शीर्ष नेताको बैठकमा एक बुँदे सहमति, ज्ञानेन्द्र शाह र राजावादी गतिविधिको चर्चै भएन

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा राजावादी संघ संस्था,पार्टी र अभियन्ताहरुले आन्दोलन तथा प्रदर्शन चर्काइरहेका बेला गणतन्त्रवादी मुख्य तीन दलका शीर्ष नेताबीच के छलफल भयो होला ?

लामो समयपछि सोमवार अपराह्न प्रधानमन्त्री कार्यालयमा भेट भएका कांग्रेस सभापति शेरवहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्ला राजावादी गतिविधिबारे भने एक शब्द पनि चर्चा भएन ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सिधै सिंहदरवार पुगेका प्रचण्ड दौरा सुरुवालामै थिए । शक्ति बस्नेत र खिमलाल देवकोटासहित शीर्ष बैठकमा गएका प्रचण्डले सिधै विषयमा प्रवेश गरौं भनेपछि नेताहरुबीच अन्य राजनीतिक विषयमा छलफल नै भएन ।

बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा संक्रमणकालीन न्याय तथा मानवअधिकार मामिला सम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले तीन दलका शीर्ष नेताको बैठकको जे एजेण्डा हो त्यसबाहेक अन्य विषयमा चर्चा नै नभएको नेपाल प्रेसलाई बताए ।

खरेलले राजावादीहरुका विषयलाई महत्व दिनु आवश्यक नरहेको र त्यस्ता विषयमा तीन दलको बैठक नबस्ने बताए ।

खरेलले भने- बाहिर मान्छेले अनुमान के के लगाए थाहा छैन । तर आजको बैठकमा टिआरसीको विषयबाहेक अरु कुरै भएन । जहाँसम्म राजावादी वा पूर्व राजाको कुरा छ, यस्ता विषयमा छलफल गर्न तीन दलका नेता गोप्य बैठक बस्नु पर्दैन, आवश्यकता परे टुँडिखेलबाटै कुरा हुन्छ ।

हाम्रा प्रतिबद्धता र संविधानले टुंगो लगाइसकेका विषयमा के को छलफल गर्ने ? एक शब्द पनि अनौपचारिक कुरा समेत भएन ।

बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि सोमवारको शीर्ष बैठकमा संक्रमणकालीन न्याय निरुपणको विषयमात्र छलफल भएको बताए ।

उनले अरु राजनीतिक विषयमा पछि छलफल गर्दै जाने भन्नेबाहेक अरु कुरा नभएको जानकारी दिए ।

Comments

One response to “शीर्ष नेताको बैठकमा एक बुँदे सहमति, ज्ञानेन्द्र शाह र राजावादी गतिविधिको चर्चै भएन”

  1. कृष्ण मान Avatar
    कृष्ण मान

    समाज लाई शान्तिपूर्वक बस्न, काम गर्न र आराम पूर्वक आआफ्नो जीवन निर्वाह गर्न दिनु पर्यो यदि यो गणतन्त्र हो भने। होईन भने सत्ता पूर्व राजा लाई हस्तान्तरण गर! की विरोध को बहाना मा संविधान ले नै नदिएको नचिनेको तंत्र को लागि उफ्रिरहेका सबै धामी झाक्री सहित मसाने भूत लाई नेल र हतकडी लगाएर जेल मा ठोस!! जनता लाई यस्तो वाहियात नाटक हेर्न चाहना रती छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *