प्रचण्डले सुकुमबासीलाई भरतपुरमा बाँडेको लालपुर्जाको अभिलेख मालपोतमा नभेटिएपछि… (भिडिओ)

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २ आँपटारी क्षेत्रमा बस्दै आएका भूमिहीन दलित र सुकुमबासीलाई तत्कालीन राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको समितिले दुई चरण गरी लालपुर्जा वितरण गर्ने निर्णय गर्‍यो ।

सोहीअनुसार पहिलो चरणको लालपुर्जा वितरण गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं उपस्थित भए । पहिलो चरणमा ४७ जना सुकुमबासी दलितलाई उनीहरुले भोगचलन गरेकै जमिनको लालपुर्जा प्रचण्डको हातबाट बाँडिएको थियो ।

दोस्रो चरणमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबाट २०७९ भदौ ५ गते १३३ जनालाई जग्गाधनी पुर्जा वितरण गरियो ।
आवासीय प्रयोजनको लागि भनेर वितरण गरिएको लालपुर्जामा सदस्य सचिवको हैसियतमा तत्कालीन नापी कार्यालय चितवनका प्रमुख गिरीशकुमार लाल कर्ण र तत्कालीन भूमि समस्या समाधान आयोगका अध्यक्ष बद्रीनाथ तिमिल्सिनाले हस्ताक्षरसमेत गरेका थिए ।

तर सुकुमबासीले नक्सा तथा श्रेस्ता खोज्न जाँदा आफ्नो जमिनको मालपोतमा अभिलेख नै पाएनन् । अहिलेसम्म नापी कार्यालय चितवनमा पनि उनीहरुको जमिनको नक्सा छैन । सुकुमबासीअन्तर्गत आँपटारीको मिलन र इन्द्रेणी टोलका बासिन्दाले पाएको लालपुर्जाको अभिलेख आधिकारिक निकायमा नभेटिएपछि अहिले उक्त रातो किताब कागजको खोस्टोमात्रै हो कि भन्ने आशंका भएको छ ।

लालपुर्जा पाएको ३ वर्ष पूरा भइसकेपछि पनि अभिलेख नपाएका मिलन टोलका भेषनाथ चौलागाईंसहित ४० जनाले मंगलबार भूमि समस्या समाधान आयोग चितवनमा पुगेर ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जमिनको अभिलेख नभएको गुनासो गरे ।

नेपाल प्रेससँग कुरा गर्दै चौलागाईंले भने, ‘हामीले पाएको जमिनको अभिलेख कतै पनि नभएपछि यो कागजको खोस्टोमात्रै हो कि भन्ने आशंका भयो । त्यसैले यो विषय बुझिदिन भूमि आयोग गएका हौं ।’

किन अभिलेख भएन मालपोत र नापी कार्यालयमा ?

नेपाल सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम गर्न एउटा कार्यविधि बनेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८१ अनुसार ३८ वटा प्रक्रिया सम्पन्न गरेपछि मात्रै जमिनको लालपुर्जा उनीहरुको हातमा पर्छ ।

जमिनको लालपुर्जा दिएरमात्रै भूमि समस्या समाधान आयोगको काम सकिँदैन । उक्त समितिले जमिनको लालपुर्जा वितरण गरेको ३० दिनभित्र जग्गाको विवरण भूसूचना प्रणालीमा अद्यावधिक गराउनुपर्ने हुन्छ । अझ अर्को महत्वपूर्ण पक्ष यसरी प्राप्त भएको लालपुर्जाअन्तर्गतको जमिन १० वर्षसम्म बिक्री वितरण गर्न नपाउने कुरा पनि भूसूचना प्रणालीमै उल्लेख गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

तर जमिन वितरण गरिएका भरतपुर आँपटारी क्षेत्रका दुई टोलका जमिनको अभिलेख अहिलेसम्म जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पुगेकै छैन । नापी कार्यालय चितवनका प्रमुख नापी अधिकृत सुवास भण्डारी उक्त क्षेत्रमा अव्यवस्थित बसोबासी पनि रहेकाले अभिलेख छुट्याएर नक्सा र फिल्डबुक आयोगले कार्यालयमा बुझाउनुपर्नेमा अहिलेसम्म नआएको बताउँछन् ।

‘आयोगले नापी नक्सा र फिल्डबुक यता नपठाएर आयोगमै राखेका कारण अपडेट हुन नसकेको हो’, नेपाल प्रेससँग कुरा गर्दै भण्डारीले भने, ‘हामीलाई नक्सा र मालपोतमा श्रेष्ता आइपुगेपछि नक्सा र अभिलेख पाइन्छ ।’

जिल्ला मालपोत कार्यालय चितवनका सूचना अधिकारी टीकाराम अधिकारीले पनि जग्गाको लालपुर्जामा तत्कालीन नापी कार्यालय प्रमुखले नै हस्ताक्षर गरेका कारण लालपुर्जा फर्जी भएको हुन नसक्ने बताए ।

तर अभिलेख आफ्नो कार्यालयमा नआइपुगेका कारण भूसूचना प्रणालीमा भने अपलोड नभएको भन्दै श्रेष्ता हस्तान्तरणमा किन ढिलाइ भयो भन्ने थाहा नभएको उनले बताए ।

तत्कालीन भूमि आयोगका अध्यक्ष बद्रीनाथ तिमिल्सिनाले भने सबै आधिकारिक प्रक्रिया पूरा भइसकेको र अभिलेखसमेत नापी कार्यालयलाई दिइसकेको दाबी गरेका छन् । उनले जमिनको लालपुर्जाको बाँकी कागजात जिल्ला भूमि आयोगमै नै रहेकाले त्यही सम्पर्क गर्दा सबै कुरा थाहा हुने दाबी गरे ।

अभिलेख अद्यावधिक नगराउनु तत्कालीन आयोगको कमजोरी

भूमि समस्या समाधान आयोग चितवनले नयाँ अध्यक्ष इमानसिंह मुक्तान नियुक्त भएर आइसकेपछि रत्ननगर नगरपालिका र भरतपुर महानगरको ११ मा पनि लालपुर्जा वितरण गरिसकेको छ ।

अध्यक्ष मुक्तानका अनुसार यसरी वितरण गरिएको लालपुर्जाको नक्सा र श्रेष्ता ३० दिनभित्र नापी र मालपोत कार्यालयमा बुझाएर भूसूचना अभिलेखमा प्रवृष्ट भएपछि मात्रै व्यक्तिको नाममा रहेको जमिनको अभिलेख पूर्ण हुन्छ, तर अघिल्लो कार्यकालको समितिले वितरण गरेको जमिनको लालपुर्जाको विवरण नापी र मालपोत कार्यालयमै नपठाएको पाइएको छ ।

‘उहाँहरुले के कसो कारणले ढिलाइ गर्नुभयो, थाहा भएन’, मुक्तानले भने, ‘हामीले वितरण गरेको लालपुर्जा र तीन वर्षअघिको विवरण हामी तत्कालै समितिको बैठक बसेर निर्णय गरेर मालपोत र नापी कार्यालयमा पठाउँछौं ।’

Comments

One response to “प्रचण्डले सुकुमबासीलाई भरतपुरमा बाँडेको लालपुर्जाको अभिलेख मालपोतमा नभेटिएपछि… (भिडिओ)”

  1. shyam pandey Avatar
    shyam pandey

    कर्मचारीलाइ गाला मा थप्पड लगाइदिनुस पिडित दाजुभाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *