रमा सिंहको उद्घोषः जनआन्दोलनको अन्तिम तयारीमा छौं, राजा नफर्काएसम्म सडकमै बस्छौं

काठमाडौं । २५ वर्ष नेपाल टेलिभिजनमा काम गरेकी प्रख्यात समाचारवाचिका रमा सिंह पछिल्लो समय राजावादी अभियन्ताका रूपमा परिचित छिन् । राजसंस्था पुन:स्थापना नभएसम्म देश उँभो नलाग्ने निष्कर्षसहित उनी यो अभियानमा होमिएकी हुन् ।

माओवादी जनयुद्धका क्रममा थ्रेट आएपछि लामो समय उनी देशबाटै विस्थापित हुनु परेको थियो । ११ वर्ष अमेरिका बसेर उनी करिब तीन वर्ष अगाडि नेपाल फर्किएकी हुन् । रमाले त्यसपछि नवराजावादी बनेका व्यवसायी दुर्गा प्रसाईंसँग सहकार्य गरिन् । तर, उनीको कार्यशैली चित्त नबुझेपछि अहिले आफ्नै नेतृत्वमा ‘नागरिक बचाउ महासंग्राम’ नामको अभियान चलाइरहेकी छन् ।

पञ्चायतकालीन राजनीतिज्ञ नवराज सुवेदीले राजसंस्था पुन:स्थापनााका लागि एकीकृत आन्दोलन अघि बढाउन हालै निर्माण गरेको समितिमा पनि अटाएकी छिन् रमा ।

तर, गठन लगत्तै यो समिति तीव्र विवादित बनिरहेको छ । तीनजना नेताहरूले समितिमा नबस्ने घोषणा गरिसकेका छन् ।

रमा भने आफ्ना निजी र पार्टीगत स्वार्थहरू थाती राखेर सबै राजावादी शक्तिहरू मिल्नुको विकल्प नरहेको बताउँछिन् । अझै पनि एकीकृत आन्दोलनको सम्भावना नटरेको र यसका लागि सबै सकारात्मक बन्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘अहिले राजसंस्थाको पक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा अभूतपूर्व माहोल छ । यदि हामीले मेरो गोरुको बाह्रै टक्का गरेर यो अवसरलाई खेर फाल्यौं भने लामो समय पछुताउनुपर्ने हुन सक्छ ।’

सुवेदीले आन्दोलनको सक्रिय नेतृत्व गर्ने नभएर राजावादी शक्तिहरूलाई संयोजनमात्रै गर्ने सिंह बताउँछिन् । उनीसँग गरिएको संक्षिप्त संवाद-

– आन्दोलन सुरू नहुँदै राजावादीहरूबीच मनमुटाव र आरोप प्रत्यारोप सुरू भएको छ । यसरी आन्दोलन सफल होला त ?

पक्कै पनि यो चिन्ताको विषय हो । यतिबेला परीक्षाको घडी पनि छ सबै राजावादीहरूका लागि । हामीले आफ्नो आफ्नो स्वार्थ र कुण्ठालाई पन्छाएर राजसंस्था पुन:स्थापनाका लागि एक ठाउँ गोलबन्द हुनैपर्छ । एकजुट बन्नैपर्छ । अन्यथा लामो समय पछुताउनुपर्ने अवस्था आउन सक्छ ।

नवराज सुवेदीले सम्वन्धित व्यक्तिहरूलाई सोध्दै नसोधिकन निर्देशक समिति बनाउनुभएको रहेछ । यो त काँचो काम भएन ?

सोध्नुभएको थियो वा थिएन, त्यो उहाँहरूलाई नै थाहा होला । मलाई त सोधेरै राख्नुभएको हो । केशरबहादुर विष्टजीले मलाई थाहा थिएन भन्नुभयो । जबकि भेलामा उहाँ आफैं आउनुभएको थियो र त्यही दिन बिहान आफ्नो नवराज सुवेदीजीसँग एक-डेढ घन्टा गफ भएको बताउनुभएको थियो । त्यति लामो गफ हुँदा समितिमा राखिएको विषयमा जानकारी गराइएन होला त ?

– कमल थापा र राजेन्द्र लिङ्देनले पनि समितिमा नबस्ने घोषणा गरिसक्नुभयो । अब समिति के हुन्छ ?

यो उहाँहरूको गलत कदम हो । हामी अहिले कुनै पनि पदीय लडाइँमा छैनौं । भोलि आन्दोलन सफल भएपछि नवराज सुवेदी नै प्रधानमन्त्री बन्नुहोला भन्ने उहाँहरूलाई परेको हुन सक्छ । तर, नवराज सुवेदी प्रधानमन्त्रीको दाबेदार हुनुहुन्न । उहाँले केबल राजावादी शक्तिहरूको संयोजन गर्ने हो । सबैले स्वीकार्न सक्ने व्यक्तित्वको खोजी गर्दा उहाँको नाम अगाडि आएको हो । यसमा आपत्ति जनाउनुपर्ने कुरा केही पनि छैन ।

यतिबेला कसैले पनि व्यक्तिगत टकराव वा जुँगाको लडाइँमा जानु हुँदैन । समितिमा बस्नुभएन भने उहाँहरूलाई नै घाटा हुन्छ । जनता सडकमा ओर्लिसकेका छन् । सबैले राजसंस्थाको अपरिहार्यता महसुस गरिसकेका छन् । अब कुनै अमूक नेता नआएर आन्दोलनको आँधिबेरी रोकिनेवाला छैन ।

– तपाईंहरूले गर्ने आन्दोलन चाहिँ कहिलेबाट सुरू हुने हो र कस्तो प्रकृतिको हुन्छ ?

सुरूमा त हामीले संवादमा नै जोड दिएका छौं । अहिलेका मुख्य राजनीतिक दलहरूसँग राजसंस्थासहितको प्रजातन्त्रका लागि नविन समझदारी गर्न आह्वान गरेका छौं । यसका लागि गोलमेच सम्मेलन गरौं भनेका छौं ।

हामी सबैलाई के आश्वस्त बनाउन चाहन्छौं भने राजसंस्था पुन:स्थापनाापछि पनि प्रजातन्त्र खोसिँदैन । राजा संविधानभित्रै रहने हो । कोही पनि डराउनु, तर्सिनु पर्दैन । तर, हाम्रो आह्वानलाई दलहरूले उपेक्षा वा नजरअन्दाज गरेको खण्डमा आन्दोलन सुरू गर्नुको विकल्प छैन । सुरूमा काठमाडौं केन्द्रित आन्दोलन हुन्छ र विस्तारै यसले जनआन्दोलनको रूप लिएर देशब्यापी बन्छ । अब राजसंस्थाको माग पूरा नभएसम्म हामी सडकमै बस्ने हो ।

– राप्रपाले पनि आफैं आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ । तपाईंहरू अब एक हुन नसक्ने अवस्था नै आएको हो ?

एक हुनै पर्छ । नेतृत्व कसले गर्ने भन्ने गौण हो । मेरो नेतृत्वमा सबै सहमत हुनुपर्छ भन्ने मान्यता कसैले नराखौं । हामी सबैको साझा अभिष्ट भनेको राजसंस्थाको पुनरागमन हो । त्यसनिम्ति सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । हामी तितरवितर भयौं भने जनतामा राम्रो सन्देश जाँदैन र राज्यसत्ताले पनि हेप्छ । एकतावद्ध हुनका लागि प्रयास जारी राख्नुपर्छ ।

यदि प्रक्रियामा कसैको केही असन्तुष्टि छन् भने पनि त्यो आन्तरिकरूपमा राख्ने हो । कमल थापा र राजेन्द्र लिङदेनले अस्तिको भेलामा उपस्थित भएरै आफ्नो कुरा राख्न सक्नुहुन्थ्यो । अथवा नवराजजीसँग भेटेर भनेको भए पनि हुन्थ्यो । तर, उहाँहरू अनावश्यकरूपमा मिडियावाजी गरेर विरोधीहरूलाई मसला दिइरहनु भएको छ ।

केही समयअघि वीरगञ्जमा हाम्रो एउटा प्रतिनिधिमण्डलसँग पूर्वराजाले स्पष्ट शब्दमा भन्नुभएको थियो कि तिमीहरू एक हुन सक्दैनौ भने मेरो एजेन्डा भजाउन छोडिदेउ । मेरो मान्यता पनि यही हो । हामी आफू मिल्न नसक्ने हो भने राजा राजा जपेर मात्र केही हुनेवाला छैन ।

– राजसंस्थाको पक्षमा लामो समयदेखि वकालत गर्दै आएको सबैभन्दा ठूलो वैधानिक शक्ति त राप्रपा नै हो नि । उसैले आन्दोलनको नेतृत्व गर्न सक्छ भनेर दरवारले किन विश्वास नगरेको ?

यो दरबारको कुरा होइन । नवराजजीले नै भन्नुभएको छ कि मलाई दरवारले अघि सारेको होइन भनेर । सर्वस्वीकार्य हुन सक्ने भनेर सबैले घच्घच्याएपछि उहाँले पहलकदमी लिनुभएको मात्र हो ।

जहाँसम्म पार्टीहरूको कुरा छ, पहिले त उनीहरूको नियत र प्रतिवद्धता स्पष्ट हुनुपर्यो । कमल थापाले यो संविधानलाई उत्कृष्ट भन्दै हस्ताक्षर गर्नुभएको छ । पटकपटक मन्त्री खान सरकारमा जानु भयो । राप्रपाले पनि यही संविधानलाई स्वीकार गरेर बसिरहेको छ । सरकारमा पनि गएको छ । हामीलाई आशंका छ कि राप्रपाले विभिन्न बहानामा निर्णायक आन्दोलनलाई टार्दै लैजाने र ८४ सम्म धकेल्ने सोच बनाइरहेको त छैन ? होइन भने अहिले जिल्ला जिल्लामा छिटपुट आन्दोलन गर्नुको के तुक छ ? यो त संगठन विस्तारको रणनीति जस्तो मात्रै देखियो । जनताले अब निर्णायक आन्दोलन चाहेका छन् । यदि आफैँ आन्दोलनमा आएनन् भने पनि जनताले लतारेर ल्याउनेछन् ।

– आन्दोलन कहिलेबाट सुरू हुन्छ भन्नुभयो रे ?

हामी अन्तिम तयारीमा छौं । केही होमवर्कहरू बाँकी छन् । आन्दोलन परिचालन समितिको संयोजक मात्रै तोकिएको छ, सदस्यहरू थप्नुपर्ने छ । अन्य समितिहरू पनि निर्माण गर्नुपर्ने छ । अब वैठक बसेर सबै कुरा टुंगोमा पुर्‍याउँछौं । हामी ढिलाइ गर्ने पक्षमा छैनौं । जनता गणतन्त्रबाट आत्तिइसकेका छन् ।

– राजसंस्था आएपछि देशले काँचुली फेर्छ भन्ने तपाईंको दृढ विश्वास हो ? त्यस्तो आधार चाहीँ के छ ?

काँचुली फेर्ने भन्दा पनि सकारात्मक परिवर्तन अवश्य हुन्छ । त्यसमा म सतप्रतिशत विश्वस्त छु । इतिहासलाई हेरौं न । सक्रिय राजसंस्था हुँदा देश यस्तो भद्रगोल थियो त ? थिएन । अहिलेजस्तो सरकारी निकायहरू भ्रष्टाचारमा डुबेका थिएनन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको हैसियत यति निम्छरो थिएन । राजा भन्नेवित्तिकै विदेशीहरूले पनि ठूलो सम्मान गर्थे । आज राष्ट्रपतिलाई कसले भाउ दिन्छ ? देशको मान-प्रतिष्ठा के भएको छ ?

अहिलेभन्दा कयौं गुणा सुशासन सक्रिय राजतन्त्रमा थियो । हिजो पञ्चायतकालमा राजा महेन्द्रले आफ्नै सम्धीलाई मुद्दा हराइबक्सेको हो । राजा वीरेन्द्रले आफ्नै भाइलाई कारवाही गरिबक्सेको हो । आजका नेताहरूमा परिवारका सदस्यहरूलाई कारवाही गर्ने हिम्मत छ ? पक्कै छैन । बरु उनीहरू त परिवारवादमै लिप्त छन् ।

– अहिले तपाईंहरू सक्रिय राजतन्त्रको नभएर संवैधानिक वा सेरेमोनियल राजसंस्थाको मात्र कुरा गरिराख्नु भएको छ । सेरेमोनियल राजासँग त अधिकार केही पनि हुँदैन नि ! अधिकारविहीन राजाले के परिवर्तन ल्याउन सक्छ ?

मलाई व्यक्तिगतरूपमा सोध्नुहुन्छ भने कम्तीमा १० वर्ष चाहीँ सक्रिय राजतन्त्रमै जानुपर्छ । राजाले १० वर्ष शासन आफ्नो हातमा लिइबक्स्यो भने कम्तीमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुन्छ । तर, यो मेरो व्यक्तिगत विचार हो । यसमा राजनीतिक दलहरू सहमत नहुन सक्छन् । त्यसैले हामी अहिले सेरेमोनियल राजसंस्थामा सम्झौता गर्न तयार भएका हौं । विश्वमा अहिले चलिआएको परिपाटी पनि सक्रिय भन्दा सेरेमोनियल राजसंस्था नै हो ।

सेरेमोनियल अवस्थामा पनि राजाबाट अभिभावकको भूमिका निर्वाह हुन सक्छ । मलाई याद छ, राजा ज्ञानेन्द्रले एकपटक सरकारले पारित गरेर लालमोहर लागि पठाएको नागरिकता विधेयक फिर्ता गरिबक्सेको थियो । म त्यसबेला रिपोर्टिङका लागि राजदरबार पुगेकी थिएँ । राजाबाट त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्ट शब्दमा हुकुम भयो कि यो नागरिकता ऐन लागू भयो भने नेपालमा वास्तविक नेपालीहरू नै अल्पमतमा पर्ने अवस्था आउने छ, त्यसैले यसमा पुनर्विचार गर्नु । राजाको राष्ट्रभक्ति यस्तो हुन्छ । राष्ट्रपति भनेको त आफ्नो दलले जे आदेश दियो त्यही मान्ने न हुन् ।

– सेरमोनियल राजसंस्था हुँदा पनि देश हाँक्ने त यिनै दलहरूले र नेताहरूले त हो नि होइन र ?

दलहरू त यिनै हुन् । दलहरूलाई निषेध गरिँदैन । तर, मलाई लाग्दैन कि अहिलेको पहिलो र दोस्रो तहका नेताहरू राजसंस्था आएपछि पनि राजनीतिमा क्रियाशील रहन सक्छन् । कोही भ्रष्टाचारमा जेल जालान्, कोही विदेश भाग्लान्, कसैलाई जनताले नै लखेट्लान् । तेस्रो तहका नेताहरू चाहीँ मूलधारमा आउन सक्छन् ।

Comments

4 responses to “रमा सिंहको उद्घोषः जनआन्दोलनको अन्तिम तयारीमा छौं, राजा नफर्काएसम्म सडकमै बस्छौं”

  1. bharat kumar thapa Avatar

    रैती दास हुने वस्ने हामी गणतन्त्र वादीले तिमीहरूलाई छुट दिएकै छ

  2. ksp pyl Avatar
    ksp pyl

    राजाको कालमा खान पाएकीले कराउने नै भई नि । तर अहिले राजावादी र माओवादी मिलेर अशान्ति मच्चाउने प्रयास गर्दैछन् । काँग्रेस एमाले मिलेर जनताको जनादेश बमोजिम स्थिरता दिंदा यी अराजकवादी हरूलाई असह्य भएको छ । आन्दोलन गरेर अशान्ति मच्चाउने अनि राजावादीले पेले, गणतन्त्रवादी एक हुनुपर्छ भनेर गठबन्धनको सरकार बनाउने भन्ने । प्रचण्ड र भारतलाई ओलि प्रधानमन्त्री भएको असह्य भएको छ ।अब देश स्वाभिमानी, स्वतन्त्र हुने भयो, गुलाम नहुने भो भनेर अहिले भारत, प्रचण्ड, दुर्गे, प्रभु साह, ऋषि धमलाजस्ताहरूलाई डाहा भएको छ । कोही दलाल र कोही दलालका मालिक । के बाँच्नु स्वाभिमान बेच्नेहरूले ?

    1. नागरिक Avatar
      नागरिक

      उखानेले र बाख्रा चोर अनि भूटानी भाउजूले स्थिरता दियोरे- उखानेको गुखाने हो कि बाख्रेको झरेको खाने?

      1. ksp pyl Avatar
        ksp pyl

        स्वाभिमान बेचेको दासले के बोल्नु ? एक ट्वाक खान पाए जसका लागि र जसका विरूद्व जे पनि बोल्ने सडकछापहरूलाई जनताले चिनिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *