रुपन्देही । रोल्पाका दुई क्याम्पसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु समाजवादीले सबै संगठनको गठबन्धनलाई पराजित गर्दै प्यानलै जितेको छ ।
नेकपा माओवादी केन्द्रले समेत आधार इलाका मानेको रोल्पामा अन्य सबै संगठन मिलेर गठबन्धन गरेपनि अखिल समाजवादीले प्यानलै जितेपछि माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीलाई चुनौती थपिएको हो ।
सार्वजनिक नतिजा अनुसार जिल्लाको थवाङस्थित शहिद स्मृति क्याम्पसमा अखिल समाजवादीको प्यानल विजयी भएको नेविसंद्ध रोल्पाका अध्यक्ष अनुपम जिसीले जानकारी दिए । थवाङ विप्लवको आधार इलाका हो ।
यहाँ प्रायः अन्य निर्वाचनमा पनि अरु दलहरुको उपस्थिति कमजोर रहने गर्दछ । यो क्याम्पसको स्ववियु अध्यक्ष स्वर्णिम रोकामगर, सचिवमा प्रकृति झाँक्रीमगर, कोषाध्यक्ष बीरशक्ति बुढामगर विजयी भएका हुन् ।
त्यसैगरी रोल्पाको नमुना क्याम्पसमा पनि अखिल समाजवादीको प्यानल विजयी भएको हो । यहाँपनि विप्लवविरुद्ध सबै दलनिकट संगठनहरुले गठबन्धन गरेका थिए । यहाँको अध्यक्षमा चुरामणि केसी, सचिवमा देवेन्द्र डाँगी, कोषाध्यक्षमा टोपबहादुर परियार विजयी भएका हुन् ।
रोल्पामा माओवादी केन्द्रले आफ्नो आधार इलाका दावी गरेपनि विप्लव नेतृत्वको नेकपाले सबै ठाउँमा उसलाई कमजोर बनाउने रणनीति बनाएको जनाइएको छ ।
चार क्याम्पस रहेको रोल्पामा दुई क्याम्पसमा भने विवाद भएका कारण निर्वाचन रोकिएको छ । विवाद भएका कारण नवनेपाल क्याम्पस त्रिवेणी जँुगारमा ताल्चा लागेको छ भने रोल्पा जलजला क्याम्पसमा भने विवादका कारण १८ गतेलाई सारिएको छ ।
नेविसंघ जिल्ला अध्यक्ष अनुपम जिसीले अहिले नतिजा आएको ठाउँमा आफ्नो संगठन कमजोर भएको स्वीकार गरे । उनले चुनाव नभएको कलेजमा शान्तिपूर्ण निर्वाचन गराउन तयार भएको र केन्द्रले नै परिपत्र गरेकोले अब छिटै निर्वाचन हुने विश्वास लिएको जनाए ।

Leave a Reply