२६ नम्बरका वडाध्यक्ष ख्याम तिवारीलाई प्रश्न- बालेनसँग प्रशासकीय अधिकृतको ट्युनिङ किन मिल्दैन ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिका विगत ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन छ । मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव सरोज गुरागाईँलाई निलम्बनमा राखेपश्चात् उत्पन्न भएको विवाद साम्य हुन सकेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव गुरागाईँ दोषी नदेखिएको भन्दै उनैलाई काम गर्न दिन पत्राचार गरिसकेको छ । तर, प्रमुख बालेनले उनलाई हाजिर गर्न अनुमति दिएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका जनप्रतिनिधिदेखि कर्मचारीहरू सबैको तलब रोकिएको छ । वडाध्यक्षहरूले समस्या समाधानका लागि मेयरलाई दबाब दिइरहेका छन् ।

यही विषयलाई केन्द्रमा राखेर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीसँग हामीले कुराकानी गरेका छौँ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तिवारी यो विवादमा महानगर र सरकार दुवै जिम्मेवार बन्नुपर्ने बताउँछन् ।

उनीसँग गरिएको कुराकानी सम्पादित अंश:

–काठमाडौं महानगरपालिकामा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतहरू किन टिक्न सकिरहेका छैनन् ?

काठमाडौं महानगरपालिका देशभरका ७५३ स्थानीय तह जस्तै सामान्य स्थानीय तह होइन । यो नेपालको संघीय राजधानी रहेको महानगरपालिका पनि हो । यहाँ नेपालीपन झल्किने सांस्कृतिक विविधता छ । राज्यले हेर्ने नजर पनि अरू स्थानीय तहको भन्दा फरक र विशेष हुन जरुरी छ ।

म वडा अध्यक्ष भएको पनि झण्डै दुई ८ वर्ष हुन लाग्यो । वडा नागरिक मञ्चदेखि स्थानीय तहका विभिन्न संयन्त्रमा रहेर काम गरेको लामो समय बितिसकेको छ । महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिक्नुको प्रमुख कारण भनेको ट्युनिङ नमिलेर जस्तो लाग्छ । अहिले महानगरपालिकाका प्रमुख र उपप्रमुख राजनीति बुझेको भए पनि राजनीति भने नगरेको हुनुहुन्छ । उहाँहरूमा तत्काल नतिजा देखिने गरी काम गर्ने एकदमै हुटहुटी छ । तर, कानून भने उहाँहरूले सोचेको गतिमा काम गर्न सकिने खालका छैनन् ।

https://www.facebook.com/nepalpressnp/videos/512214731753160

अर्को कुरा, कर्मचारीको सरुवा हुने विषय सामान्य हो । कोही कर्मचारी आफ्नै इच्छाले सरुवा लिएर जानुहुन्छ भने कतिपय कर्मचारी महानगरपालिकाको गतिअनुसार काम गर्न नसकेका कारण सरुवा गर्नुपर्ने अवस्था आउँछ । त्यसैले यो सरुवालाई ठूलो विषय बनाउनु जरुरी छैन । यद्यपि, अहिलेका प्रमुख आइसकेपछि यो तीन वर्षे कार्यकालमा चार जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुने अवस्था आइसकेको छ । अहिलेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ महानगरपालिकामा हाजिर नभएको तीन महिना बितिसकेको छ । उहाँ पुसको पहिलो हप्तादेखि नै आउनुभएको छैन । तर, यसमा नेपाल सरकारले गर्ने व्यवहार र स्थानीय सरकारले गर्ने व्यवहारमा भर पर्छ ।

महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच सद्भावपूर्ण व्यवहार भयो भने टिक्न सक्ने हो । प्रशासन चलाउनका लागि प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवै महत्त्वपूर्ण हुन्छन् । एउटा जनप्रतिनिधिको प्रमुख हो भने अर्को कर्मचारीको प्रमुख हो । केही न केही हिसाबले प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नमिल्दा यस्तो समस्या आएको हो ।

महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नमिलेकाले समस्या भएको हो भने तपाईँ जस्ता राजनीतिमा खारिएका जनप्रतिनिधिले केही भूमिका निर्वाह गर्नुभएन ?

हामीले प्रयास नगरेको भन्ने होइन । महानगरपालिकामा वडा अध्यक्षको नेतृत्वमा विभिन्न समिति पनि छन् । म सुशासन समितिको नेतृत्व गरिरहेको छु । तेह्र जना वडा अध्यक्षको नेतृत्वमा विभिन्न समिति बनाएर काम गरिरहेका छौँ । सबैले महानगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरेर काम गर्दै आएका छन् । तर, कतिपय अवस्थामा समन्वय गर्दागर्दै पनि नमिल्ने अवस्था छ ।

यो एउटा संघीय राजधानीसमेत रहेको महानगरपालिका हो, जसलाई सबैले चासोको रूपमा हेर्छन् । समन्वय नगरेको भन्ने होइन, तर कतिपय निर्णयमा विचार पुर्‍याउनुपर्ने हुन्छ । कतिपय निर्णय चाँडै गर्दा तत्कालका लागि फाइदाजनक देखिए पनि दीर्घकालमा समस्याको रूपमा आउन सक्छ । कतिपय निर्णय तत्काल नराम्रो जस्तो देखिए पनि दीर्घकालमा राम्रो हुन सक्छ । त्यसैले कतिपय निर्णय ढिलो गर्नुपर्ने हुन्छ भने कतिपय चाँडै गर्नुपर्ने पनि हुन्छ । त्यसमा प्रमुख प्रशासकीय अधिकृतको नै मुख्य जिम्मेवारी र भूमिका हुन्छ । जनप्रतिनिधिले हतारमा गर्न लागेको निर्णय प्रमुख प्रशासकीय अधिकृतले रोक्नुपर्छ भने जनप्रतिनिधिले नबुझेर निर्णय नगरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले बुझाएर निर्णय गराउनुपर्छ । त्यसमा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नमिलेको हो । एकल रूपमा निर्णय गर्नुभन्दा समन्वयात्मक रूपमा सिंगो कार्यपालिकासँग छलफल गरेर निष्कर्षमा पुगी निर्णय लिनुपर्छ ।

कार्यपालिकामा महानगर प्रमुख एक्लै स्वतन्त्र हुनुहुन्छ, तर हामी अरू सबै राजनीतिक दलबाट निर्वाचित भएका हौँ । तर, हामीले कहिल्यै पनि ‘हामी राजनीतिक दलबाट निर्वाचित भएका हौँ र महानगर प्रमुख स्वतन्त्र हुनुहुन्छ’ भनेर विरोध गरेका छैनौँ । हरेक निर्णय सर्वसम्मत रूपमा गर्दै आएका छौँ । कुनै पनि निर्णय अल्पमत र बहुमत भनेर गरेका छैनौँ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाले के-के समस्या झेलिरहेको छ ?

यो संघीय राजधानी भएकाले एकदमै महँगो ठाउँ हो । यहाँ धेरै कष्ट गर्नुपर्छ । महानगरपालिकामा धेरै ज्यालादारी कर्मचारी हुनुहुन्छ, नगर प्रहरी कार्यरत छन्, करिब १७ सय शिक्षक मात्रै छन् । शिक्षकले झन्डै पाँच महिनादेखि तलब पाउनुभएको छैन । त्यही तलबको भरमा बाँचिरहेका शिक्षक वा कर्मचारी र तिनका परिवारको अवस्था कस्तो होला ? करारमा काम गर्ने कर्मचारीका बालबच्चाले बिहान–बेलुका छाक टार्नसमेत समस्या भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको विषय कसैको जित र हारको लडाइँ होइन । कतिपय मुद्दामा समग्र नागरिकको पक्षमा जित हुन्छ भने हामीले हार्न पनि सक्नुपर्छ । त्यसैले यो विषयमा हामी सबै गम्भीर हुन जरुरी छ । विकास निर्माणको कुरा गर्दा संघीय सरकारको कुनै मन्त्रालयको भन्दा बढी बजेट महानगरपालिकाले परिचालन गर्छ । अघिल्लो वर्ष महानगरपालिकाले ४२ प्रतिशत मात्र बजेट खर्च गर्न सक्यो । यस वर्ष त तीन महिनादेखि आर्थिक कारोबार प्रमुख प्रशासकीय अधिकृत नभएकाले पूर्ण रूपमा ठप्प भएको छ ।

आर्थिक वर्षको अन्तिम त्रैमासिक आउन लागिसकेको अवस्थामा तीन महिनादेखि आर्थिक कारोबार रोकिँदा कतिपय विकासका काम नै अड्किएका छन् । प्रमुख प्रशासकीय अधिकृत नभए पनि कर भने महानगरपालिकाले जति पनि उठाउन सक्छ, तर खर्च गर्न पाइरहेको छैन । सबैभन्दा बढी कुचीकार, चालक, नगर प्रहरी, शिक्षक र करारका कर्मचारीलाई समस्या भइरहेको छ । माथिल्लो तहका कर्मचारीका श्रीमती वा परिवारका अन्य सदस्य मासिक तलब पाउने कुनै रोजगारीमा जोडिएका कारण दैनन्दिन चलिरहेको होला । तर, नहुनेहरूको अवस्था दिनहुँ नाजुक बन्दै गइरहेको छ ।

तपाईँ जनप्रतिनिधिले नै समस्या भयो भनिरहनुभएको छ, यसको प्रमुख दोषी को हो ?

यो दोष महानगर प्रमुखलाई मात्र दिएर हामी उम्किन पाउँदैनौँ । प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा प्रमुखलाई दोष आउनु स्वाभाविक नै हो । तर, सिंगो महानगरपालिका नै समस्याको समाधान गर्नतिर अग्रसर हुन जरुरी छ । अहिले तीन महिनादेखि कार्यपालिकाको बैठक बस्न सकिरहेको छैन । हामी वडा अध्यक्षहरूले महानगर प्रमुखलाई भेटेर ध्यानाकर्षण गराइसकेका छौँ । कार्यपालिका बैठकमा कार्यपालिका सदस्यका धारणा पनि सुनौँ भनेर भनेका छौँ । नेपाल सरकारसँग पनि छलफल गर्नुपर्छ भनेर जोड दिएका छौँ ।

के कारणले प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन ? संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई महानगरपालिकाले कारबाही गर्न सक्दैन । उहाँमाथि उठेको प्रश्नको समाधान नहुँदासम्म उहाँलाई नपठाउनुहोस् भनेर महानगरपालिकाले भनेको मात्र हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ दोषी नभएको भनेर सफाइ दिँदै पुनः महानगरपालिकामा पठाइसकेको छ नि ?

यसमा छानबिन समितिले धेरै समय लगायो । धेरै समय लागिसकेपछि म्याद थप भएन । त्यसपछि महानगरपालिकाका तीन विभागीय प्रमुखले दिएको राय मन्त्रालयमा पठाइएको थियो । मन्त्रालयले सरोज गुरागाईँलाई नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न भनेर पत्र पठाई काम गर्ने वातावरण बनाइदिन भनेको हो । कानुनी रूपमा हामीले उहाँमाथि कारबाही गर्न मिल्दैन । मन्त्रालयले यसमा चासो दिएर संघीय सरकारले नै आवश्यक कारबाही गरेर यो समस्याको समाधान गर्नुपर्ने हो । एकदमै ढिलो भइसकेकाले तदारुकताका साथ चाँडै यो समस्या समाधान गर्ने तरिकाले हामी अघि बढिरहेका छौँ ।

मन्त्रालयले पुनः पठाइसकेको भए किन हाजिर नगराउनुभएको हो ?

होइन, उहाँलाई मन्त्रालयले पत्र दिएर पठायो । मन्त्रालयले पठाए पनि महानगरपालिकाका प्रमुखसँग समन्वय नगरी उहाँलाई हाजिर हुन समस्या नै हुन्छ । त्यसैले महानगर प्रमुखले ‘हाजिर हुन आउनुहोस्’ नभनेसम्म प्रमुख प्रशासकीय अधिकृत आउन सक्ने कुरा पनि भएन । उहाँले पनि सिधै आएर हाजिर हुन सक्ने कुरा भएन । प्रमुखज्यूले उहाँमाथि प्रश्न उठिसकेकाले यो विषय टुंगो नलागेसम्म नआउनुहोस् भनेकाले उहाँले आउने प्रयास पनि गर्नुभएको छैन होला ।

महानगर प्रमुखसँग तपाईँहरू वडा अध्यक्षले भेटेर प्रमुख प्रशासकीय अधिकृतको समस्याबारे कुरा राख्दा उहाँले के भन्नुभयो ?

प्रमुखज्यूले चाँडै प्रमुख प्रशासकीय अधिकृत ल्याउनका लागि पहल गर्ने भन्नुभएको छ । उपप्रमुखज्यू पनि भारत जानुभएको थियो, आइसक्नुभएको होला । कार्यपालिकाको बैठक बस्नका लागि प्रमुख प्रशासकीय अधिकृत नै हुनुपर्छ भन्ने छैन । त्यसैले सायद चाँडै कार्यपालिका बैठक बोलाउनुहुन्छ भन्ने आशा र अपेक्षा राखेका छौँ । यत्रो महानगरपालिका सानोतिनो स्थानीय तह चलाएजस्तो होइन, सिंहदरबारभित्रको कुनै ठूलो मन्त्रालय चलाएजस्तै हुने भएकाले चलाउन त्यति सहज छैन । यो कुरा प्रमुखज्यूलाई पनि लाग्छ, प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पनि ।

कतिपय निकायमा जान कर्मचारी हानथाप नै गर्छन्, तर महानगरपालिकामा जान अधिकांश मान्दैनन् भनेर मन्त्रीज्यूले नै भन्नुभएको थियो । किन तर्साउनुभयो यसरी ?

महानगरपालिकामा आउनका लागि पनि हानथाप त भएको होला । संघीय राजधानीको महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनका लागि कोही नचाहने भन्ने होइन । तर, बाहिरबाट बुझ्दा त्यस्तो लाग्न सक्छ, भित्र अर्कै कारण र कुरा पनि हुन सक्छ । पछिल्लो समय ६–६ महिनामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहेको देखेर र सुनेर कर्मचारीहरूले आफ्नो निजामती सेवाको भविष्यमा महानगरपालिकामा आएपछि कुनै समस्या पर्ला कि भनेर झस्किएको हुन सक्छ ।

संघीय सरकारमा जस्तो काम गर्न स्थानीय तहमा सजिलो छैन । त्यसमाथि संघीय राजधानीमा रहेको र संघीय सरकारसँग जुधेर काम गर्नुपर्ने काठमाडौं महानगरपालिकामा त झन् कानुनभन्दा माथि उठेर कतिपय व्यवहारिक रूपमा पनि काम र निर्णय गर्नुपर्ने हुन्छ । काठमाडौं महानगरपालिकामा सबैको चासो भएकाले सञ्चारमाध्यममा धेरै कुरा आएका हुन् । तर, अरू स्थानीय तहमा यस्ता समस्या नभएका भन्ने होइन । धेरै पालिकामा यस्ता समस्या छन्, बाहिर नआएको मात्र हो । संघीय सरकारले यसमा गम्भीर भएर चाँडै प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान गर्नुपर्छ र हामी पनि त्यसका लागि तयार छौँ ।

यसको मतलब अहिलेसम्मका प्रमुख प्रशासकीय अधिकृतले महानगर प्रमुख, उपप्रमुख र जनप्रतिनिधिसँग समन्वय नै नगरेर काम र निर्णय गर्दै आएका हुन् ?

महानगरपालिका जनप्रतिनिधिको कार्यालय हो । सबै वडा अध्यक्ष कार्यकारी भूमिकामा हुनुहुन्छ । आफ्नो अधिकार छ भन्दैमा प्रमुख प्रशासकीय अधिकृतले समन्वय नै नगरेर अधिकार प्रयोग गर्नुभन्दा पहिले सबैलाई जानकारी गराएर निर्णय गर्नु राम्रो हो । कतिपय निर्णय गर्दा कानुन मात्र नहेरेर व्यवहारिक रूपमा पनि गर्नुपर्छ । त्यसका लागि सकेसम्म सबै जनप्रतिनिधिलाई सोधेर र सल्लाह गरेर निर्णय गर्दा कोही कसैले राम्रो कामका लागि असहयोग गर्छ भन्ने हुँदैन । कसरी काम गर्ने भन्ने कुरा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा पनि भर पर्छ ।

कसैको दबाब र प्रभावमा काम गरिएन भने न त प्रमुखले न त प्रमुख प्रशासकीय अधिकृतले नै कुनै समस्या झेल्नुपर्छ । कानुनसम्मत गर्नुपर्ने काम गर्ने, गर्न नसकेको काम गर्न सक्दिनँ भन्यो भने भइहाल्छ नि । हरेक फाइलमा हस्ताक्षर गर्दा सोचविचार गरेर र समन्वय गरेर गरियो भने विवाद पनि हुँदैन र समन्वय गरेको कामको नतिजा पनि तत्काल र राम्रो आउँछ । यति मात्र होइन, प्रमुख प्रशासकीय अधिकृतले जसको निर्देशन मान्ने हो, उसको त मान्नुपर्‍यो नि । निर्देशन नमान्नुपर्ने मान्छेको मानियो भने त समस्या हुन्छ ।

त्यसो भए टिकाउन किन नसक्नुभएको हो?

टिकाउन त्यस्तो गाह्रो भएको होइन ।

प्रमुखज्यूले प्रमुख प्रशासकीय अधिकृतलाई कानुनभन्दा बाहिर गएर दबाबमा काम गर्न लगाउनुहुन्छ ?

प्रमुखज्यूले प्रणालीभन्दा बाहिर काम गर भन्नुहुन्छ जस्तो हामीलाई लाग्दैन । उहाँले मात्र होइन, हामी कोही कसैले पनि त्यसो भन्दैनौँ । काठमाडौं महानगरपालिका एकदमै ठूलो ठाउँ भएकाले धेरैको कुरा सुनेर काम गर्नुभयो भने विवाद पनि हुँदैन र काम पनि प्रभावकारी र नतिजामूलक हुन्छ । दिनदिनै सबैलाई सानातिना विषय जानकारी गराउनुपर्छ भन्ने पनि होइन । तर, समग्रमा दीर्घकालीन र अल्पकालीन रूपमा असर नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृतले प्रमुखसँग र जनप्रतिनिधिसँग समन्वय गरेर प्रशासन चलाउने हो । यदि त्यसरी चलाउन सकिएन भने त समस्या आइहाल्छ ।

प्रमुख प्रशासकीय अधिकृतले गरेको निर्णयका बारेमा प्रमुखज्यूले पछि मात्र जानकारी पाउनुभयो भने त राम्रो हुँदैन । त्यसको नराम्रो प्रभाव प¥यो भने त महानगरपालिकाका सबै नागरिकले भोग्नुपर्छ । कसको कुरा सुन्ने, कसलाई सोध्ने, समग्र प्रशासकीय संरचना कसरी चलाउने भनेर गम्भीर भएर सोचेर चलाउनुपर्छ । त्यति कुरा बुझेर नियमसंगत काम गरियो भने कुनै पनि समस्या आउँदैन । यदि कसैको दबाबमा काम गर्न सकिएन भने प्रमुख प्रशासकीय अधिकृतले पत्रकार सम्मेलन गरेर ‘मलाई यस्तो दबाब आयो र मैले काम गर्न सक्दिनँ’ भनेर फिर्ता भए भइहाल्यो नि । दबाबमा काम गरायो भनेर लुकेर किन कुरा गर्ने ? त्यसरी भनेको कुरा प्रमाणित पनि त हुँदैन नि ।

अर्को कुरा, यस पटक प्रमुखज्यूलाई राम्रो र प्रभावकारी काम गर्न कुनै समस्या छैन । किनभने उहाँ स्वतन्त्र निर्वाचित भएकाले प्रमुखलाई आफ्नो पार्टी वा अरू कुनै पार्टीसँग समन्वय गर्नुपर्दैन । उहाँले कुनै दलको दबाब पनि झेल्नुपर्दैन । बरु हामीले त झेल्नुपर्छ होला । यदि कसैको दबाब झेलियो भने त समस्या आइहाल्छ नि । तर, प्रमुख प्रशासकीय अधिकृतले प्रमुखज्यूलाई सोध्नुपर्ने कुरा उहाँको सल्लाहकारलाई सोध्नुभयो र उहाँले भनेको आधारमा निर्णय गर्नुभयो वा अरू कसैलाई सोधेर निर्णय गर्नुभयो भने समस्या स्वाभाविक रूपमा आउँछ । काम गर्दा इमानदारीपूर्वक गर्नुपर्छ ।

प्रमुख प्रशासकीय अधिकृतको समस्या अब कहिलेसम्म समाधान हुन्छ ?

यसमा संघीय सरकारदेखि महानगरपालिकाको प्रमुख नेतृत्वले गम्भीर भएर यो समस्या जतिसक्दो चाँडो समाधानको बाटोमा लाग्नुपर्छ । हामी पनि निरन्तर संवादमा छौँ । नेपाल सरकार र मन्त्रालयसँग पनि छलफल गरिरहेका छौँ । महानगरपालिकाका प्रमुखसँग पनि हामी छलफल गरिरहेका छौँ । यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ भनेर लागिपरेका छौँ । मलाई लाग्छ, यसै साता भित्र टुंग्याउनुपर्छ भनेर हामी प्रयासरत छौँ ।

कर्मचारी प्रमुख संघीय सरकारको भएकाले यो समस्या आएको हो कि ? त्यसैले अब प्रदेश वा स्थानीय तहबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्दैन ?

यो अझै अभ्यास गर्ने बेला भइसकेको छैन । कुनै न कुनै हिसाबले केही समयसम्म संघीय सरकारको प्रतिनिधिले नै हेर्न र चलाउन जरुरी छ । संघीयताको मर्मअनुसारको काम अझै स्थानीय तहमा हुन सकेको छैन । बिस्तारै क्रमिक रूपमा प्रदेश वा स्थानीय तहबाटै प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ । तर, अहिले नै त्यसको बेला भइसकेको छैन । यसका लागि केही समय कुर्नुपर्छ । कम्तीमा अझ एक–दुई कार्यकालसम्म संघीय सरकारको प्रतिनिधिबाट नै कर्मचारी प्रशासनको नेतृत्व जरुरी छ ।

तर, कतिपय अवस्थामा केन्द्रले गरेको निर्णय ठीक छ भने कतिपय अवस्थामा हेपेको जस्तो पनि महसुस भइरहेको छ । स्थानीय सरकारले सबैभन्दा पहिले आफैँमा सक्षम हुन जरुरी छ । काठमाडौं महानगरपालिका सबै हिसाबले सक्षम छ होला । हामीले संघीय सरकारले अनुदान नदिए पनि महानगरकै बजेटबाट चलाउन सक्छौँ । तर, काठमाडौं महानगरपालिका जस्तै अन्य पालिकामा अहिले नै त्यो अवस्था आइसकेको छैन । अधिकांश स्थानीय तहले सानोभन्दा सानो काम गर्न पनि संघीय सरकारकै बजेटमा भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा सबै आफैँले गर्न सक्ने कुरा भएन ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहले राख्ने, त्यो पनि प्रमुखले नै नियुक्त गर्ने कुरा सबैभन्दा राम्रो हो । आफूलाई सहज हुने र गर्न सक्ने नेतृत्वलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर अघि बढ्यो भने पक्कै पनि स्थानीय जनप्रतिनिधिले चाहेको काम र नतिजा प्राप्त गर्न सक्छ । तर, त्यसका लागि स्थानीय सरकार सक्षम हुन जरुरी छ । यो हुन सक्यो भने मात्र संविधानको मर्मअनुसार काम भएको ठहरिन्छ । तर, अघि भने जस्तै अहिले नै त्यो निर्णय गर्न सक्ने क्षमता स्थानीय तहमा विकास भइसकेको छैन । सबै हिसाबले केही वर्ष वा केही कार्यकालसम्म संघीय सरकारको प्रतिनिधिबाटै कर्मचारी प्रशासनको चेक एन्ड ब्यालेन्स गर्नुपर्छ ।

Comments

One response to “२६ नम्बरका वडाध्यक्ष ख्याम तिवारीलाई प्रश्न- बालेनसँग प्रशासकीय अधिकृतको ट्युनिङ किन मिल्दैन ? (भिडिओ)”

  1. Nabin dangol Avatar
    Nabin dangol

    तिवारी जी तपाइको अन्तरबार्ता हेर्न पाइयो खुसि लाग्यो प्रशासन र जनप्रतिनिधि समन्वय गरेर गएको राम्रो हो misunderstanding भई सकेपछि पहिलेको गतिमा काम गर्न असहज हुन्छ त्यसैले सबै जनप्रतिनिधिहरु मिली प्रशासकलाई सम्झाएर नयाँ नियुक्ति गर्दा सहज बाताबरण निर्माण हुन्छ कि भन्ने लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *