तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छः कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् ।

शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए, त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ’, सिटौलाले भने ।

उनले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्नेसमेत बताए ।

सिटौलाले अघि भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मल निवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे । ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ सिटौलाको प्रश्न थियो ।

राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र नउल्टिने पनि बताए ।

‘गणतन्त्र अहिलेको महान उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो, यी उल्टिदैनन्’, उनले भने ।

उनले संविधान संशोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए । पहिले संविधान कार्यान्वयन र राज्य सञ्चालनको समीक्षा गरिनुपर्ने भन्दै सिटौलाले जनता र राष्ट्रको हितमा संविधान संशोधन गर्दै राज्य सञ्चालनमा पनि सुधार गर्न राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

Comments

One response to “तीनकुनेको हिंसात्मक घटनाबारे ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छः कृष्ण सिटौला”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मनको लड्डु ध्यु संग खा!! चुनाब हरूवाले ठूला कुरा गर्छ। चुनावहरूवालाइ पद दिन भनेर ल्याइएको गांडतन्त्र को बारेमा धेरै नखोक, गांडतन्त्र धोका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *