काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको स्वास्थ्य जाँच र उपचार प्रवन्धका लागि जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । नेताद्वयको म्याद थपका लागि भएको सुनुवाइपछि न्यायाधीश ढाकाराम पौडेलले सो आदेश दिएका हुन् ।
महामन्त्री राणा क्यान्सर सर्भाइभर हुन् । वरिष्ठ उपाध्यक्ष मिश्रलाई कोलस्ट्रोलको समस्या छ । उनीहरु दुवैले नियमित औषधि सेवन गर्ने गरेका छन् । अघिल्लो पटक पनि अदालतले धवल शमशेरको हकमा स्वास्थ्य जाँच गर्न भनेको थियो । उनलाई वकिलहरुले अस्पताल बस्न पनि सुझाव दिएका थिए, तर राणाले मिश्रलाई छाडेर अस्पताल नबस्ने अडान लिए ।
जिल्ला प्रहरी परिसर काठमाडाैकाे हिरासतमा रहेका मिश्र र राणालाई यसअघि आमकैदीसँगै एउटै लस्करमा सुताउने गरिएको थियो । तर राप्रपाका केही नेताहरुले उमेर, स्वास्थ्य र राजनीतिक व्यक्ति भएकाले उनीहरुलाई सँगै सुत्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यसपछि अस्तिदेखि दुई नेतालाई छुट्टै सुत्ने व्यवस्था मिलाइएको प्रहरी स्रोतले जानकारी दियो ।
आज दोस्रोपटक म्याद थपको आदेश जारी गर्दै अदालतले यस्तो भनेको छः
म्याद थप हुने नहुने सम्बन्धमा विचार गर्दा अन्य प्रतिवादीहरुसमेतको बयान गर्ने, आगलागी तोडफोड क्षतिसम्बन्धी विवरण संकलनलगायतका कार्य गर्न भनी जिल्ला सरकारी वकिल कार्यालयको च.नं. ६३७६९ बाट कारण खुलाई माग भएको र अनुसन्धान गर्न दिन मनासिव देखिएकोले डा. धवल शमशेर जबरा र रवीन्द्र मिश्रलाई आवश्यक स्वास्थ्य जाँच र चिकित्सकको सिफारिसअनुसार उपचार प्रवन्ध गराउने गरी मिति २०८१।१२।२० देखि लागू हुने गरी ६ (छ) दिनको म्याद थप अनुमति प्रदान गरिदिएको छ ।


Leave a Reply