ऊर्जामन्त्रीपछि शंकर पोखरेलले भने- भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था छ (भिडिओ)

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्कापछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले बिजुली दिएन भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तथ्यमा आधारित भएर बहस गर्नुपर्ने बताए ।

उनले भने, ‘पञ्चायतकालमा ८.८ प्रतिशत घरमा मात्रै बिजुली पुगेको थियो । अरु सबै जनता त अँध्यारोमा गुजारा गर्नुपर्ने अवस्था थियो । आज घरघरमा बिजुली पुगेको छ, उज्यालो नेपाल बनाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदाको समय मुलुकमा १८ घण्टा लोडसेडिङ हुने गर्दथ्यो हामीले संविधान जारी गर्नेबेलामा । आज हामी बिजुली निर्यात गर्ने ठाउँमा पुगेका छौं ।’

महासचिव पोखरेलले अहिले तीन हजार मेगावाट बिजुली उत्पादन हुँदा पनि बिजुली नपुगेको बताए ।

उनले थपे, ‘भारतले बिजुली दिएन भने लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था अहिले पनि छँदैछ, तर हिजो के थियो होला ? लोकतन्त्र र गणतन्त्रले के दियो भन्नेहरुप्रति हामीले तथ्यका आधारमा बहस गर्नुपर्छ । भ्रम सिर्जना गर्नेहरूले मुलुकलाई अँध्यारोतिर लान खोज्दैछन् ।’

केही दिनअघि राष्ट्रियसभामा बोल्दै ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्नसक्ने अवस्था नरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

ऊर्जामन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको भन्दै उनले थपेका थिए, उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन । बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ । त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो । यो यथार्थ हो ।’

उनले लोडसेडिङ हुने अवस्था रहेको बताएपछि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने अहिले त्यस्तो अवस्था नरहेको प्रष्टीकरण दिएका थिए ।

Comments

2 responses to “ऊर्जामन्त्रीपछि शंकर पोखरेलले भने- भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तर वर्षामा विजुली बढी हुने भएकाले कुलमानले फोन गर्दै आयोजना बन्द गराउँछन, प्राधिकरणको नाफा देखाउन । उत्पादन मोडल फेर्नुपर्छ । बुढीगण्डकी अड्काएकै भारतले गर्दा हो । ठूला आयोजना भारतले बनाउनै दिंदैन । यताका दलाल त्यहि फटाहा भारतको पछि लागेर आयोजना नै बनाउदैनन् ।

    1. Bpt Avatar
      Bpt

      ठिकैत होत बिजुलि खपत हुंदैन अन्त बेच्ने बाटोपनि छैन भने बन्द गराउनेनैत राम्रो होनि निजि कम्पनिको मोटर घुमेको घुम्याइ उत्पादन बिजुलि खेर गको गकै प्राधिकरण फोक्कडम पैसा तिर्‍या तिर्‍याइ भयो भने के मजा भयोत चाहिने जत्ति उत्पादन गर्नु ठिकैत होनि!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *