रविसँग सभामुखले भने- तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो, तर…

काठमाडौं । सभामुख देवराज घिमिरे सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्नसक्नेप्रति चिन्तित देखिएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।

उनी आफ्नो सांसद पदको निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका थिए ।

सभामुखसँग भेटेपछि लामिछानेले भने, ‘उहाँले भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्ने कुरा राख्नुभयो । यसप्रति उहाँ सचेत र चिन्तित पनि हुनुहुन्छ ।’

उनले आफूमाथि लगाएकोजस्तो मुद्दा सरकारले हुनेले विपक्षी पार्टीका नेतालाई मात्रै नभई पार्टीभित्रै पनि प्रतिस्पर्धीलाई लाग्नसक्ने सभामुखलाई सुनाएको बताए ।

उनले भने, ‘मैले त्यसो भए आज सदनमा छलफल गरौं न, एक पटकमा कतिजनासम्मलाई निलम्बन गर्न पाउने हो किनभने मुद्दा टेकाइदिए त पुग्यो, मुद्दा किनारा लाग्न कति वर्षौं लाग्छ सबैलाई थाहा छ । यो सरकारले विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टीभित्र पनि प्रतिस्पर्धी छ भने त्यसलाई पनि यो हतियार प्रयोग गर्नसक्ने भयो। त्यसैले मैले यहीबाट समाधान गर्नुपर्छ, राजनीतिक दलहरुसँग कुरा गरियोस् भनेको छु ।’

उनले सभामुखबाटै सांसद पद फुकुवा गर्ने विश्वास भएकाले अहिले अदालत नगएको बताए । यद्यपि, सभामुखले तत्काल लामिछानेको सांसद पद फुकुवा गर्न नसक्ने जवाफ दिएका छन् ।

सभामुखले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो । तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ । कानूनभन्दा माथि कोही छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *