संसारका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा एक फन्को लगाइसकेको दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’ अहिले हलहरूमा चलिरहेको छ । देशभित्र प्रदर्शन गर्दा भने चलचित्रले सेन्सर बोर्डको तगारो झेल्नु परेको थियो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षअघि बोलेको भाषणको क्लीपलाई बिनाअनुमति समावेश गरिएको भन्दै बोर्डले सेन्सर पास गर्न मानेको थिएन । पछि निर्माण पक्षले केही दृश्य र संवादलाई हटाएर चलचित्र प्रदर्शनमा ल्याएको हो ।
के हो त ‘राजागंज’ को विषयवस्तु ?
विद्यालयमा हुने भ्रष्ट्राचारमाथि आवाज उठाएकै कारण गर्भवती महिलाले भोगेको ज्यादती र उक्त ज्यादतीविरुद्ध उनले गरेको आपराधिक विद्रोहको कथा हो ‘राजागंज’ । विद्यालयका प्रधानाध्यापक सबिता कोइराला (ऋचा शर्मा)को नियतमाथि प्रश्न उठाएपछि ती महिलाको आठ महिनाको गर्भ तुहाइन्छ र हल्ला फैलाइन्छ, ‘उनको पेटमा ट्युमर थियो, त्यही ट्युमरलाई काटेर फालियो ।’
आफूमाथि भएको यस्तो अन्यायमाथि ती महिलाले बोल्न खोज्छिन् । तर समाज, प्रहरी प्रशासन, न्यायालय सबैतिरबाट उनको आवाजलाई निस्तेज पारिन्छ । त्यसपछि उनले न्यायका लागि गैरकानुनी बाटो अपनाउँछिन् । प्रधानाध्यापक कोइराला र उनका श्रीमान् सभासद् प्रवीण यादवको बच्चा अपहरण गर्छिन् । बच्चा अपहरणपछि निर्मित घटनाक्रमहरू नै चलचित्रको मूल कथा हो ।
चलचित्रलाई सरसर्ती हेर्दा प्रअ कोइराला र मधेशी महिलाबीचको संघर्षजस्तो देखिन्छ । तर, चलचित्रको मूल ध्येय चाहिँ मधेसी समुदायमाथि राज्यसत्ताले हेर्ने नजरिया हो । यसलाई प्रतिकात्मक रूपमा चित्रण गर्न निर्देशक रौनियारले मधेसी महिलाको गर्भलाई ‘ट्युमर’ भनिदिएका छन् । जुन ट्युमर खोलखाल पार्ने काम प्रअ कोइरालाले गर्छिन् । राज्यसत्ताप्रति मधेसले गरेको प्रतिरोधलाई सांकेतिक रुपमा प्रस्तुत गरिएकाे छ ।
मधेसले प्रतिरोध गर्र्नुका पछाडि दशकौंदेखि राज्यसत्ताले मधेसमा गरेको ज्यादति नै प्रमुख कारण हो भन्ने ‘राजागंज’को ठहर छ । महिलाको पेटको बच्चालाई जबरजस्ती एभोर्सन गराइन्छ । यही चोटले उनी विछिप्त बन्छिन् । न्यायका लागि सबै ठाउँ पुग्छिन् । तर, न्याय पाउँदिनन् ।
चलचित्रमा एक दृश्य छ, जहाँ प्रहरी अमर (विजय बराल)ले मधेसबासीलाई नेपाली भाषामा बोल्न उर्दी दिन्छन् । तर, उनीहरु मैथली भाषामै बोल्छन् । मैथली भाषा पनि त नेपाली भाषा हो । यही दृश्यमा अमर र मधेसवासीबीच स्पष्ट बार देखाइएको छ । मधेस र राज्यबीचको दुरी र फरकपन देखाउन रौनियारले प्रयोग गरेको यो दृश्य बलियाे छ ।
अर्को दृश्य पनि छ, जहाँ पूजा सर (आशा मगराती) लगायत प्रहरीहरु एक घरमा छिर्छन् । त्यहाँ वृद्ध बाआमा हुन्छन् । अनि खोजतलास गर्दा नेल्शन माण्डेलाको तस्बिर भएको पत्रिका देखिन्छ । घर बाहिर भित्तामा भने मार्टिन लुथर किङ जुनियरको पोस्टर छ ।
बाहिरबाट मधेस बलिरहेको देखिए पनि भित्रैबाट भने मधेसले हिंसा चाहँदैन भन्नलाई रौनियारले मण्डेलाको फोटो देखाएका हुसक्छन् । मण्डेला र मार्थिन लुथर किङले गरेको संघर्ष पनि राज्यसत्ता विरुद्ध नै थियो । राज्यसत्ताले निर्माण गरेको भाष्य विरुद्ध नै थियो ।
भित्तोमा टाँसिएको मार्टिन लुथर किङको त विश्वप्रसिद्ध भाषण नै छ, ‘आइ ह्याभ अ ड्रिम’ ! यसले चाहिँ निर्देशकको दृष्टिकोण स्पष्ट पार्छ ।
मुद्दाहरूमा अलमलिएको ‘राजागंज’ भित्र ‘झरेको आँप’
विधागतरुपमा ‘राजागंज’ क्राइम थ्रिलर फिल्म हो । यहाँ सपेन्सहरु खुल्दै जान्छन् । बच्चा अपहरण गर्नुका कारणहरू खोतलिँदै जान्छन् । कारणहरू खोतलिँदै जाँदा मधेसका मुद्दाहरू पनि उप्किँदै जान्छन् ।
तर, अनेक मुद्दाहरूमा चलचित्र यसरी अलमलिएको छ कि मूल कथाबाट दर्शक भड्किरहन्छन् । कथा हिँड्ने मूलबाटो छाडेर चलचित्र मुद्दैमुद्दाको चाङमा हराएको छ । एलजीबिटिआइक्युको मुद्दा पनि पूजा (आशा मगराती) मार्फत् जबरजस्ती घुसाइएको छ । तर, यसका सामाजिक र मनोवैज्ञानिक जटिलताका पाटाहरू उप्काउने कोसिस गरिएको छैन ।
स्पष्ट बोलेकै आधारमा, राम्रोसँग काम गनै खोजेकै आधारमा पूजा प्रमोसनमा समेत पछाडि परेकी छन् । सँगै इनिस्पेक्टर ममता गुप्ता (निकिता चण्डक)ले भोगेको कारबाहीको पछाडि पनि कतै न कतै मधेसी महिला हुनुको दुःख देखाइएको छ ।
चलचित्रमा मुद्दाहरू यति मुखर भएर आएका छन् कि कथाको भेउ पाउनै मुस्किल पर्छ । मुद्दाहरुको दस्ताबेज जस्तो बनेको छ ‘राजागंज’ । मुद्दा मात्रै उठाउनलाई त राजनीतिक आन्दोलन जतिको प्रभावकारी केही पनि हुन सक्दैन । तर, चलचित्र भनेपछि त कला पनि हो, कथा पनि हो । चलचित्र त सुन्दर कथावाचन पनि हो । मजिद मजिदीले इरानका भूइँमान्छेको कथा टिपेजस्तो पनि हो । कथा भन्ने तरीका र शैलीले त चलिचत्रलाई समृद्ध बनाउँला ।
अर्कातिर मुद्दाहरूकै सवालमा पनि चलचित्र चिप्लिएको छ ।
सुरुवातमै ओलीको ‘झरेको आँप’को प्रसंग र संविधान निर्माणका क्रममा मधेसीले गरेको आन्दोलनको क्लिप देखाइन्छ (सेन्सरमा काटिएको) । यसरी हार्डकोर राजनीतिक मुद्दा उठाएको ‘राजागन्ज’ यसपछि मुद्दाको मामलामा शिथिल हुँदै जान्छ । मस्यौदाहरूको विरोध गरिरहेको जुलुस देखाइएको चलचित्रमा यसपछि संविधान निर्माणको ‘स’ सम्म आउँदैन ।
ओलीको भाषण देखाउँदा तथ्य तोडमोडसमेत गरिएको छ । ओलीको भाषणको सन्दर्भलाई स्पष्ट रूपमा नखुलाईकन निर्देशकले छुस्स राखेका छन् । संविधान निर्माणका क्रममा यसका विषयवस्तुमा असन्तुष्टि राखेर केही मधेसी दलहरू संविधानसभाबाट बाहिरिएका थिए । उनीहरूलाई संकेत गर्दै ओलीले ‘झरेको आँप’ को संज्ञा दिएका थिए ।
२०७२ भदौ २३ गते ओलीले भनेका थिए, ‘हाम्रो समाजमा दुई–तीनवटा आँप झर्यो भने आँप त झरेरै सिद्धियो, खत्तमै भयो भन्छन् । तर, झरेर सिद्धिएको हुँदैन । दुई तीनवटा मात्रै झर्या हुन् । त्यो झरेको मन नपरेको मात्रै हो ।’
यही भाषणको क्लीप देखाएर चलचित्रमा ‘प्रधानमन्त्रीले मधेसीलाई आँप भनेको’ तर्क गरिएको छ । जबकि त्यसबेला ओली प्रधानमन्त्री पनि थिएनन् । प्रधानमन्त्रीको कुर्सीमा सुशील कोइराला थिए भने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ थिए । तर, चलचित्रको ट्रेलरमै ओलीलाई ‘प्रधानमन्त्री’ सम्बोधन गरिएको छ । यो सीधासीधी कुप्रचार भयो । गम्भीर राजनीतिक मुद्दामा चलचित्र बनाइँदै गर्दा निर्देशक रौनियार निकै नै संवेदनशील बन्नुपर्थ्यो । त्यसवेला ओली प्रधानमन्त्री थिएनन् भन्ने सामान्य तथ्य ख्याल गर्नुपर्थ्यो ।
सृजनामा सेन्सर लगाउनु गलत हो । तर, सर्जकको नियतमा सेन्सर लगाउने कि नलगाउने ? बहसको अर्को विषय हुनसक्छ । सृजनामै बोर्डले सेन्सर लगाउँछ भने त्यस्तो हर्कत चाहिँ भर्त्सनायोग्य छ ।
मधेसको मुद्दामा रौनियार कुन हदसम्म सिरियस छन् भन्ने कुराको पुष्टि चाहिँ ‘राजागंज’ ले गरेको छ । मदन राईको भूमिकामा दयाहाङ राई र ममता गुप्ताको भूमिकामा निकिता चण्डकले राम्रो अभिनय गरेका छन् । सिनेम्याटोग्राफी र ब्यागग्राउण्ड स्कोर ठिकठाक छ । भिड नियन्त्रण र परिचालन चलचित्रको बलियो पक्ष हो ।

Leave a Reply