काठमाडौं । विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीश सपना प्रधान, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा तोकिएको पेसीमा अहिले सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको हो ।
४ वर्ष अघि २०७७ मंसिर ३० र त्यसपछि क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायतमा पदाधिकारी असंवैधानिक रूपमा सिफारिस गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम तत्कालीन अवस्थामा संवैधानिक परिषद्का सदस्य रहेका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
२०७७ मंसिर ३० मा भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो । उक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस तथा भएको नियुक्ति विरुद्ध तत्कालीन सभामुख सापकोटाले २०७७ माघ २३ मा रिट दायर गरेका थिए ।
सापकोटासँगै १५ वटा रिट दायर भएका थिए । सर्वोच्च अदालतले अहिलेसम्म १३ पटक पेशी तोकिसकेको छ । जसमा कतिपय पटक हेर्न नभ्याइने र कतिपय पटक हेर्दाहेर्दैमा रहँदै आएको छ ।

Leave a Reply