चितवनका नेताहरु भन्छन्- हामीलाई सच्चिने अवसर आएको छ

चितवन । चितवनका नेताहरुले राजनीतिक दलहरु सच्चिने अवसर आएको बताएका छन् । राजतन्त्रका नाममा भएको चलखेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अवसर ल्याएको बताउँदै उनीहरुले दलका नेतृत्वबाट भएका कमजोरी सच्याउने अवसर आएको बताएका हुन् ।

नेकपा एमाले चितवनले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उपस्थित जिल्लाका नेताहरुले लोकतन्त्रभित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु सलबलाउन थालेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले गणतन्त्रलाई सुदृढ बनाउन मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिए ।

उनले अब राजनैतिक दलहरुले राजनैतिक स्थायित्व खोज्नुपर्ने बताए । राजावादीहरुले राजनैतिक दललाई पुनः एक ठाउँमा आउने अवसरसमेत जुराइदिएको बताउँदै नेता थपलियाले तिमीहरु सच्चिएनौं भने हामी आउँछौं भनेर राजावादीले दलहरुलाई सच्चिन दबाब दिएको औंल्याए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रिक व्यवस्था सञ्चालनमा केही कमजोरी पक्कै भएको बताए ।

उनले भने, ‘कमजोरीलाई सुधार्ने हो, व्यवस्था फेर्ने हैन ।’

नेपालका राजनीतिक दलहरुले लडेर ल्याएको व्यवस्थामाथि कसैले ढुंगा हान्न खोज्छ भने त्यसको सबै मिलरे सशक्त प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसक्दा राजावादीले विरोध गर्ने ठाउँ पाएको बताए ।

उनले भने, ‘हामी लोकतान्त्रिक गणतान्त्रिक चरित्रका भएनौं । हामीमा राजतन्त्रको प्रभाव प¥यो ।’

नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एउटा दलले अर्को दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन् भन्ने भाष्य समाजमा गएको बताए ।

उनले भने, ‘जसले गर्दा राजतन्त्र कस्तो थियो भन्ने थाहा नभाएका पुस्ता अहिले राजतन्त्र नै ठीक थियो कि भन्नेमा पुगेका छन् ।’

अब दलहरुले गरेको कमजोरीलाई समीक्षा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धामा उत्रनुपर्नेमा उनको जोड थियो । संसारकै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि सञ्चालनमा कमजोरी हुँदा जनतामा वितृष्णा आएको उनले बताए ।

Comments

One response to “चितवनका नेताहरु भन्छन्- हामीलाई सच्चिने अवसर आएको छ”

  1. हरिहर Avatar
    हरिहर

    एउटा दलले अर्को दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन् भन्ने भाष्य समाजमा गएको छ । यो नै वास्तविकता हो । अलिकति मर्म राखेर मात्र अरुको आलोचना गरौ । समकक्षी दल र नेतालाई अनावश्यक गाली, आरोप र लान्छना लगाउने काम बन्द गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *