विराटनगर । नेकपा एमालेनिकट पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी नेपालको जारी १० औं महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ ।
आइतबार कोशी प्रदेश राजधानी विराटनगरमा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि सहभागी प्रतिनिधिहरुले नेतृत्व चयनका लागि चुनाव हुनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाएका हुन् ।
सर्वसम्मतका नाममा केही नेताहरुको नाम जोडेर चौतारीका केही नेताहरुले आफूलाई उम्मेदवार खडा गरिसकेपछि असन्तुष्ट भएका प्रतिनिधिहरुले नेतृत्व चयनको जिम्मा हललाई छोड्नुपर्ने भन्दै महाधिवेशन स्थलमा ब्यानर टाँगेर हस्ताक्षर अभियान थालेका हुन् ।
पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्ने केही नेताहरुले बताइरहेका बेला उपस्थित प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगर्ने र लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेकमार्फत नेतृत्व छान्न पाउनुपर्ने भन्दै अभियान चलाएका हुन् ।
चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घाेषणा गरेका छन् ।


Leave a Reply