काठमाडौं । अन्तरिक्षमा अड्किएका दुई अमेरिकी अन्तरिक्ष यात्री ९ महिनापछि फर्किएको खबर यतिखेर विश्वका समाचार हेडलाइन बनिरहेका छन् । यसरी फर्कनेहरूमा अमेरिकाको नासाको दुई अन्तरिक्ष यात्रु बच विलमोर र सुनिता विलियम्स हुन् । अहिले बच र सुनिता आफू चढेको अन्तरिक्ष यानबाट फ्लोरिडाको समुद्रमा ओर्लेर ‘रोलिङ चेयर’ मा मुस्कानका तस्बिर उत्तिकै भाइरल छन् । बच र सुनिताको अन्तरिक्षमा अलपत्र परेको ९ महिने कथा के हो ? यहाँ त्यसैको चर्चा गरिएको छ ।
१. उनीहरूको प्रारम्भिक अन्तरिक्ष यात्रा समय कति तोकिएको थियो ?
अन्तरिक्ष यात्रुहरू सुनिता विलियम्स र बच विलमोर गत जुन ५ मा पृथ्वीबाट अन्तरिक्ष पुगेका थिए । उनीहरूको प्रारम्भिक यात्रा समय एक हप्ताको थियो । तर, यात्रा बढेर ९ महिना पुग्यो । २८६ दिन अन्तरिक्षमा बसेका उनीहरूलाई अमेरिकी समयअनुसार मंगलबारमात्रै पृथ्वीमा ल्याइयो । अन्तरिक्षबाट पृथ्वीमा आउन १७ घण्टा लागेको अलजजिराले उल्लेख गरेको छ । स्पेस एक्सको क्रू ड्रागन क्याप्सुलबाट ओर्लिएका उनीहरूलाई क्रू-९ का कमान्डर तथा नासा अन्तरिक्ष यात्री निक हेग र पाइलट अलेक्सान्दर गोर्बुनोभले ल्याएका थिए । सुनिता र बच फिर्ता गर्ने क्रममा अरु दुई अन्तरिक्ष यात्रीहरुको नाम सूचीबाट हटाइएको थियो । हटाइएकाहरू जेना कार्डमन र स्टेफिनी विल्सन रहेको स्पेस न्यूजले लेखेको छ ।
२. बसाइ लम्बिनुको कारण के थियो ?
एक हप्ताका लागि गएका उनीहरू ९ महिना बस्नु पर्ने बाध्यताको कारण प्राविधिक नै भएको बताइन्छ । बोइङ सीएसटी-१०० स्टारलाइनरको परीक्षण उडानको क्रममा उनीहरू अन्तरिक्ष पुगेका थिए । बोइङ अन्तरिक्ष यानले काम नगरेपछि यस्तो भएको बताइएको छ । अमेरिका, रुस, जापान, क्यानडा र युरोपेली संघहरूले सञ्चालन गरेको साझा अन्तरिक्ष स्टेसनमा पुगेका उनीहरू बोइङको प्राविधिक समस्याको कारणले त्यहीँ बस्नुपर्ने बाध्यतामा पुगेका हुन् ।

३. योभन्दा धेरै लामो अन्तरिक्षमा बस्ने अरु पनि छन् ?
सुनिताहरूले अन्तरिक्षको २८६ दिनको बसाइ अहिलेसम्मको लामो भने होइन । यसअघि रुसका भालेरी पोल्याकोभले रुसको अन्तरिक्ष स्टेसन मिरमा लगातार ४३७ दिन बिताएको अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसनले उल्लेख गरेको छ । किस्ता किस्तामा सबैभन्दा धेरै अन्तरिक्षमा बस्ने अनुहार भने अमेरिकी अन्तरिक्ष यात्रु पेगी वाइटसन हुन् । उनी चार किस्तामा ६७५ दिन अन्तरिक्षमा बसेकी थिइन् ।
अन्तरिक्षमा बस्नेहरूले फ्रोजन फूड, चकलेट, सुपलगायतका खाना खाने गर्छन् । ती खाना पृथ्वीबाटै लगिन्छ । अन्तरिक्ष स्टेसन आफैँमा व्यवस्थित ठाउँ भएकोले त्यहाँ २८६ दिन वा त्यो भन्दा लामो बस्नु आफैँमा समस्या भने होइन ।
४. पृथ्वी फर्किएका अन्तरिक्ष यात्रुलाई लयमा फर्किन कति समय लाग्छ ?
पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्रीहरूले धेरै फरक अनुभव गर्नुपर्ने हुन्छ । अन्तरिक्षको गुरुत्व नभएको क्षेत्रबाट गुरुत्व भएको पृथ्वीमा आउने फरकपनाले नै हुनुपर्छ उनीहरू कुनै जहाजका यात्रु जस्तो ओर्लेर ठमठम हिँड्न सक्दैनन् । उनीहरूलाई ह्विल चेयरजस्तो गुड्किने ‘रोलिङ चेयर’ मा राखेर हिँडाइन्छ ।
अन्तरिक्षबाट पृथ्वीमा आएपछि शारीरिक लयमा आउन केही महिना लाग्ने विभिन्न अन्तरिक्ष यात्रुले भन्दै आएका छन् । अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसनले एक जानकारसँग बुझ्दा अन्तरिक्षबाट पृथ्वीमा फर्किएसँगै शरीर लयमा आउन दुईदेखि तीन महिना लाग्ने बताएका थिए ।
यस्तै सन् २०२३ मा टाइम म्यागाजिनसँग कुरा गरेका अन्तरिक्ष यात्रु फ्राङ्क रुबिओले पृथ्वीमा भन्दा अन्तरिक्षमा अनुकूलन सजिलो भएको बताएका थिए । ३७१ दिन लगातार अन्तरिक्षमा बिताएका रुबिओले भनेका थिए, ‘तपाईं अन्तरिक्षमा तत्कालै अनुकूलित हुन सक्नुहुन्छ, तर दुःखको कुरा यो छ कि पृथ्वीमा यही कुरा लामो समय लाग्छ । बढी सकस हुन्छ ।’
५. सुनिताहरूको अन्तरिक्ष बसाइको अर्थ राजनीति के हो ?
सुनिताहरू ९ महिना अन्तरिक्ष स्टेसनमा बस्नुको अर्थ भोकभोकै मर्ने अवस्था आउनु थिएन । न त थियो उनीहरूको ज्यानकै खतरा । तर, उनीहरू अन्तरिक्षमा इन्तु न चिन्तुको अवस्थामा रहेको हल्ला मास मिडिया र सोसल मिडिया दुवैले सनसनी बनाए । यसो हुनुमा राजनीति छ । अर्थराजनीति छ । व्यापारिक प्रतिस्पर्धा छ । राजनीतिक मानमनितोको कुरा छ ।
अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा जाँदा अमेरिकी विमान कम्पनी बोइङको परीक्षण अन्तरिक्ष उडानबाट गए । त्यही उडान नै असफल भइदियो । अन्तरिक्ष स्टेसनमा त जसोतसो पुगे । फर्केर ल्याउने माहोल बनेन । उनीहरू त्यतै अड्किए । र, यो घटनालई एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले व्यापक प्रचार गर्यो । अन्तरिक्षमा बोइङ ब्राण्डभन्दा स्पेस एक्स नै सही ब्राण्ड भन्ने देखाउन पनि यसले घर गर्यो । मस्ककै अन्तरिक्ष यानबाट यात्रुहरू ओरालिएको घटनाले अब बोइङ कुख्यात र स्पेस एक्स प्रख्यात हुने वातावरण आएको छ ।

अझ एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो मुद्दालाई झनै प्रचार गरेका थिए । गत जनवरी अन्तिमतिर मस्कले आफूलाई राष्ट्रपति ट्रम्पले अन्तरिक्षमा अड्केका यात्रुहरूलाई ल्याउन आग्रह गरेको सार्वजनिकरूपमा बताएका थिए । अन्तरिक्ष यात्रुलाई जतिसक्दो चाँडो ल्याउन आफूलाई ट्रम्पले बताएको मस्कले भनेका थिए । उसो त यी अन्तरिक्ष यात्रुहरूलाई फिर्ता ल्याउने महिनौंको योजनानै भएको स्पेस न्यूजले उल्लेख गरेको छ ।
मस्कले आफ्नो अन्तरिक्ष व्यापारमा प्रतिस्पर्धा गर्ने बोइङको व्यापारमा धक्का पुग्ने खालको अभिव्यक्ति दिएजस्तै ट्रम्पले पनि आफ्ना राजनीतिक प्रतिस्पर्धी बाइडेन र उनको सत्तालाई धक्का पुग्ने अभिव्यक्ति दिए । बाइडेनले चाँडै फिर्ता ल्याउने प्रस्ताव अस्विकार गरेको भन्दै ट्रम्पले मस्ककै लाइनमा बोले ।
नासाका कार्यवाहक प्रशासक जेनेत पेत्रोसँगको भेटपछि ट्रम्पले आफूले आग्रह गरेरै चाँडो आएको सन्देश दिन सफल भए । ट्रम्पले यहि मार्च १७ मा आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा भनका थिए, ‘नासाले पहिलेको योजनाभन्दा दुई हप्ता अगाडि नै फर्काउन नासा सहमत भएको छ ।’

Leave a Reply