रक्सी खाएर उपमेयरसँग लफडा गर्ने प्रशासकीय अधिकृत पक्राउ

रुपन्देही । कार्यालय समयमै मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।

उमेर हदका कारण अवकाश पाउन तीन साता मात्रै बाँकी रहेका आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई मङ्गलवार प्रहरीमा लिखित निवेदन नभएकाले छाडिए पनि बुधवार पुनः पक्राउ गरिएको हो ।

उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत आएर झगडा गरेपछि पाण्डेले मेयर छविलाल थारुलाई बोलाएकी थिइन् ।

‘प्रमुख अधिकृत आचार्य मदिराको नशामा मेरो कार्यकक्षमा आएर टेबल ठोक्दै धम्की दिनुभयो, मेयर र मलाई ‘सडक छाप’ बनाइदिने र घर जलाइदिने जस्ता आक्रामक बोलीहरू प्रयोग गरेपछि मैले मेयरलाई बोलाएर प्रहरीमा उजुरी गरेका हौँ’ उनले भनिन् ।

मङ्गलवार पक्राउपछि उनलाई मेडिकल गरिएको र मदिरा सेवन गरेर कार्यालयमा गएको पाइएको प्रहरीले जनाएको थियो । बुधवार कार्यपालिकाकाको बैठक बसेर मेयर उपमेयरसँग सार्वजनिक रूपमा माफी माग्न आए दिने निर्णय भए पनि नआएको उपमेयर पाण्डेले बताइन् । उनले आफूहरूले उजुरी नदिएको तर पक्राउ परेको बताइन् ।

मेयर छविलाल थारूका अनुसार आचार्यले कार्यालयको नियमित समयमा उपस्थित नभएर मातहत कर्मचारीहरूलाई अनियमित रूपमा अवकाश पत्र वितरण गर्न खोजेका थिए, जुन मेयरले रोकिदिएपछि आचार्यले फोनमै मेयरलाई धम्की दिएपछि विवाद बढेको हो । उता आरोपित आचार्यले फेसबुकमा मेयर थारूमाथि ‘पावर टिलर खरिदमा घुसखोरी’को आरोप लगाएका छन् । आचार्य आगामी वैशाख १४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *