‘महाभोज’को लागि गीत गाउँदै निश्चल बस्नेत, ‘काले दाइ’को सफलता दोहोर्‍याउलान् ?

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’का लागि नयाँ गीत रेकर्ड गरेका छन् । काठमाडौंको स्टुडियो फिलमा उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन् । गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।

चलचित्र ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र ‘पर्व’को लोकप्रिय गीत ‘काले दाइ’बाट मिलेको थियो । बस्नेतले स्वर दिएको उक्त गीत हालसम्म युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ ।

‘लालुमै’ गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको निर्देशक राउतको भनाइ छ। ‘८ वर्षअघि ‘पर्व’को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले ‘लालुमै’मा पनि फरक भोकल टोन आवश्यक परेकाले निश्चललाई नै लिएको हुँ’, राउत भन्छन् ।

पहिले ‘काले दाइ’ को रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतको दाबी छ । राउतले पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका थिए । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन । राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, दिनेशबहादुर रावतको मुख्य सहायक निर्देशन र रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ । चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा वितरण गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *