राजावादीलाई हियाउँदै बाबुराम- १०/२० हजार भाडाका मान्छे उफ्र्याछन्, को डराउँछ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले राजसंस्था पुनर्स्थापनको माग गर्नेहरूप्रति आक्रामकरुपमा खनिएका छन् । उनले गणतन्त्रवादीहरुलाई ‘गुढ’ र राजावादीहरूलाई ‘गोबर’ को संज्ञा दिए ।

आज एक पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भएका भट्टराईलाई सञ्चारकर्मीले राजावादी आन्दोलनको विषयमा सोधेका थिए । भट्टराईले नेपालमा राजसंस्था पुनर्स्थापना असम्भव रहेको दाबी गरे । राजाको पक्षमा १० हजार भाडाका मान्छेहरू ल्याएको भन्दै उनीहरूसँग नडराउने बताए ।

भट्टराईको अभिव्यक्ति उनकै शब्दमा:

नेपालमा जनताबाट चुनिएको संविधानसभाबाट संविधान बनेको छ । यो ख्यालठट्टामा बदलिन्छ त्यत्तिकै ? कि त काउन्टर कु हुनुपर्‍यो, कि सैन्य कु हुनुपर्‍यो, कि विदेशी शक्तिले आक्रमण गर्नुपर्‍यो । होइन भने असम्भव कुरा किन गर्‍या तपाईँहरूले ? सम्भव नै नभएको कुरा नगर्नुस् ।

देशभित्र असन्तुष्टि बढिरहेको बेलामा शक्ति केन्द्रले चासो बढाउँदै लगेको मैले प्रत्यक्ष देख्या छु । पानी धमिल्याएर माछा मार्न खोजिरहेका छन् । जो सत्ताका लोभी छन्, उनीहरूलाई प्रयोग गर्न खोजिरहेका छन् । जसको राजा हुने पालै थिएन, संयोगले भएका थिए, तीनलाई पनि उक्साइद्या छ । तँ आइज गर्दिन्छु भनेर तीनका कानमा पनि हाल्द्या छ ।

जनता र युवाले बुझ्नुपर्छ यसले कहीँ पनि पुर्याउँदैन । यो गणतन्त्र जनताले लडेर ल्याएको हो । लोकतन्त्रको विकल्प राजतन्त्र वा सैनिक सत्ता हुन सक्दैन । त्यो भ्रममा पर्नु हुँदैन । (राजा) आउने सम्भावना पनि छैन । कसरी आउँछ ? राजतन्त्र आउनु भनेको संविधान भत्काउनु हो । जनता सार्वभौम भइसक्या छ । संसदबाट ल्याउने ठाउँ त छैन । नेपालमा दुइटा कुरा असंशोधनीय छन् । एउटा जनतामा निहित सार्वभौमिकता र अर्को देशको स्वाधीनता र अखण्डता । जनतामा निहित सार्वभौमसत्ता भनेको जनताको शासन चलाउने अधिकार हो । राजा ल्याउनेवित्तिकै त्यो राजामा जान्छ । राजा आउने कुरा भनेको संविधान भत्काउने कुरा हो भनेर बुझ्नुस् क्या तपाईँहरूले । संविधान भत्काइदिने र देशमा ठूलो अस्थिरता ल्याउने खेलबाट यो चल्या छ ।

एउटा आउला, अर्को आउला, जनमत संग्रह भन्ला । यो ख्यालठट्टा हो ? जनमतसंग्रहमा जान सकिन्छ, तर संविधानअनुसार जानुपर्‍यो नि । संविधानले के भन्छ भने संसदको दुई तिहाइ बहुमतले जनमतसंग्रहमा जाने निर्णय गर्नुपर्छ । गर्न लगाउनुस् न त । तीनको राप्रपा भन्ने पार्टी छ, त्यसले दुई तिहाइ बहुमत ल्याओस् र जनमत संग्रहको माग गरोस् । त्यो बाटोबाट पो जाने हो । १०/२० जना मान्छे उचालेर…  कौन पुछे खेसरीका दाल भन्याजस्तो… १०÷२० हजार मान्छेसँग को डराउँछ ? १० औं लाखको आन्दोलन गरेर आएका हौं हामी । मैले देख्या छैन ? टापटिपे मान्छेहरू त्यसरी ल्याको छ । भाडामा ल्याका मान्छेहरू उफ्र्या छन् । यत्तिकैले हुन्छ ? मजाक गर्ने तपाईँले जनताको ?

पहिलेको आन्दोलन त अग्रगमनको निम्ति थियो । यो त पछाडि फर्कने कुरा भयो । गुढ र गोबर त फरक हुन्छ नि । हेर्दा उस्तै देखिन्छ तर गुणात्मक अन्तर हुन्छ । उनीहरूको गोबर हो, हाम्रो गुढ हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *