वीरेन्द्र मारिँदा कपाल खौरिएको सम्झिँदै गगनले भने- कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको बताएका छन् । रुपन्देही पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिने प्रयास गरिरहेको बताए ।

महामन्त्री थापाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाउन चाहनुहुन्छ । भाँडभैलो मच्चाएर, उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन लिएर चलाउन खोज्दै हुनुहुन्छ । यसमा कुनै लुकाउनुपर्ने कारण छैन ।’

उनले कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी नभएको पनि बताए ।

थापाले भने, ‘बीपी कोइरालालगायतले यो पार्टी बनाउँदै गर्दा त्रिभुवन राजा जतिबेला भागेर भारत जानुभयो, त्यो बेलामा उहाँलाई भारतै छाडेर आउन पनि सकिन्थ्यो होला, तर सँगै लिएर आउनुभयो । महेन्द्र राजाले ‘कु’ गरेर बीपी कोइरालालाई ८ वर्ष थुनेर भारत प्रवासमा बसेर हातमा ७ वटा ज्यान मुद्दा लिएर नेपाल फर्किँदै गर्दा पनि बीपी र गणेशमानले भन्नुभयो, राजा जति खराब भए पनि हामी संविधानभित्र बस्ने राजा चाहन्छौं भनेर आएको पार्टी हो, लुकाउनुपर्ने कारण छैन । हामी जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन । हामी यो मञ्चमा बसेकाहरु राजा चाहिन्छ भनेरै आएका हौं। राजा मानेरै आएका हौं।’

राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै उनले अब राजालाई संवैधानिक बनाउन नसकिने बताए ।

अहिले निर्मल निवासमा त यति धेरै उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटीमा बसेको भए कति मच्चाउँथे होला भन्दै उनले प्रश्न गरे ।

Comments

One response to “वीरेन्द्र मारिँदा कपाल खौरिएको सम्झिँदै गगनले भने- कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    जे पायो त्यही बोल्छ, तेरै पार्टीको गृहमन्त्रीको आदेशमा जनहत्या भएको हो। राजाले त्यसो गरेको भन्ने के प्रमाण छ? निर्देशन दिएको कुनै सबूत छ ? दिउसै ढाट्ने काम बन्द गर्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *