गणतन्त्रको रक्षार्थ देशभरका ३५ हजार जनप्रतिनिधि डटेर लाग्ने पालिकाका नेताहरूको प्रतिबद्धता

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ समुन्नत लोकतन्त्र मात्र भएको भन्दै प्रतिगमन तथा निरङ्कुश शासन व्यवस्थाको कुनै कल्पना गर्न नसकिने बताएका छन् ।

महासंघ र संघले संयुक्त रुमा प्रेस विज्ञप्ती जारी गर्दै चैत १५ मा काठमाडौंको तिनकुनेमा राजबादीको नाममा भएको घटना र त्यस यताका राजनीतिक घटनाप्रति महासंघ र संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ समुन्नत लोकतन्त्र मात्र हो र प्रतिगमन तथा निरङ्कुश शासन व्यवस्थाको कुनै कल्पना गर्न सकिदैन । पछिल्ला घटनाक्रम हेर्दा यो व्यवस्था माथीकै प्रहार भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भको रुपमा रहेका हामी स्थानीय सरकारका ३५ हजार जनप्रतिनिधि यस प्रकारका अभियान र घटनाको बिरोध गर्दै व्यवस्थाको संरक्षण र सम्वर्द्धनमा डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मिदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

महासंघ र संघले आन्दोलनको नाममा भएको सार्वजनिक तथा निजी सम्पति, राजनैतिक दलका कार्यालय, संचार गृह एवं सवारी साधनमा पुर्याएको हानी नोक्सानी एवं लुटपाट र सर्वसधारणमा भय त्रास सृजना गर्ने गरी भएको कार्यको भत्सर्ना पनि गरेका छन् ।

साथै लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्डको पुरै वेवास्ता गरी गराइएको उक्त घटनामा संलग्न र आयोजना गर्ने पक्षलाई कडा कानुनी कार्वाहीको दायरामा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त घटनामा परी दुई जनाको निधन भएकोमा दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली सहित शोक शन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै परिवारलाई उचित क्षतिपूर्ती एवं राहत उपलब्ध गराउन सरकार समक्ष अनुरोध गरेको छ ।

महासंघ र संघले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न आवश्यक पर्ने न्युनतम कानुन तत्काल जारी गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन प्रबद्र्धनमा जोड दिन संघ र प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *