विपक्षी दललाई प्रधानमन्त्रीको चेतावनी- धेरै उत्ताउलो नहुनू, चिसै पानीले नुहाउनु पर्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै विपक्षीलाई हल्का र उत्ताउलो नहुने सुुझाव दिए ।

एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।

त्यसबारे उनको भनाइ

उहाँहरु देशलाई अगाडि बढ्न नदिने कोसिस गरिराख्नुभएको छ । कानून पास गर्न नदिनको लागि एउटा बाहना संसद अवरुद्ध गरिराख्नुभएको छ। सबैलाई थाहा छ,१८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैनन्, कानूनको रूपमा जाँदैन फेरि अर्को विधेयकको रूपमा जानुपर्ला। त्यो कुरा बुझेर काम हुन नदिनको लागि यो खेल भइरहेको छ । हामीले बुझेका छौं ।

किसान र सुकुमवासीको समस्या समाधान हुन नदिनको लागि। म प्रतिपक्षलाई आग्रह गर्छु यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। के गर्न कता हिँड्नुभएको थियो। कहाँ आइपुग्नुभयो त्यो पनि देखेका छौं ।

कोही चिहानमा गाडेको नलीखुट्टा निकालेर फेरी लगाउँदै हिँडेका छन् । कोही आफ्नो असफलता, पीडा र कुण्ठाहरू बोकेर हिँडेका छन्, त्यो हामीले बुझेका छौं । यस्ता क्रियाकलाप नदेखाउनुस्, तपाईंहरु आखिर चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *