काठमाडौं । तपाईं-हामी धेरैले आवतजावत गर्ने गरेको काठमाडौंको तीनकुने क्षेत्र गत शुक्रबार रणमैदान जस्तो बनेको थियो । सरकारद्वारा परिचालित सुरक्षाकर्मी र राजसंस्था समर्थक आन्दोलनकारी आमनेसामने हुँदा केही अप्रिय घटनाहरू भए ।
अहिले आरोप-प्रत्यारोपको श्रृंखला चलिरहेको छ । सरकारी पक्ष भन्छ- आन्दोलनकारी अराजक भए । आन्दोलनकारी भन्छन्- सरकारले दमन गर्यो । खासमा दुवै सत्य छन्- सरकारले दमन पनि गरेकै हो, आन्दोलनकारी अराजक पनि भएकै हुन् ।
शान्तिपूर्ण सभालाई ताकेर घरको छतबाट मञ्चमै अश्रुग्याँस हान्नु, ‘सामान्य परिस्थितिमै’ गोली चलाएर निहत्था मान्छे मार्नु, विभिन्न नाकाबाट आएका आन्दोलनकारीलाई रिङरोड नै छिर्न नदिनु जस्ता हर्कतहरू सुरक्षा निकायबाट भएकै हुन् ।
यता प्रदर्शनकारीले भने संयममात्रै गुमाएनन्, केही आपराधिक कुकृत्यहरूसमेत गरे, जसले राजावादीको सिंगो आन्दोलनलाई बदनाम बनाइदिएको छ । उनीहरूको यो कार्य नियोजित वा योजनाबद्ध थियो भन्ने चाहिँ देखिँदैन । यदि सरकारले आन्दोलन र विरोधसभा भाँड्न छतबाट अश्रुग्याँस नहानेको भए अन्य घटनाहरू पनि हुन्थेनन् कि ?
आन्दोलनमा भएको सबैभन्दा दर्दनाक घटना चाहिँ रिपोर्टिङका लागि आएका एक पत्रकार घरभित्रै जलेर मर्नु हो । तीनकुनेको एउटा घरमा आगजनी हुँदा एभिन्यूज टीभीका क्यामरापर्सन सुरेश रजकको जलेर मृत्यु भयो । यो घटनालाई लिएर पनि विभिन्न आरोप-प्रत्यारोप चलिरहेका छन् । आन्दोलनकारीले रजकलाई घरभित्रै थुनेर आगो लगाइदिएको तथा सुरक्षाकर्मीले उनलाई उद्धार गर्न तदारुकता नदेखाएको आरोप समानान्तर रूपमा लागिरहेको छ । यी दुवै आरोप अपुष्ट हुन् ।
सुरुमा यो घरको बारेमा चर्चा गरौं । अगाडि सिसैसिसाले बारिएको पाँच तल्ला अग्लो घर सुनौलो इन्द्रेणी सहकारी बचत तथा ऋण सहकारी संस्थाको नाममा छ, जसका मुख्य सञ्चालक हुन् प्रेमबहादुर श्रेष्ठ । पेशाले एक अडिटर हुन् उनी । २०७७ सालको फागुनमा ३ करोड रूपैयाँमा आफूहरूले यो घर खरिद गरेको बताउँछन् श्रेष्ठ ।
घरको सबैभन्दा मुनिको तलामा स्टेशनरी पसल थियो भने दोस्रो तलामा त्यही स्टेशनरीको गोदाम । तेस्रोमा कार्गोको अफिस र चौंथोमा थियो ल फर्म । पाँचौं र अन्तिम तलामा अडिट फर्म थियो, जुन श्रेष्ठको आफ्नै हो ।
सबैभन्दा मुनिको स्टेशनरीबाहेक अरु तलाहरू प्रायःजसो बन्द नै रहन्थे । हरेक तल्लाको भर्याङमा उज्यालोका लागि सिसाले बारिएको छ भने चेन गेट पनि राखिएको छ । ती चेन गेटमा प्रायःजसो ताल्चा लागेका हुन्थे । स्टेशनरीको गोदाम कहिलेकाहीँमात्रै खुल्थ्यो । कार्गोको अफिस पनि त्यस्तै । ल फर्म भक्तपुरका कानून व्यवसायीको हो, जो काठमाडौं अदालतमा काम पर्दामात्रै त्यहाँ ताला खोल्न आइपुग्थे । श्रेष्ठले पनि आफ्नो अफिस दिनभर बन्द नै राखेका हुन्थे ।
त्यस दिन पनि स्टेशनरी सटरबाहेक सबै तलामा ताला लागेको बताउँछन् श्रेष्ठ । यसको अर्थ रजकलाई आन्दोलनकारीले ताला लगाइदिएर थुनिदिएको निश्चित होइन ।
उसो भए ताला लागेको घरभित्र कसरी प्रवेश गरे त रजक ? अनि प्रवेश गरेपछि समयमै निस्किन किन सकेनन् ? के यो घरभित्र प्रहरी पनि घुसेका थिए ? छतबाट ढुंगा र अश्रुग्याँस प्रहार गरेका थिए ? घरमा के-कति क्षति पुगेको छ ? अडिटर्स एसोसियसनका महासचिवसमेत रहेका घरधनी श्रेष्ठसँग हामीले यी प्रश्नहरूको उत्तर खोज्यौं । उनले त्यस दिनको घटना विवरण र आफ्नो विश्लेषण यसरी सुनाएः
म त्यस दिन अडिटर्स एसोसियसनको एउटा बैठकका क्रममा नयाँ बानेश्वरमा थिएँ । आज आन्दोलन छ भन्ने थाहा थियो, तर बैठकमा बस्दा मोबाइल चलाइएको थिएन । त्यसैले के कसो भइरहेको छ भन्ने थाहा भएन । ११ बजेदेखि सवा २ बजेसम्म म जुम मिटिङमै थिएँ ।
मिटिङ सकिएपछि खाजा खान भनेर हामी नयाँ बानेश्वरकै लक्ष्मी भाउजूकोमा गयौं । खाजा खाँदाखाँदै मोबाइल हेर्दा तीनकुनेमा तोडफोड भइरहेको न्युज देखें, तर त्यसमा फोटो थिएन । मेरै घरमा होला भन्ने भएन । तैपनि अलिकति डर पस्यो । लगभग पौने ३ बजेतिर मलाई फोन आयो, घरमा आगो लाग्यो भनेर । म त्यहाँबाट आत्तिँदै मोटरसाइकल स्टार्ट गरेर हिडें ।
नयाँ बानेश्वरबाट मलाई तीनकुनेतिर जान प्रहरीले रोक्यो । आफ्नै घरमा आगो लागेको भन्दा पनि जान दिएन । त्यसपछि शंखमूलतिर लागें । शंखमूलबाट खोलाको किनारैकिनार जान खोज्दा पनि सकिनँ । प्रहरीले फर्काइदिए । फेरि शान्तिनगर सुकुमबासी टोलबाट छिरें । त्यहाँबाट पनि मोटरसाइकल लैजान सक्ने अवस्था थिएन । त्यसपछि मोटरसाइकल एउटा गल्लीमा छोडेर भित्री बाटो हिँड्दै गएँ । बल्लतल्ल घर नजिक पुगें ।
म पुग्दा पनि दनदनी आगो बलिरहेको थियो । बाटोबाटै दमकललाई फोन गरेको थिएँ । केहीबेरमा दमकल आयो, तर आन्दोलनकारीले आगो निभाउन दिएनन् । ढुंगासमेत हाने । एक जना कर्मचारी ढुंगाले लागेर घाइते भएपछि त्यो दमकल फर्कियो । फेरि अर्को दमकल आइपुग्यो । त्यसले आगो निभाउँदा निभाउँदै पानी सकियो । पूरा आगो निभेको थिएन । अन्तिममा सशस्त्रको दमकलले दुई घन्टापछि आगो निभायो । बेलुका ७ बजेपछि आगो नियन्त्रणमा आएको हो ।
दमकलले आगो निभाउने क्रममा म पनि घरभित्रै पसेको थिएँ । मेरो अफिसमा पनि आगो फैलिएको थियो । मैले हाम्रो घरसँग जोडिएको अर्को घरको ट्याङ्कीबाट पाइपले पानी तानेर आफ्नो अफिसको बाहिर आगो निभाए ।
आगो निभाउने क्रममा नै एक जना पत्रकार घरभित्रै छन् भन्ने हल्ला चल्यो । केही बेरपछि ल फर्म रहेको चौंथो तल्लामा एउटा शव भेटिएको सुनें । म पनि गएर हेरें । पूर्ण रूपमा जलेर अनुहार चिन्न नसकिने अवस्थामा थियो । मैले राम्ररी हेर्न पनि सकिनँ ।
ती पत्रकार कसरी त्यहाँ पुगेर जले भन्ने मैले पछि सोधखोज गरें । आन्दोलन सुरु भएपछि तलको स्टेशनरी पसल र कार्गोका मान्छेहरू डरले सटर तानेर भर्याङमा बसेका रहेछन् । ढुंगामुढा रोकिएपछि १०-१५ जना आन्दोलनकारी सटर खोलेर भित्र पसे । उनीहरू पछिपछि सुरेशसहित केही मिडियाकर्मी पनि पसेका रहेछन् ।
आन्दोलनकारीले भित्र लुकेर बसिरहेका एक जनाको मोबाइल थुतेछन् । अनि भर्याङमाथिको सिसा फुटाएर सबै जना माथि उक्लिएका रहेछन् । आन्दोलनकारीको पछि लाग्दै सुरेश रजक पनि चौंथो तलामा पुगेर भिडिओ खिच्न थालेछन् । उनले केहीबेर बाहिरपट्टि फुटेको सिसाबाट क्यामरा निकालेर आन्दोलनको दृश्य कैद गरे । यही क्रममा भित्र आन्दोलनकारीले सामानहरू उठाउन थालेपछि त्यसको पनि भिडिओ खिचेको पाइयो ।
एक जना अर्को मिडियाका पत्रकारले पनि भिडिओ खिचेका रहेछन् । मैले उनीसँग कुरा गरें । नाम चाहिँ याद आएन । ती पत्रकारले भनेअनुसार उनलाई आन्दोलनकारीले भिडिओ डिलिट गर्न दबाब दिएका थिए, तर त्यही रहेका अर्को पत्रकारले पनि उनको पक्षमा बोलेपछि त्यहाँबाट फुत्किए ।
सबै ओर्लिसक्दा उनी चाहिँ किन माथि नै छुटे भन्ने सबैभन्दा रहस्यको विषय हो । एउटा भिडिओ जुन सामाजिक सञ्जालमा भाइरल भएको छ, त्यो हेर्दा उनी ढुक्कले मोबाइल चलाइरहेका देखिन्छन्, जतिबेला तलो तलामा आगजनी सुरु भइसकेको छ । त्यतिबेलासम्म उनलाई आगो लागेको पत्तो नभएको हो कि ? यदि थाहा पाएको भए त उनी भाग्नलाई प्रशस्त समय थियो नि !
हाम्रो घरभित्र प्रहरी प्रवेश गरेको पाइएको छैन । जुन घरको छतबाट प्रहरीले अश्रुग्याँस हानेको भनिएको छ, त्यो हाम्रो घर होइन । खासमा जोडिएका दुई घर छन्, बाहिरबाट हेर्दा एउटै देखिन्छ । छत पनि एउटै छ, तर भर्याङ अलग छन् । अर्को चाहिँ घरमा प्रहरी पसेको भए मलाई थाहा भएन, तर हाम्रो घरमा कोही पनि छिरेर छतसम्म जान सक्ने अवस्था थिएन । त्यसका लागि माथिल्लो तलाको ताला फुटाउनु पर्छ, जुन फुटेको थिएन । तलदेखिको तालापछि दमकलले आगो निभाउने क्रममा फुटाइएको हो ।
मेरो आशंका चाहिँ के छ भने सुरेशले भिडिओ खिचेको देखेर कतै उनीमाथि आक्रमण भयो कि ? अथवा अरु कुनै कारणले बेहोस भए कि ? होइन भने त त्यहाँबाट भाग्न सक्थे । हारगुहार गर्न सक्थे । कसैलाई फोन गर्न सक्थे । त्यो केही नहुनुले उनीमाथि अर्को कुनै घटना भएको हुनसक्ने आधारहरू छन् । सम्भवतः पोस्टमार्टम रिपोर्टबाट त्यो थाहा होला ।
मैले अर्को भिडिओ क्लिप पनि हेरें, जहाँ एक जना एनी कुँवर भन्ने महिलाले कोठाभित्र आगो निभाइरहेको भन्नुभएको छ । पानीको जार खन्याएर कम्प्युटरको आगो निभाएको जस्तो गरिएको छ, तर हामीले अवलोकन गर्दा उहाँहरूले पानी खन्याएको ठाउँमा आगो लागेकै थिएन । अहिले आएर हेर्दा पनि हुन्छ । उहाँले त्यो नाटक किन गर्नुभयो मलाई थाहा भएन ।
हामीले अहिले प्रहरीमा निवेदन दिने तयारी गरिरहेका छौं । एक चरण मौखिक कुराकानी भइसकेको छ । सुरुमा घरबेटीले निवेदन दिएपछि बहालमा बस्नेहरूले आआफ्नो क्षतिको विवरणसहित निवेदन दिन भन्नुभएको छ । क्षतिको अवस्था हेर्दाखेरि हामीले मोटामोटी ७७ लाखको आँकलन गरेका छौं । यो घरमा मात्रै भएको भौतिक क्षतिको आँकडा हो । तलदेखि माथिसम्म पसल व्यवसायमा भएका क्षतिको अलग विवरण बनाइँदैछ । स्टेशनरीको गोदाम, कार्गो, ल फर्म, अडिट फर्म सबैमा क्षति पुगेको छ । सामानहरू चोरी पनि भएका छन् ।
सुरेशको मृत्युका विषय अनुसन्धान गर्न अहिलेसम्म प्रहरी आएको छैन । सुरुकै दिन मुचुल्का बनाएर गएको हो । सम्भवतः निवेदन परेपछि आउँछ होला ।

Leave a Reply