरले आफ्नो टुकडी बेलायतको अधिनमा रहेको भारतका पश्चिम किल्लाको रक्षा तथा तत्कालीन युनाइटेड प्रान्तको सीमा रक्षामा खटेर सहयोग गरेका थिए । त्यो भन्दा अगाडि सन् १९०३ मा बेलायतले तिब्बत हमला गर्दा पनि नेपाली सेनाले सहयोग गरेको थियो । सैन्य मोर्चामा भन्दा पूर्वाधार र अरु बन्दबस्तीका मोर्चामा नेपाली सेनाको साथ थियो ।

भारतीय सेनालाई निर्णायक सहयोग

भारत स्वतन्त्र हुनासाथ बिहार, पश्चिम बंगाल र हैदारावाद क्षेत्रमा विभिन्न तनावहरू भए । जातीय दंगा भए । गणराज्य भारतमा गाभिन अनिच्छुक क्षेत्रलाई गाभ्ने मिसनमा सैन्य सहयोग चाहियो । त्यसको एक खाले पूर्ति नेपाली सेनाले गर्‍यो । तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले आफ्ना छोरा शारदा शमशेरकै नेतृत्वमा सैन्य टोली पठाएर सहयोग गरे ।

सन् १९४८ मा नेपाली सेनाले हैदरावाद एक्सनमा साथ थियो । नेपाली सेनाको टोली राँची, देहरादुन, रामगर, कोलकाता हुँदै सन १९४९ मार्चमा नेपाल आयो । नेपाली सेनाले ८ महिना भारतमा भएर सैन्य सहयोग गरेको थियो ।

नेपाल मामिलामा जानकार भारतीय प्राध्यापक एसडी मुनिले लेखेको पुस्तक ‘फरेन पलिसी अफ नेपाल’ र ‘आयो गोर्खाली’का लेखक टीम आई गुरुङले नेपालले भारतलाई गरेको सैन्य सहायोगको चर्चा गरेका छन् ।

Comments

One response to “नेपाली सेनाको शिष्टाचारः बेलायत, भारतदेखि म्यानमारसम्म के गर्‍यो सहयोग ?”

  1. Arjun Pandey Avatar
    Arjun Pandey

    नेपाली सेनाको आफ्नै कोषबाटभयको सहयोगलाई ओलिले जस लिन खोजेछन भन्ने बुझियो । नेपाली सेनाको मित्ररास्ट्र सम्बन्ध जुन सरकार भयपनी फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *