काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षी दलहरूको अडानका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भयो ।
बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजे तोकिएकोमा सहमति हुन नसकेपछि भोलि ११ बजेलाई सारिएको छ ।
सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग संवाद गर्दा पनि कुरा मिलेन ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराएपनि विपक्षी दलले अस्वीकार गरेको जानकारी दिए ।
अदालतमा गइसकेको विषयमा सदन अवरुद्ध गर्नु उचित नभएको उनको राय छ ।
विहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भने, ‘अदालतमा प्रवेश गरेको विषयलाई सदनमा उठान गर्नु संविधानविपरीतको कार्य हो । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न दिन्न भनेर विपक्षी दलहरूले संविधानविपरीतको काम गरिरहेका छन् ।’
विपक्षीहरूको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्कृय बनाउन उद्दत देखिएको उनको भनाइ छ ।

Leave a Reply